​नेपाल एयरलाइन्सको टिकट बुक अब इ–सेवाबाट पनि गर्न सकिने

दृष्टि न्यूज

काठमाडौं । अब नेपाल एयरलाइन्सका टिकट इ–सेवाबाट बुक गर्न सकिने भएको छ । अनलाइन टिकेटिङ सम्बन्धमा इ–सेवा फोन पे प्रालि र नेपाल वायुसेवा निगमबीच हालै सम्झौता भएको छ । सम्झौतापत्रमा इ–सेवाका तर्फबाट सिओओ रोशन लामिछाने र नेपाल वायुसेवा निगमका तर्फबाट महाप्रबन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गरेका थिए ।
सम्झौतासँगै इ–सेवाबाट सोमबारदेखि नै नेपाल एयरलायन्सका आन्तरिक तथा बाह्य उडानका टिकट खरिद गर्न सकिने भएको हो । यसअघि इ–सेवाबाट बुद्ध एयर, श्री एयरलायन्स, यति एयरलायन्स, सिम्रिक एयर र सौर्य एयरलायन्सको टिकट खरिद गर्न सकिन्थ्यो । नेपाल एयरलायन्सले हालै २ सय ७४ सिट क्षमताका दुई वाइडबडी जहाज भिœयाएको छ । निगमको बजार विस्तारलाई अनलाइन टिकेटिङले सहयोग पु¥याउने विश्वास कम्पनीको छ । 
इ–सेवा नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त पेमेन्ट गेटवे हो । इ–सेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायत सेवाहरूमा शुल्क भुक्तानी गर्न सकिन्छ ।
इ–सेवामा हाल ४६ वटा बैंक सदस्य रहेको बताइएको छ । यी बैंकबाट इ–सेवामा रकम जम्मा गर्न तथा इ–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । हालसम्म इ–सेवाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ६० लाखभन्दा बढीले सेवा लिइरहेको कम्पनीले जनाएको छ । हाल इ–सेवाका देशभर करिब ३६ हजारभन्दा बढी एजेन्ट (इ–सेवा जोन तथा पोइन्ट) छन् । यी जोन पोइन्टबाट यात्रुहरूले सहजै एयरलायन्सको टिकट खरिद गर्न सक्ने कम्पनीको भनाइ छ ।

Related News