म्यानमारलाई पराजित गर्दै नेपालको सुखद सुरुवात

दृष्टि न्यूज

काठमाडौं । मलेसियामा जारी टी–२० विश्वकपको एसिया ‘बी’ छनोटमा नेपालले सखद सुरुवात गरेको छ । बुधबार भएको पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।
क्वालालम्पुरस्थित किनरारा ओभलमा म्यानमारले दिएको ३० रनको लक्ष्य नेपालले ३ ओभरमा २ विकेट गुमाएर भेट्टायो । करण केसीले नटआउट १४ रन बनाए भने अनिलकुमार साहले ११ रन जोडे । विनोद भण्डारीमा १ रनमा नटआउट रहे । ओपनर प्रदिप ऐरीले भने खाता खोल्न सकेनन् । यसअघि टस जितेर पहिले ब्याटिङ थालेको म्यानमारले १० ओभरमा सबै विकेट गुमाएर २९ रन बनाएको थियो ।
नेपाली स्पीनरहरुका अगाडि म्यानमारका ब्याट्सम्यान चल्न सकेनन् । सुरुवाति ५ ओभरमा फास्ट बलरले ५ ओभर बलिङ गर्दा २ विकेट गुमाएर २३ रन बनाएको थियो । तर, सन्दिप लामिछाने र ललितनारायण राजवंशी आएपछि थप ५ ओभरमा ८ रन जोड्दा बाँकी ८ विकेट गुमायो । 
नवौँ ओभरमा सन्दिपले तीन विकेट लिए भने दशाँै ओभरमा पनि ३ विकेट नै गुमाए  । उनले ३ ओभरमा ३ रन दिएर ४ विकेट लिए भने राजवंशीले ३ ओभरमा २ मेडन राख्दै ३ रन खर्चिँदै ३ विकेट नै लिए । करण केसी र ललित भण्डारीले समान १–१ विकेट हात पारेका थिए । म्यानमारका हेट लिन होङले सर्वाधिक १६ रन बनाउँदा ६ ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् ।

Related News