क्यानाडालाई जित्नै पर्दै दवावमा नेपाल

दृष्टि न्यूज

काठमाडौं, २ फागुन । जित्नैपर्ने दवावपूर्ण खेलमा सोचेभन्दा न्यून प्रदर्शन गर्दै आएको नेपाल आज अर्को त्यस्तै दवावको सामना गर्दैछ । सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकप क्रिकेटको छनोट खेल खेल्नका लागि नेपाललाई आज क्यानाडामाथि जित हासिल गर्नै पर्ने दवावका साथ मैदानमा उत्रदैछ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र क्यानाडाबीच आज बुधवार दिउँसो खेल नेपाली समयअनुसार १ः१५ बजे नामिबियास्थित वान्डरर्स स्टेडियममा शुरु हुदैछ । अन्तिम चरणको खेल बाँकी हुँदा क्यानाडा, नामिबिया र नेपालको समान ६ अंक छ । तर रनरेटमा पछि रहेको नेपाल तेस्रो स्थानमा झरेकाले आजको खेल जित्नैपर्ने दवावमा परेको हो । 
नेपालले बुधबार शीर्ष स्थानको क्यानाडासँग खेल्दैछ भने नामिबियाले चौथो स्थानको युएइसँग खेल्नेछ । अब नेपालले शीर्ष दुईमा स्थान बनाउँदै वान डे वल्र्डकप क्वालिफायरमा स्थान बनाउन क्यानाडालाई हराउनै पर्नेछ । हराउन असफल भएमा नेपालको विश्वकप यात्रा मात्रै टुंगिदैन गत असोजमा घटुवा भएर डिभिजन टूममा झरेको नेपाल यथास्थानमा रहने सम्भावनातर्फ समेत जानेछ । 
सन् २०१९ को विश्वकप क्रिकेटमा १० देश मात्र सहभागी हुनेहुँदा नेपाल पनि सहभागी हुने सम्भावना निकै झिनो छ । तर झिनै भए पनि कुनै अभूतपूर्व नतिजाले नेपाललाई विश्वकपमा पु¥याउन सक्ने सम्भावना मात्रै जीवित रहेको खेल विश्लेषकहरु बताउँछन् । 
पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, ललित भण्डारी, वसन्त रेग्मी, सोमपाल कामी, शक्ति गौचन, अनिलकुमार साह, मोहमद अरिफ, रोहितकुमार पौडेल, करण केसी, सन्दिप लामिछाने, दीपेन्द्रसिंह ऐर र दिलिप नाथ मैदानमा रहेका छन् । 

Related News