नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न बंगलादेश सहमत

दृष्टि न्यूज

काठमाडौं । चीन र भारतले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न तम्सिरहेका बेला बंगलादेशले मिसिएको छ । नेपालसँग मिलेर ऊर्जा क्षेत्रमा लगानी गर्न बंगलादे सहमत भएका छन् । 
लामो समयदेखि चर्चामा रहेको ऊर्जा सहयोग आदानप्रदानसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा शुक्रबार दुई देशबीच हस्ताक्षर भएको छ । द्विपक्षक्षीय समझदारीपत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले हस्ताक्षर गरे । 
नेपालको ऊर्जा क्षेत्रमा बंगलादेशले लामो समयदेखि नै संयुक्त लगानी गर्न चासो व्यक्त गरिरहेको बेला दुई देशका उच्च अधिकारीबीच भेटवार्ता र समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

समझदारीपत्रअनुसार दुई देशबीच सहकार्यका लागि ऊर्जा सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति र सहसचिवस्तरमा संयुक्त प्राविधिक समूह गठन हुनेछ । आगामी दुई महिनाभित्रै ती समितिको बैठक बसेर भावी कार्य्दिशा तय गरिनेछ । बंगलादेश सरकार–सरकार र निजीस्तरमा लगानीका लागि समेत सहमत भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुनले जानकारी दिएका छन् । 
उनले भने, ‘नेपालको ऊर्जा र जलस्रोतका क्षेत्रमा सहकार्यका लागि एउटा महत्वपूर्ण अवसर आएको छ । त्यसको लागि हामीले मार्गप्रशस्त गरेका छौँ’
यस्तै समझदारीपत्रअनुसार बंगलादेश सरकार तत्काल नै नेपालबाट ५०० मेगावाट विद्युत् खरिदका लागिसमेत तयार भएको उनले बताए । भारतीय लगानीकर्ता कम्पनी ग्रान्धी माल्लिकार्जुन राव(जिएमआर)ले निर्माण गर्न लागेको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट विद्युत् खरीद गर्न बंगलादेश यसअघि नै तयार भएको थियो । आजको सहमतिपछि थप मार्गप्रशस्त भएको छ । 
दुबै देशमा संयुक्त लगानी गर्ने, बंगलादेशले नेपालको विद्युत् खरीद गर्ने र सरकारी तहमा उच्चस्तरीय संयन्त्र बनाएर काम गर्नेलगायतका विषय समझदारीपत्रमा समेटिएको छ । 
नेपालको ऊर्जा क्षेत्रमा बंगलादेश स्वयंले नै लगानी गर्ने वा संयुक्त कम्पनी बनाएर लगानी गर्ने वा अरु कुनै उपाय अपनाउने भन्ने विषयमा द्विपक्षीय छलफलमा महत्वपूर्ण सहमति भएको मन्त्री पुनको भनाइ छ । 
बंगलादेशले नेपालबाट करीब पाँच हजार मेगावाटसम्म विद्युत् लैजान तयार रहेको यसअघि नै सार्वजनिक गरिसकेको छ । ऊर्जा सहयोगसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा यसअघि नै भारत र चीनसँग हस्ताक्षर भइसकेको छ । बंगलादेशसँग भएको यो तेस्रो सम्झौता हो । नेपालको विद्युत् क्षेत्रीय बजारमा समेत लैजाने र बिक्री गर्ने लक्ष्य राखेर नै सरकारले बंगलादेशसँग द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेको हो । 
बंगलादेशका विुद्यत, ऊर्जा तथा खनिज राज्यमन्त्री हमिदले बंगलादेशी जनताको सपना पूरा गर्ने र ऊर्जाको माग सम्बोधन गर्ने लक्ष्यका साथ आफ्नो देशले ऊर्जा क्षेत्रमा सहकार्यका लागि नेपालसँग हात बढाएको जनाएका छन् ।
नेपालमा जलस्रोतको अपार सम्भावना भएकाले दुई देशका सरकारी वा निजी क्षेत्रले मिलेर काम गर्ने जानकारी दिँदै उनले समझदारीपत्र ऐतिहासिक महत्वको रहेको उल्लेख गरेका छन् । उनले आफ्नो देशले सन् २०४१ सम्ममा विकसित राष्ट्रमा स्तरोनन्ति गर्ने लक्ष्य राखेको जानकारी दिँदै त्यसका लागि करीब ६० हजार मेगावाट विद्युत् जरुरी रहेको र नेपाल मात्रै उपयुक्त विकल्प रहेको बताए । 
सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपराज उपाध्याय, सहसचिव दिनेशकुमार घिमिरेलगायका उच्च अधिकारीको सहभागिता थियो । 

Related News