​न्यूरोडमा मोटरसाइकललाई २५, कारलाई ८० पार्किङशुल्क असुलिने

दृष्टि न्यूज

काठमाडौं ।
काठमाडौं महानगरपालिकाले अराजक शैलीमा करबृद्धि गर्ने घोषणा गरेको छ । जस अनुसार अब महानगरपालिकाभित्र व्यापार तथा व्यवसाय गरे बापत  ठूलो मात्रामा कर तिर्नुपर्ने छ भने हाल निशुल्क पार्किङ रहेको नयाँ सडकलगायतका क्षेत्रमा उच्च पार्किङ शुल्क लगाउने घोषणा गरिएको छ । 
महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले राम्रोसँग पढ्न समेत नभ्याएको बजेटमा यस्तो कुरा आएपछि उनी आफै समेत तीन छक परेको बताइन्छ । चीन भ्रमणबाट नेपाल ओर्लेकै दिन बजेट भाषण पढ्न पुगेका मेयर शाक्य आफै बजेटमा उल्लेख गरिएका कतिपय कुराहरुमा अन्योल रहेको बताइन्छ । काठमाडौं महानगरपालिकाले व्यवसाय कर, सम्पत्ति कर तथा पार्किङ शुल्कमा चर्को शुल्कबृद्धि गरेको हो । 
महानगरपालिकाले सवारीधनीहरूसँग स्थान र सवारीसाधन अनुसार पार्किङ शुल्क प्रतिघण्टा १५ देखि ३ सय रुपैयाँँसम्म निर्धारण गरेको छ । जसअनुसार अब न्युरोड, भोटाहिटी, कान्तिपथ, बबरमहल, लैनचौर र टेकु क्षेत्रका सार्वजनिक स्थानमा सवारीसाधन पार्किङ गर्दा प्रतिघण्टा मोटरसाइकलले २५, र अन्य स्थानमा १५ रुपैयाँ कर असुली गर्ने बजेट भाषणमा व्यवस्था छ । त्यस्तै चारपांग्रे सवारीसाधनले ८० र त्यसभन्दा ठूला सवारीसाधनले ३ सय रुपैयाँँका दरले शुल्क तिर्नुपर्ने उल्लेख गरिएको छ । यसबाट सवारी साधन चढ्ने काठमाडौंबासीले चर्को पार्किङ शुल्कको मार खेप्नुपर्ने भएको छ । 
त्यस्तै महानगरपालिकाले सम्पत्ति कर बृद्धिका लागि जग्गाको मूल्याङ्कनमा समेत बृद्धि गरेको छ । काठमाडौं महानगरपालिकाले दरबार मार्गको जग्गाको प्रतिआना मूल्यांकन ६० लाख रुपैयाँ पु¥याएको छ । त्यस्तै महानगरपालिकाले राजस्व असुलीको लक्ष्य पूरा गर्न भन्दै जस्तोसुकै जग्गाको न्यूनतम प्रतिआना ५ लाख मूल्य निर्धारण गरी कर उठाउने बजेटमा उल्लेख गरेको छ । महानगरपालिकाका अनुसार ठमेल, क्षेत्रपाटी, असन, भोटाहिटी, जमल, दरबारमार्ग, हात्तीसार, कमलादी, पुतलीसडक, माइतीघर, सुन्धारा र त्रिपुरेश्वर क्षेत्रमा मूल सडकसंग जोडिएका जग्गाधनीहरूले प्रतिआना ६० लाखका दरले सम्पत्ति कर बुझाउनुपर्नेछ ।

Related News