जुवामा फस्दै बेलायतका नेपाली

काठमाडौं, २३ चैत । चकमन्न मध्यरातमा प्रायः सबै मस्त निद्रामा छन् । पसल, रेस्टुरेन्ट र सपिङ सेन्टर बन्द भइसके । खुलेका छन् त लेट लाइसेन्स भएका अफ लाइसेन्स, पब, डान्सबार र डिस्को । 

सेन्ट्रल लन्डनमा रात्रि व्यवसाय गर्ने केही प्रचलित गल्लीबाहेक प्रायः सुनसान नै रहन्छ यहाँको रात्रिकालीन समय । यो सन्नाटामा हयारी (नाम परिर्वतन) भने बन्टओकको हाई स्ट्रिटमा कसैलाई पर्खिएजस्तो गरी बारम्बार घडी हेरिरहेका छन् । उनको पर्खाइ व्यक्तिका लागि थिएन । उनी त कतिखेर १२ बज्ला र एटीएमबाट आफ्नो खातामा जम्मा भएको तलब निकालेर नजिकैको जुवाघर छिरौंला भन्ने दाउमा थिए । 

विगत दुई वर्षदेखि जुवा लतमा छन् उनी । सन् २०१० मा विद्यार्थी भिसामा बेलायत आए हयारी । त्यसयता नेपालबाट घरपरिवारले जति बोलाए पनि उनी फर्केका छैनन् । नेपालबाट अनेक बहानामा झन्डै २० लाख रुपैयाँ ल्याइसकेका उनले त्यो सबै जुवामा फाले । लन्डनमा चिनेजानेका साथीभाइ, नातागोतासँग सापटी लिएको पैसा तिर्न नसकेर उनी अहिले लुकी–लुकी हिँड्न बाध्य छन् । आफ्नो खराब लतले साथीभाइ घटदै गए । दैनिकी चलाउन धौ–धौ छ । जुवाकै कारण पढाइ अधुरो रह्यो । 

उनले एक साँझ भने, ‘म त नराम्रो लतमा फसें उम्कन नसक्ने गरी । न पैसा, न पढाइ, न गतिलो काम । बिजोग भो जिन्दगी ।’ यस्तै लतमा डुबेका छन् क्याम्डेन टाउनका ४२ वर्षीय शिव महत (नाम परिवर्तन) । काम गरेर कमाएको सबै पैसा जुवामा छरेपछि दैनिकी अस्तव्यस्त हुने नै भयो । फुटबलमा एक, दुई पाउन्डको बेटिङबाट सुरु भएको उनको जुवा यात्रा ५ वर्ष्भित्र यति झाँगियो कि अहिलेसम्म जुवामा ५०र६० हजार पाउन्ड हारिसकेको उनले सुनाए । जुवाकै कारण उनको घरपरिवार र केटीसाथीसँग सम्बन्ध टाढियो । जुवाले जीवन नै चौपट बनाउँदासमेत उनले यो लत भने छाड्न नसकेको सुनाए । 

बेलायतमा जुवा कानुनी छ । १८ वर्षमाथिकाले चाहेको ठाउँमा जुवा खेल्न वा बाजी थाप्न सक्छन् । यहाँका अधिकांश हाई स्ट्रिटमा दुईरचार बुकीसप र एडल्ट गेम हाउस भेट्न मुस्किल छैन । राजमार्गका सर्भिस सेन्टरमा एडल्ट गेम हाउस त्यस्तै छन् । अझ अहिलेको विकसित प्रविधिले स्मार्ट फोन, आइप्याड र ल्यापटपमा समेत सजिलै चाहेको खेलमा बाजी थाप्न वा गेम खेल्न सम्भव छ । 

बेलायतको नेपाली समुदाय जुवाको लतले नराम्ररी ग्रस्त छ । नेपालीको बाक्लो बस्ती रहेको अल्डरसट, फार्नबोरो, रेडिङ, प्लमस्टिड, मेडस्टोन आदि सहरका जुवाघरमा दिनहुँ नेपालीको बाक्लो उपस्थिति देखिन्छ । के युवा, के बूढाबूढी । भूपू गोर्खाहरू पनि यो लतमा नराम्ररी फसेको भेटिन्छ । ५० उमेर नाघेका नेपालीको भेटघाट गर्ने, चिसोतातो पिउने अनि फुटबल, हर्स रेस र टेनिस हेर्ने ठाउँ नै बुकीहाउस र क्यासिनो भएका छन् । क्यासिनो छिर्ने नेपाली धनाढ्यहरूको सानो तप्का पनि यहाँ छ । कान्तिपुर दैनिकमा खबर छ । 

अल्डरसटवासी श्याम गुरुङ (नाम परिवर्तन) हङकङबाट यूके आए । हङकङमा चाइनिजहरूले क्यासिनोमा जितेको देखेर लोभिएका उनको जुवा लत कुकुर दौड, घोडा दौडमा बाजीदेखि मेसिनमा भएका रुलेट, पोकर, ब्ल्याक ज्याक हुँदै फ्रुट गेममा यति बढ्यो कि अहिले उनी टाट पल्टेका छन् । अविवाहित उनलाई परिवारले पनि त्यति वास्ता गर्दैन । केबल सुत्न र खान घर जान्छन् । 

यो लत लागूऔषधझैं जति छाड्छु भने पनि नसकिएको उनले सुनाए । उनी अहिले आफूसँग पैसा नभए पनि गेम हाउसभित्र छिर्छन्, रमिता हेर्न । कोही नयाँ ग्राहकलाई सिकाउने र टिप्स लिने उनको काम हुन्छ । अल्डरसटकै मिलन श्रेष्ठ (नाम परिवर्तन) सातामा ६ दिन फुल टाइम काम गर्छन् । तर १० वर्षदेखि जुवामा होमिँदा उनले हालसम्म कमाएको २ लाख पाउन्डभन्दा बढी मेसिनमा हारिसके । सुरुमा एक साथीले उनलाई मेसिनमा रुलेट खेल्न सिकायो, पछि मेसिनमै जुवा खेल्न सिके र त्यसैमा लत बस्यो । ‘जुवाको मेसिनले घर किन्ने पैसा सबै खाइदियो,’ उनले सुनाए । फार्नबोरोका रामबहादुर गुरुङ (परिवर्तित नाम) रिटायर्ड बेलायती सैनिक हुन् । उनी कतै काम गर्दैनन् । दिन काट्नकै लागि र साथीभाइ भेट्न नियमित जुवा घर जान्छन् उनी । बेटिङ सपमा गएर चिया कफी पिउनु र जुवा खेल्नु धेरै अवकाशप्राप्त लाहुरेहरूको दैनिकी भएको उनले बताए । 

लन्डन प्लमस्टिडका राम सेढाईं (नाम परिवर्तन) बेलायत बसेको एक दशकभन्दा बढी भइसक्यो । उनी धेरैजसो फुटबलमा बेटिङ गर्छन् । ५ पाउन्ड बेटिङबाट सुरु भएको उनको जुवा यात्रा अहिले पनि जारी छ । उनले एउटा गेममा एकैचोटि ८ सय पाउन्डसम्म बेट गरेका छन् । कहिले एकुमुलेटर, कहिले डबल, कहिले फस्ट वा लास्ट स्कोर र कहिले गेम स्कोरमा बेटिङ गर्छन् । हालसम्म उनले ५० देखि ६० हजार पाउन्डसम्म हारिसकेको स्वीकारे । एकपटक १८ सय पाउन्डसम्म जितेका उनले त्यसपछि कहिल्यै जितेनन् । 

Related News