​नयाँ वर्षमा कोही सुटिङमा कुनै प्रचारमा

कामकारी भए कलाकार

दृष्टि न्यूज

काठमाडौं, २ बैशाख ।
हरेक चाडपर्व आउँदा कलाकारहरु योजना बनाउन थाल्छन्, ‘कसरी, कहाँ र के गर्ने भनेर’ । यस्तो बेला उनीहरु अन्तर्वातामा समेत व्यस्त हुन्छन् । तर, यस्ता बेला सञ्चारकर्मीले सोध्ने प्रश्न र सेलिब्रेटीले दिने जवाफ भने उस्तै हुन्छ अर्थात ‘रेडिमेड’ ।  
अंग्रेजी र नेपाली नयाँ वर्षमा दुवैमा कलाकार पनि रमाउँदै आएका छन् । यस्तै, नेपाली नयाँ वर्ष कसरी मनाउनुभयो ? यो ‘रेडिमेड’ प्रश्नमा गायिका अञ्जु पन्तले भनिन्, ‘साथीभाई, घरपरिवार र आफन्तजनहरुसँग मनाए ।’ प्राय रेकर्डिङ र स्टेज कार्यक्रममै व्यस्त हुने अञ्जु नयाँ वर्षमा रेकर्डिङमै मात्र व्यस्त भइन् । उनको राय कामै व्यस्त भए भन्नेथियो ।


यस्तै, अभिनेत्री केकी अधिकारीलाई नयाँ वर्ष दौडाहाले छाडेन । त्यसैले आफ्ना साथीहरुसँग सेलिब्रेट गर्न पाइनन् । उनका समकक्षीहरु नयाँ वर्ष मनाउने योजना बनाइरहँदा केकी भ्याइनभ्याई थिइन् । अभिनेत्री हुँदै निर्मात्री बनेकी केकी आफ्नो चलचित्रको प्रमोशनमा त व्यस्त छिन् नै, त्यसमाथि थोपरिएको सुटिङको भार उस्तै छ उनलाई । यसका बाबजुद पनि केकी भन्छिन्, ‘नयाँ वर्ष धुमधाम भयो । मेरो लागि त विशेष नै हुँदैछ यो वर्ष ।’
केकी निर्मित चलचित्र ‘कोहल्पुर एक्सप्रेस’ यही १४ बैशाखमा रिलिज हुँदैछ । एक महिनायता आफ्नो चलचित्र प्रमोशनमा व्यस्त हुँदै आएकी छन् । यसैबेला उनी चलचित्र ‘नाई नभन्नु–५’को सुटिङमा पनि व्यस्त भएकी छन् । 
सुटिङकै लागि केकी नयाँ वर्षको पूर्वसन्ध्यामा झापा पुगिन् । सोही मौकामा एक महोत्सवमा सहभागी भएर आफ्नो चलचित्रको प्रचार गर्न समेत भ्याइन् र राजधानी फर्किन् । मानौ, यतिखेर उनको ध्यानै आफूले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’मा केन्द्रित छ । केकीको यो पहिलोपटक चलचित्रमा लगानी हो । उनी भन्छिन्, ‘यो वर्ष मेरा लागि विशेष हुनेछ किनकि म यसै वर्षबाट निमात्री पनि बनेकी छु ।’ 
नयाँ वर्षकै अवसरमा रिलिज भएका कलाकारले दर्शकसँगै मनाएका छन् । नयाँ वर्ष लक्षित गरेर दुई नेपाली चलचित्र ‘लिलिबिली’ र ‘नेप्टे’ रिलिज गरिएको थियो । जुन चलचित्रका कलाकारहरु प्रमोशन गर्न सिनेमा हल पुगेर दर्शकसँगै रमाउन समेत भ्याए । 
शुक्रबार रिलिज भएका ती दुवै चलचित्र बाजी मार्न सफल भएका छन् । शनिबार र नयाँ वर्षको विदाले गर्दा दुवै चलचित्रले दर्शक पाएका छन् । निर्देशक मिलन चाम्सको ‘लिलिबिली’ रिलिजको पहिलो दिन अगाडि देखिए पनि शनिबार रोहित रुम्बाको ‘नेप्टे’ले पनि राम्रै व्यापार ग¥यो । रोहितले भने, ‘शनिबार सबै सिनेमा हलमा हाउसफुल भएको थियो ।’ उनले दर्शकसँग नयाँ वर्ष मनाउँन पाउँदा खुसी लागेको पनि सुनाए । चलचित्रमा  ‘नेप्टे’ बनेका अभिनेता दयाहाङ राईले पनि  दर्शकसँगै नयाँ मनाए ।  
अभिनेत्री प्रियंका कार्की सुटिङमै व्यस्त छिन् । एकसाथ तीन चलचित्रमा काम गरिरहेकी उनलाई नयाँ वर्ष खाशै वास्ता भएन । हालै मात्र ‘चंगाचेट’को छायांकन सकेकी प्रियंकाले ‘यस्तो एउटा प्रेम कहानी’ र ‘नाई नभन्नु ल–५’ मा व्यस्त छिन् । सो चलचित्र सुटिङकै लागि झापा पुगेकी प्रियंकाले भनिन्, ‘काममै व्यस्त छु । नयाँ वर्ष पनि सुटिङकै दौरानमा मनाएँ ।’
 

Related News