अफगानिस्तानमा ३ जना नेटो सैनिक मारिए

दृष्टि न्यूज

काबुल, (एएफपी) । अमेरिकी सेनाले पूर्वी अफगानिस्तानमा आइतबार भएको आत्मघाती आक्रमणमा परी तीन जना नेटो सैनिकको मृत्यु भएको जनाएको छ । आक्रमणमा अमेरिकी सैनिक र दुई जना अफगान सेना घाइते भएका छन् । 
उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)द्वारा जारी विज्ञप्तिमा पूर्वी अफगानिस्तानमा गस्तीमा रहेका सैनिकलाई लक्षित गरी विस्फोटा गराइएको जनाइएको छ । ‘अफगानी सेनासँगै गस्तीमा रहेका नेटो सैनिकलाई लक्षित गरी भएको आत्मघाती आक्रमणमा तीन नेटो सैनिकको मृत्यु भएको छ,’ नेटोको विज्ञप्तिमा भनिएको छ । 
काबुलबाट करिब ६० किलोमिटर टाढा रहेको परवान प्रान्तको चारिकार सहरमा स्थानीय समयअनुसार बिहानै ६ बजे उक्त घटना भएको हो । मारिएका सैनिक कुन देशका हुन् भन्ने खुलाइएको छैन । अफगानी बिद्रोही समूह तालिबानले विज्ञप्ति प्रकाशन गरी घटनाको जिम्मेबारी लिएको छ । 
अमेरिकी नेतृत्वको नेटो सैन्यले सन् २०१४ मा अफगानिस्तानमा प्रत्यक्ष लडाइँका सम्पूर्ण कार्यक्रम समाप्त गर्नुका साथै ठूलो संख्यामा सैनिक फिर्ता लगेको थियो । तर, अझै तालिम र प्रतिआतंकवादी कार्यक्रमका लागि १६ हजार सैनिक अफगानिस्तानमा तैनाथ छन् । 

Related News