​विदेश घुम्न जाने नेपालीलाई नयाँ नियम

दृष्टि न्यूज

काठमाडौं, २१ कात्तिक । 
विदेश भ्रमणमा जाने नेपालील अब थोरै मात्र विदेशी मुद्रा बोक्न पाउने भएका छन् । नयाँ नियमअनुसार १५ सय वा सो बराबरको   विदेशी मुद्रा मात्र सटही गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७४ मा संशोधन गर्दै भारतबाहेक अन्य मुलुक भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानीबापत प्रतिपटक १५ सय रुपैयाँ सटही सुविधा दिने निर्देशन दिएको हो ।

यसअघि विदेश भ्रमणमा जाने नेपालीले नेपाली बैंक, वित्तीय संस्था तथा इजाजतप्राप्त अन्य निकायबाट २५ सय डलर बराबरको सटही सुविधा प्राप्त गर्दै आएका थिए । विदेशी मुद्राको अभाव भएपछि नयाँ नियम लागू गरिएको हो । यसले अमेरिकी डलरको कालोबजारी बढ्ने आशंका गरिएको छ ।  
यसैगरी स्थलमार्गबाट तिब्बत र सार्कका अन्य मुलुकमा जाने व्यक्तिहरुलाई भिसा भएमा एक पटकमा ५ सय सम्म र एक आर्थिक वर्षमा १ हजार अमेरिकी डलरसम्मको सटही सुविधा उपलब्ध गराउन सकिनेछ । निजी भ्रमण बाहेक अन्य संघ संस्था तथा सरकारी प्रयोजनमा जाने व्यक्तिहरुले भने उल्लेखित सीमा लागु हुनेछैन ।

Related News