नेपाल–चीन सम्बन्ध सुधारका पाँच सूत्र

रमेश घिमिरे

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आगामी चीन भ्रमणताका आफ्नो पहिलो प्रधानमन्त्रीत्वकालमा भएका सम्झौता÷समझदारीको कार्यान्वयन त गर्नैपर्छ । त्यसबाहेक नेपाल–चीन जनस्तर सम्बन्धका निम्न अप्ठ्याराहरुको गाँठो फुकाई नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा लग्नु पर्दछ भन्ने बौद्धिक वर्गको सुझाव छ ।
१. नेपालले चिनियाँ नागरिकहरुलाई १५० दिनको निःशुल्क ‘अन अराइभल भीसा’ दिने गरेको छ । जसका लागि अन्य मुलुकका नागरिकहरुले अमेरिकी १५० डलर तिर्नु पर्दछ । तर नेपाली नागरिकहरुका लागि चिनियाँ सरकारले चीन जाँदा यस्तो सुविधा उपलब्ध गराएको छैन ।
२. आधा दर्जनभन्दा बढी चिनियाँ हवाई सेवा कम्पनी (एयर चाइना, चाइना साउर्दन, चाइना इन्टर्न, सिचुवान र ड्रागन एयर आदि) ले नेपाल–चीनबीच हवाई सेवा दिइरहेका छन् । तर, राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स र चिनियाँ लगानी भएको हिमालय एयरलाइन्सले चीन उडान भर्न खोजेको लामो समय भइसक्दा पनि चीन सरकारबाट उडानको अनुमति प्राप्त भएको छैन । नेपाल एयरलाइन्सले चिनियाँ सहरहरुमा उड्यान भर्न सक्यो भने त्यसले दुवै देशलाई फाइदा पुग्न सक्छ ।
३. २०७२ सालको भूकम्पमा बन्द गरिएको नेपाल–चीन बीचको ऐतिहासिक सबभन्दा सजिलो र काठमाडौं नजिक रहेको तातोपानी नाका यो वा त्यो बहानामा आजसम्म चीन सरकारले खुला गरेको छैन । यस पटकको भ्रमणमा तातोपानी नाका खुल्ने विश्वास गरिएको छ ।
४. केही वर्ष अगाडि काठमाडौं–ल्हासा बस सेवा ठूलो तामझामका साथ सुरु गरिएको थियो । तर चिनियाँ सरकारबाट नेपाली पर्यटकलाई तिब्बत भीसा प्राप्त गर्न अत्यन्त अप्ठ्यारो भएको हुनाले सो सेवा बन्द भएको थियो ।
५. काठमाडौं–दिल्ली र काठमाडौं–ल्हासा उडान समय लगभग उत्तिनै (१ घण्टा) छ । तर, काठमाडौं–ल्हासाको भाडा अमेरिकी डलर आठ नौ सय छ भने काठमाडौं–दिल्लीको भाडा दश बाह्र हजार रुपैयाँ मात्र छ ।
स्थलगत रुपमा नेपाल–चीन सम्बन्धलाई कसिलो बनाउनाका लागि ‘अल वेदर डबल लेन’ हाइवे तुरुन्त सञ्चालनमा ल्याउनु पर्दछ । रेल आदि भनेका भविष्यका योजना हुन् । त्यसलाई त्यही रुपमा लिनु पर्दछ ।
जबसम्म दुवै देशका जनताबीच घनिष्ठ सम्बन्ध हुँदैन तबसम्म सम्बन्ध दिगो हुँदैन । सरकारी स्तरको भ्रमणले मात्र दुई देशका जनताबीचको सम्बन्ध दिगो हुँदैन । दुवै देशका नागरिकहरु एक अर्काका देशमा बिना झन्झट सजिलो तरिकाले आउजाउ गर्ने व्यवस्था गर्नु पर्दछ अनि मात्र दुवै देशका जनताबीच घनिष्ठ सम्बन्ध स्थापित हुन्छ ।
चिनियाँ राष्ट्रपति  सी जिन पिङले सम्बन्धको आधार ‘विन विन’ अर्थात् दुवै पक्षले जित्ने बताएका छन् भने प्रधानमन्त्री ओलीले ‘समानता, राष्ट्रिय स्वाभिमान र समृद्धि’ बताएका छन् । आशा गरौं सीको ‘विन विन’ र ओलीको ‘समानता, राष्ट्रिय स्वाभिमान, समृद्धि’को सूत्रले ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार हुनेछ ।
(स्वतन्त्र पत्रकार)
rmshghimire@yahoo.com


Related News