​राज्यको ढुकुटीमा एक खर्ब ३८ अर्ब मौज्दात

१०० कमाउने र ९२ रुपैयाँ खर्च गर्ने नेपाली जनताको दैनिकी

दृष्टि न्यूज

काठमाडौं । 
नेपाल राष्ट्र बैंकले राज्यको ढुकुटीमा एक खर्ब ३८ अर्ब रुपैयाँ मौज्दात रहेको जनाएको छ । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा गभर्नर डा. चिरञ्जीवी नेपालले सो जानकारी दिएका हुन् ।
बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल असार मसान्तसम्ममा छ हजार ६५१ पुगेको तथा ७५३ मध्ये हालसम्म ६३७ स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिति रहेको गभर्नर डा. नेपालले जानकारी दिए । उनका अनुसार मुलुकको ढुकुटीमा अहिले नगद मौज्दात १३८ अर्ब रहेको छ भने २८ अर्ब बराबरको सुनचाँदी छ । समग्रमा एक नेपालीले रु १०० कमाउँदा आठ मात्र बचत गर्ने तथा बाँकी रकम उपभोग र विलासिताका वस्तुमा खर्च गर्ने प्रवृत्ति देखिएको केन्द्रीय बैंकको भनाई छ ।
साथै केन्द्रीय बैंक गभर्नर डा. नेपालले चालू आर्थिक वर्ष २०७५÷७६ मा आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुनेमा आशंका नगर्न सांसदहरुलाई आग्रह गरेका छन् । 
दुई वर्षमा कृषि, उद्योग र सेवा क्षेत्रमा भएको आर्थिक वृद्धिदरको विश्लेषणपछि गरिएको ८ प्रतिशत कायम हुने पर्याप्त आधार भएको बताए । सरकारको ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुर्याउने, लगानीयोग्य साधन अभिवृद्धि गर्ने र दीर्घकालीन प्रकृतिका ब्याजदरमा कमी ल्याउने मौद्रिक नीति अघि सारेर बैंकले काम गरिरहेको उनले जानकारी दिए । बैंक तथा वित्तीय संस्थाको निक्षेप रु दुई हजार ७४२ अर्ब पुगेको तथा यो कुल गार्हस्थ्य उत्पादनको ९१.२ प्रतिशत भएकोे बैंकले जनाएको छ । बैंक तथा वित्तीय क्षेत्र संस्थाले निजी क्षेत्रतर्फ प्रवाह गरेको कर्जा २२५ प्रतिशतले वृद्धि भई दुई हजार ४०० अर्ब पुगेको र यो कुल गार्हस्थ्य उत्पादनको ७९.८ रहेको जनाइएको छ । 
आव २०७४÷७५ मा कूल वस्तु आयात २५.५ प्रतिशतले बढेर एक हजार २४२ अर्ब ८३ करोड पुग्नाका साथै निर्यात भने रु ८१ अर्ब १९ करोड बराबरको भएको तथ्याङ्क प्रस्तुत गरिएको छ । आव २०७४÷७५ मा विस्तृत मुद्राप्रदाय १९.४ प्रतिशतले बढेको जानकारी दिँदै बैंकले अघिल्लो वर्ष उक्त मद्राप्रदाय १५.५ प्रतिशतले बढेको तथ्याङ्क प्रस्तुत गरेको थियो । कुल वस्तु व्यापारमा अहिले वार्षिक बजेट घाटा रु एक हजार १६१ अर्ब ६४ करोड पुगेको छ भने विप्रेषणको अवस्था वार्षिक रुपमा रु ७५५ अर्ब छ करोड रहेको छ। अघिल्लो वर्ष रु ८२ अर्ब ११ करोडले बचतमा रहेको समग्र शोधानान्तरण स्थिति समीक्षा वर्षमा रु ९६ करोडले मात्र बचत रहेको पनि डा नेपालले जानकारी दिए। बैंकिङ क्षेत्रसँग कुल विदेशी विनिमय सञ्चिति रु एक हजार १०२ अर्ब ५९ करोड छ। कुल विदेशी विनिमय सञ्चिति १०.८ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने बैंकले अनुमान गरेको छ । –रासस

Related News