​नेपाल–चीन सम्बन्धमा नयाँ मोड

दृष्टि न्यूज

नेपाल र चीनबीच व्यापार तथा पारवहन सम्झौता अन्तर्गत हुन लागेको प्रोटोकल (कार्यविधि) मा रहने बुँदाहरुमा दुवै देशका बीचमा सहमति भएको छ । प्रोटोकलमा रहने बुँदाहरुमा सहमति भएपछि नेपालले उत्तरी छिमेकी देश चीनका विशाल र अत्याधुनिक बन्दरगाहरु भएर तेस्रो मुलुकसँग आयात–निर्यात गर्ने ढोका औपचारिक रुपमा खुल्ला भएको छ । भारतीय नाकाबन्दीका बीच चीन भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा २०७२ चैत्र ८ गते चीनसँग ऐतिहासिक व्यापार तथा पारवहन सहमति भएको थियो । उक्त छोटो अवधीमा दुवै देश कार्यान्वयनका लागि तयार भएका छन् । व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर गर्नुअघि त्यसमा रहने बुँदाहरुमा दुई देशका बीचमा दुई पटक बेईजिङ र काठमाडौंमा वार्ता भएको थियो । काठमाडौंमा यही भदौं २० र २१ मा सम्पन्न भएको ‘नेगोसिएशन’ वार्ताले निष्कर्ष निकाले लगत्तै अब हस्ताक्षरको तयारी समेत सुरु भएको छ । दुवै देशले वैधानिक रुपमा अनुमोदन गरेपछि उच्च तहमा यातायात तथा पारवहन प्रोटोकलमा हस्ताक्षर हुनेछ । प्रोटोकलमा हस्ताक्षरपछि नेपालले औपचारिक रुपमा चीनमार्फत तेस्रो देशमा आयात निर्यात गर्न पाउनेछ । चीनसँगको यो सम्झौतापछि नेपाल शदियौंदेखिको भारतनिर्भरताबाट अलग हुनेछ ।
आर्थिक समृद्धितिर लम्केको छिमेकी चीनसँग नेपालले यातायात पारवहन सम्झौता गर्नुले भविष्यमा नेपालमाथि आइपर्ने नाकाबन्दीको समस्या टार्नु पनि हो । विगतमा भारतसँग मात्रै यातायात तथा पारवाहन सम्झौता हुँदा छिमेकी भारतले विभिन्न बाहनामा नाकाबन्दी लगाउँदै आएको थियो । लामो समयदेखि भारतमार्फत व्यापार गर्दै आएको नेपालले पञ्चायतकालमा दुई पटक र संघीय लोकतान्त्रिक संविधान जारी गर्दा २०७२ असोजमा समेत गरी तीन पटक नाकाबन्दीको सामना गरिसकेको छ । यही पृष्ठभूमिका तत्कालिन प्रधानमन्त्री ओलीले चीन भ्रमणको क्रममा ऐतिहासिक महत्वको व्यापार तथा पारवहन सम्झौता भएको थियो । त्यसपछि बनेका सरकारले यो ऐतिहासिक सम्झौता कार्यान्वयन गर्ने तत्परता देखाएको थिएन । डेढ वर्षमा पुनः दोस्रो पटक प्रधानमन्त्री बन्न पुगेका ओलीले गत असारको पहिलो साता चीन भ्रमणको क्रममा छिट्टै प्रोटोकलमा हस्ताक्षर गरी लिखित सम्झौता गरेर फर्केका थिए । अन्ततः नेपाललाई भारतीय परनिर्भरताबाट मुक्त गर्ने ऐतिहासिक प्रोटोकलका बुँदामा सहमति जुट्नुले आर्थिक समृद्धिलाई ‘अर्जुन दृष्टि’ बनाएका प्रधानमन्त्री ओलीको लागि अर्को एउटा सफलता पनि हो ।
प्रोटोकलमा समावेश गर्न सहमति जनाइएको बुँदाहरुमा चीनले नेपाललाई चार वटा सामुन्द्रीक बन्दरगाह र तीन वटा सुख्खा बन्दरगाह उपलब्ध गराउनेछ । यसबाट तेस्रो देशबाट नेपालमा आउने सामान ढुवानी गर्न सजिलो र सस्तो समेत हुनेछ । भारतीय बन्दगाह हुँदै सामान ढुवानी गर्दा कम्तीमा २५ दिनदेखि ४५ दिनसम्म समय लाग्ने गरेकोमा चीनियाँ बन्दरगाहबाट सामान आयात गर्दा ढिलोमा दुई साताभित्रैमा सामानहरु सिगात्सेबाट नेपालसम्म आईपुग्ने अनौपचारिक जानकारी यसअघि सार्वजनिक गरिएको थियो । चीनले रसुवा, कोदारी, किमाथांका मैलुङ, भारी र ओलाङचुगोला नाका प्रयोग गर्न दिने बारेमा पनि सम्झौता गर्न तयार गरिएको मस्यौदालाई अन्तिम रुप दिन सहमत भएको छ । यसबाट नेपाललाई जुन ठाउँमा सामान ल्याउनुपर्ने हो, त्यही बाटो प्रयोग गर्दा फाइदा पुग्नेछ । यसअघि भारतको कोलकत्ता र बिशाखापट्टन बन्दरगाह नेपालले प्रयोग गर्दै आएको थियो । नेपालले ति बन्दरगाह प्रयोग गर्दा तोकिएको नाकाबाट मात्रै सामान ल्याउनुपर्ने बाध्यता छ । जसले गर्दा ढुवानी खर्च र समय दुवै बढेको छ । नेपालले अन्य नाकाबाट पनि सामान आयात गर्न पाउनुपर्ने अडान भारत समक्ष राखेपनि भारत त्यसको लागि तयार भएको अवस्था छैन । त्यसैले पनि ऐतिहासिक प्रोटोकलमा हस्ताक्षर नेपालको आर्थिक समृद्धि र स्वतन्त्रता  तथा अन्तर्राष्ट्रिय व्यापारका लागि कोशेढुंगा सावित हुनेछ । 

Related News