​नेताले बुझ्नुपर्ने कुरा

दृष्टि न्यूज

शम्भु श्रेष्ठ । प्रतिनिधिसभा र प्रदेशसभामा नेपाली जनताले वाम गठबन्धनलाई विजयी बनाउनुका अर्थ राजनीतिक स्थिरता, सुशासन र समृद्धि नै हो भन्ने कुरामा दुईमत छैन । त्यसका लागि वाम एकता अनिवार्य शर्त हो । वाम एकताको कुरालाई समयमै टुंगोमा पु¥याउन सकिएन भने गठबन्धनको विजयले मात्रै राजनीतिक स्थिरता, सुशासन र समृद्धि हालि गर्न सकिँदैन । किनभने, विगतमा पनि नेपाली कांग्रेसले सामान्य बहुमत ल्याएको इतिहास छ । एउटै पार्टीले सामान्य बहुमत ल्याउँदा पनि पूरा कार्यकाल कांग्रेसले सरकार चलाउन सकेन । अहिले त कसैले पनि सामान्य बहुमत ल्याउन नसकेको अवस्था हो । वाम गठबन्धनमा रहेका एमाले–माओवादी मिलेर मात्रै दुईतिहाई पु¥याएको अवस्था हो । यस्तो अवस्थामा नेताबीच अविश्वास उत्पन्न हुनासाथ फेरि देश राजनीतिक अस्थिरतातर्फ धकेलिन्छ । यही कुरालाई ध्यानमा राखेर एमाले र माओवादीका नेताहरुले सार्वजनिक रुपमा पार्टी एकताको घोषणा गरेका हुन् । यी नेताहरुमा नैतिकता र इमान्दारिता छ भने अब पार्टी एकताबाट फर्कने ठाउँ छैन ।
तर, एकता कसरी गर्ने? कुन नेतालाई के जिम्मेवारी दिने ? भन्ने सामान्य छलफल पनि यी दुई पार्टीका नेताबीच नभएकोले एकताबारे विभिन्न भ्रम सिर्जना भएको छ । जसरी निर्वाचन अगाडि वाम गठबन्धनको घोषणा गरिएको थियो, त्यसैगरी पार्टी एकताको घोषणा गर्न ढिलाई गरिनु हुन्न । कम्तिमा पनि एकता प्रयास जारी रहेको र यो मितिभित्र एकता हुन्छ भनेर दुई पार्टीका नेताले जनतालाई आश्वस्त नतुल्याएसम्म एकता भाँड्ने पार्टीभित्र र बाहिरका शक्तिलाई बल पुग्छ ।
अहिले पनि कतिपय नेताका अभिव्यक्तिमाथि खेलेर एकता बिथोल्न खोज्नेहरुले खेल खेलिरहेको अवस्था छ । यी दुई पार्टीभित्रका नेताहरुले एकताभित्र आफ्नो भविष्य खोजिरहेका छन् भने पार्टी बाहिरका शक्तिहरुले वाम सरकार हेर्नै मन पराएका छैनन् । पार्टी बाहिरका शक्ति अहिले नै सतहमा आए एकता चाँडो भैहाल्छ कि भन्ने चिन्तामा छन् भने, पार्टीभित्रका शक्ति चाँडै एकता भए आफ्नो भाग खोसिन्छ कि भन्ने चिन्तामा छन् ।
के पञ्च, के कम्युनिष्ट, के माओवादी । सबै जनाले विगतदेखि नै आफू केन्द्रित राजनीति गर्दाको परिणाम हो यो देशको दुर्गति । त्यसैले जनताको चाहना अनुरुप राजनीति गर्ने हो भने नेताहरुमा त्याग चाहिन्छ । विगतमा मनमोहन अधिकारीलाई अध्यक्ष बनाएर मदन भण्डारीले आफ्नो ‘हाइट’ बढाएको इतिहास एमालेभित्रै सुरक्षित छ । ०४६ को आन्दोलन सफलतापछि गणेशमान सिंहले प्रधानमन्त्री पद त्यागेको इतिहास कांग्रेसभित्र छ । यो पार्टी नेताको व्यक्तिगत कुरा थिएन । तर, यो सरकारलाई पार्टीभित्र संस्थागत गर्न नसक्दा हरेक प्रमुख पार्टीभित्र विकृति विसंगति झांगिएको छ । अझै पनि मदन भण्डारीजस्ता नेता एमालेभित्र छन् । गणेशमानसिंह जस्ता नेता कांग्रेसमा छन् । तर, तिनीहरुले भण्डारी र सिंहका आदर्श, त्याग, बलिदानीलाई पछ्याउन सकिरहेका छैनन् । जुनसुकै पार्टीका नेता किन नहुन्, तिनमा उच्च आदर्श, दूरदर्शिता र नैतिकता भएन भने बहुमतले मात्रै देश बन्दैन भन्ने कुरा अहिलेका वाम गठबन्धनका नेताहरुले बुझ्नु पर्छ ।

Related News