करन केसी चम्किएपछि नेपाल डिभिजन एकमा बढुवा

दृष्टि न्यूज

काठमाडौं, २ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपालले क्यानडाको सनसनीपूर्ण तरिकाले हराउँदै डिभिजन एकमा बढुवा भएको छ ।
क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका लागि करन केसीले उत्कृष्ट प्रदर्शन गरेपछि हारिसकेको खेल नेपालले जित्न सफल भएको हो । 
यो जितसँगै नेपाल विश्व क्रिकेट लिग डिभिजन–१ मा प्रवेश गर्नुका साथै विश्वकप एक दिवसीको छनोट खेल्ने मौकासमेत पाएको छ ।
पूरै नेपाली खेल उल्टाएका केसीले ३१ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ४२ रन बनाएर नटआउट रहेका थिए । सँगै नटआउट रहेका सन्दीप लामिछानेले १८ बलमा पाँच रन मात्र बनाए पनि केसीलाई पूरा साथ दिएका थिए । नेपालको जितका लागि करणको प्रदर्शन सनसनीपूर्ण रह्यो ।
नेपालका लागि ओपनर दिलिप नाथले ४१ रन बनाए भने रोहित पौडेलले २७ रन बनाए । आरिफ शेखले २६ रन बनाउँदा दिपेन्द्रसिंह ऐरीले १८, उपकप्तान ज्ञानेन्द्र मल्लले ९ रन बनाए ।  यस्तै १२ बल खेलेका सोमपाल कामीले ७ रन बनाएर आउट भए ।
चौथो विकेटको रुपमा दिलिप नाथको ठाउँमा ब्याटिङ गर्न आएका शरद भेषावकर ५ बलमा एक रन मात्रै बनाएर आउट भए ।
सुरुमै कप्तान र उपकप्तानलाई गुमाएपछि धरमराएको नेपाली ब्याटिङलाई केही सम्हालेका थिए । उनले ६८ बलमा पाँच चौकासहित ४१ रन बनाए । उनी सेसिल परबेजको बलमा हम्जा तारिकको हातबाट क्याचआउट भए । परबेजले नै नेपालका कप्तान र उपकप्तानलाई आउट गरेका थिए ।
छैटौं ओभरको पाँचौ र अन्तिम बलमा नेपालले दुई ठूला विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई गुमाएको थियो । पारस र ज्ञानेन्द्र दुवैलाई क्यानडाका बलर परबेजले आउट गरेका हुन् । ज्ञानेन्द्र २५ बलमा एक छक्कासहित ९ रन बनाएर आउट भएका थिए । खेलमा अन्तिममा बलर करन केसी र सोमपाल कामीले नेपाललाई सम्मानजनक स्कोर बनाउन सहयोग गरे ।

Related News