​नेपालमा ऐतिहासिक फड्को

दृष्टि न्यूज

नेपाली राजनीतिका दुई प्रमुख शक्ति नेकपा एमाले र नेकपा माओवादी केन्द्र जेठ ३ गते एकीकृत भएसँगै कम्युनिस्ट आन्दोलनको इतिहासमा नयाँ अध्याय सुरु भएको छ । नेपालमा मात्र होइन, विश्वमै आमधारणाजस्तै बनेको छ– कम्युनिस्टहरु एक हुन सक्दैनन्, बरु गुट र फुटमा मात्र रमाउँछन् । बृहत् समाज परिवर्तनको लक्ष्य लिने तर ससाना प्राविधिक विषयमा जप्फाबाजी गरेर समय बिताउने प्रवृत्तिका कारण विश्व कम्युनिस्ट आन्दोलन नै कमजोर बनेको थियो । नेपालका दुई ठूला बाम शक्तिको मिलनले नयाँ कम्युनिस्टहरु उदात्त सोच, भावना र सैद्धान्तिक धरातलमा रहेर सहकार्य र एकता गर्न सक्छन् सन्देश दिएको छ । तसर्थ, मूलतः एमाले र माओवादीबीचको यो एकता संकीर्णविरुद्ध उदात्तताको विजय हो । 
विश्व कम्युनिस्ट आन्दोलन संकटमा परेका बेला खुला प्रतिस्पर्धामार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने सिद्धान्तमा आधारित रहेर जननेता मदनकुमार भण्डारीले ल्याएको जनताको बहुदलीय जनवाद (जबज) नामक राजनीति कार्यक्रमको औचित्यको पुनःपुष्टि भएको छ । सत्ता बन्दुकको नालबाट मात्र प्राप्त गर्न सम्भव छ भन्ने माओको मान्यताको विपरीत आधुनिक खुला समाज र लोकतान्त्रिक व्यवस्थाभित्रै रहेर, जनताको मन जितेर पनि सत्ता प्राप्त गर्न सम्भव छ भन्ने कुरा नेपालबाट स्थापित भएको छ । तसर्थ, भूमिगत सशस्त्र संघर्षबाट शान्तिपूर्ण लोकतान्त्रिक प्रतिस्पर्धाको बाटो अँगालेको माओवादीले जबजको सिद्धान्त अंगीकार गरेर भण्डारीको दूरदर्शिता र उनीद्वारा प्रतिपादित सिद्धान्तलाई नयाँ उचाइ प्रदान गरेको छ । भण्डारीको २५ औँ स्मृति दिवसकै दिन पार्टी एकता घोषणा हुनु पनि यही अर्थमा सांकेतिक र सन्देशपूर्ण छ ।
यस एकताले शान्तिपूर्ण प्रतिस्पर्धा र लोकतन्त्रका आधारभूत मान्यतामा रहेर प्रगतिशील मूल्यको प्रवद्र्धन गर्न सम्भव छ भन्ने कुरा स्थापित गर्ने अवसर प्रदान गरेको छ । कोरा पुँजीवाद, स्वच्छन्द उपभोक्तावाद र अराजक बजारवादका विरुद्ध प्रगतिशील जनमत आज विश्वव्यापी रुपमा जबरजस्त एक हुँदै छ । कम्युनिस्ट आन्दोलनका विचलनहरुले पनि विस्तारै लय समाउँदै छन् । मानव अधिकार, शान्तिपूर्ण सहअस्तित्व जस्ता आधुनिक सभ्यताका मूलभूत चरित्र हुन् । र, यी मानव मात्रका शाश्वत मूल्य पनि हुन् । ती चरित्र र मूल्यलाई अझ उन्नत ढंगले अघि बढाउन बृहत् प्रगतिशील विचारधाराका वाहक शक्तिहरु एकजुट हुनैपर्छ । नेपालबाट यो सन्देश आजका दिनमा जुन प्रवाह भएको छ, त्यसले विश्वकै कम्युनिस्ट एवं प्रगतिशील भावधारामा आबद्ध समुदायलाई उत्साह र प्रेरणाको काम गर्नेछ ।
नेपालकै सन्दर्भमा कुरा गर्दा पनि विगतमा ठूलो जनसमुदायको समर्थन हुँदाहुँदै आपसी खटपट, बैमनुष्यता र संकीर्णताका कारण कम्युनिस्टहरु नेतापिच्छेका चुलो बाल्न पुगेका थिए । त्यसको फाइदा लोकतन्त्रविरोधी शक्तिहरुले उठाएका थिए । यसले हाम्रो राष्ट्रियता कमजोर बनेको थियो । आफ्नो आस्था र विश्वास भएको नेतृत्वमा संकीर्ण, विलासी र सैद्धान्तिक स्खलन देखेर प्रगतिशील जनमतमा पनि निराशा छाएको थियो । यो निराशा कहिले उग्र भड्कावका रुपमा देखापथ्र्यो भने कहिले उग्रदक्षिणपन्थीको प्रयोगको शिकार हुन्थ्यो । विदेशी शक्तिहरुले यही कमजोरीमा टेकेर आन्तरिक अस्थिरता र बेमेलको खेती गर्थे ।
संविधानसभाबाट संविधान जारी गर्ने प्रयोजनले ०७२ जेठ २५ गते १६ बुँदे सहमतिसँगै एमाले र माओवादीबीच सहकार्य सुरु भएको थियो । संविधान जारी गर्दासम्म यस सहकार्यमा कांग्रेस र अन्य शक्तिहरु पनि साथै थिए । संविधान जारी भइसकेपछि कांग्रेस लगायतका केही दल विदेशी शक्तिको दबाबका कारण एकता र सहकार्यको वाचाबाट विचलित भए । नेपालविरुद्ध नाकाबन्दी लगाइँदा पनि बाम शक्तिहरु एक भए । नाकाबन्दीको दृढतापूर्वक सामना गरेपछि जनतामा पनि आशा र भरोसाको भावना सञ्चारित भयो । गएका तीनै तहका निर्वाचनमा एमाले लगायत बाम शक्तिको विजयले बाम एकताका लागि थप दबाब पर्न गयो । अपार जनसमर्थसँगै बनेको यो एकीकृत पार्टीले अब सत्ता र पदका ससाना विषयमा झैझगडा नगरी सुशासन, विकास र समृद्धिका एजेन्डामा प्रतिबद्धताका साथ काम गर्नुपर्छ । अहिले पनि जनतालाई ‘डेलिभरी’ दिन सकेन भने आज जगाइएको आशामा तुषारापात हुनेछ । युगौँसम्म र पुस्तौँसम्म नेपालीमा राजनीतिप्रति चरम निराशा र वितृष्णा पैदा हुनेछ । यो कुराप्रति नेपाल कम्युनिष्ट पार्टीका नेता गम्भीर हुनुपर्छ ।

Related News