​ओलम्पिक छनोटमा आज नेपाल र बंगलादेश खेल्दै

दृष्टि न्यूज

काठमाडौं । ओलम्पिक महिला फुटबलको एशियन छनोटको तेस्रोे खेलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ । 
यांगोनस्थित थुनुवा रंगगशालामा नेपाल र बंगलादेशबीचको खेल नेपाली समयअनुसार दिउँसो २ः१५ मा सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपालका लागि आजको खेल निकै महत्वपूर्ण रहेको छ । 
नेपालको दोस्रो चरणको यात्रा यसै खेलले निर्धारण गर्नेछ । अघिल्ला दुई खेलमा बराबरी खेलेको नेपाललाई दोस्रो चरणमा पुग्न जित्नैपर्ने दबाब छ । नेपालले पहिलो खेलमा भारत र दोस्रो खेलमा म्यान्मासँग एक÷एक गोलको बराबरी खेलेको थियो । समूह ‘सी’ मा रहेको नेपाल दुई खेलबाट दुई अंक जोडेर तेस्रो स्थानमा छ । यस समुहमा चार अंक जोडेको म्यान्मा शीर्ष र चार अंक जोडेको भारत दोस्रो स्थानमा छ । बंगलादेश अंकविहीन हुँदै तालिकाको पुछारमा छ । 
बंगलादेशलाई पराजित गर्नसके नेपाल दोस्रो चरणमा पुग्नेछ । नेपालका लागि भारत र म्यान्माबीचको खेल पनि महत्वपूर्ण हुनेछ । भारत र म्यान्माबीच आजै दोस्रो खेल हुनेछ । उक्त खेलमा हार वा जित जे भएपनि बंगलादेशलाई हराएमा नेपालले दोस्रो चरणको यात्रा तय गर्नेछ । 
सन् २०२० को टोकियो ओलम्पिकका लागि पहिलो चरणमा एशियाबाट १८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउने छन् । तेस्रो हुनेमा उत्कृष्ट दुईलेसमेत दोस्रो चरणको यात्रा तय गर्नेछन् । समूह ‘ए’ र ‘बी’ मा पाँच पाँच राष्ट्र रहेको छ । समूह ‘सी’ र ‘डी’ मा चार चार टोली छन् । प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउने छन् । तेस्रो हुनेमा उत्कृष्ट दुईलेसमेत दोस्रो चरण पुग्नेछन् । 
ओलम्पिकको एशियन छनोटअन्तर्गत नेपाल रहेको समूहमा ‘सी’ मा भारत, म्यान्मा र बंगलादेश छन् । दुई साता लामो चीनमा प्रशिक्षण गरी नेपाली टोली म्यान्मा प्रस्थान गरेको हो । चीनमा रहँदा नेपाली टोलीले त्यहाँ तीन वटा मैत्रीपूर्ण फुटबल खेल खेलेको थियो । नेपाली २२ खेलाडी, दुई प्रशिक्षक र दुई कर्मचारी छन् । प्रशिक्षकमा हरि खड्का र मृगेन्द्रप्रसाद मिश्र, टोली नेतामा दीर्घबहादुर केसी र व्यवस्थापकमा कमला हीराचन थकाली छन् । 

Related News