​निकिताको एक करोड डुब्यो

दृष्टि न्यूज

काठमाडौं । गत बुधबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले दर्जनौं नियुक्तिहरु खारेज ग¥यो । शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता लागू भएपछि तथा चुनाव सम्पन्न भएपछि भएका राजनीतिक नियुक्तिहरुलाई खारेज गरिएको हो । 
त्यसरी भएका नियुक्तिमध्ये अधिकांश आर्थिक चलखेलका आधारमा भएका थिए । त्यतिबेला नै ती नियुक्तिहरुको चर्काे आलोचना भएको थियो । नयाँ सरकार गठनको मिति लम्ब्याएर समेत देउवाले निर्लज्ज भएर राजनीतिक नियुक्तिहरु गरेका थिए ।
चुनावपछिको नियुक्तिमध्ये एक हो चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेलको नियुक्ति । तत्कालीन सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई पैसा बुझाएर उनी त्यहाँ नियुक्ति भएकी थिइन् । तर, उनको नियुक्ति ६ महिना मात्र टिक्यो । ६ महिनाको नियुक्तिका लागि उनको एक करोड रुपैयाँ गुमेको छ । 
स्रोतका अनुसार पौडेलले नियुक्तिका लागि नगद नै एक करोड रुपैयाँ बुझाएकी थिइन् भनिन्छ । २ वर्षका लागि भनेर नियुक्त भएकोमा ६ महिनामा नै पद गुमेपछि उनी यतिबेला तनावमा छिन् । गोपीकृष्ण हलका मालिक उद्धव पौडेलकी छोरी निकिता राजनीतिक रुपमा राप्रपा निकट हुन् । उनका बुबा राप्रपाबाट राजनीति गर्दछन् । 
कांग्रेसका मन्त्रीले उनलाई बोर्डमा नियुक्त गरेपछि धेरैले आश्चर्य मानेका थिए । निर्देशक सुचित्रा श्रेष्ठले त पैसामा पद बेचेको भन्दै आलोचना गरेकी थिइन् । कांग्रेस निकट रहेका धेरै चलचित्रकर्मीहरुले पौडेलको नियुक्तिलाई विरोध गरेका थिए । 
रमाइलो त के भने पदमुक्त भएपछि प्रधानमन्त्रीलाई खुल्ला पत्र लेख्दै उनले नेपालमा क्षमताको कदर नहुने गरेको उल्लेख गरेकी छिन् । 
उताका नियुक्ति खारेज भएसँगै बोर्डमा नियुक्तिका लागि दौडधुप सुरु भइसकेको छ । एमाले निकट कलाकारहरु लबिङमा लागिसकेका छन् । 
सक्षम व्यक्तिभन्दा पार्टी निकट र पैसावाल व्यक्तिलाई नियुक्ति गर्ने परिपाटीका कारण बोर्डले चलचित्र क्षेत्रका लागि महत्वपूर्ण काम गर्न सकेको छैन । 

Related News