लन्डनमा सुनिइन् निर्मला

बेलायत (लन्डन), १३ मंसिर । गीतकार तथा कवि निर्मला परिवेश राईले बेलायतको फोक्सटनमा आयोजित एक कार्यक्रममा आफ्ना सिर्जना सुनाएकी छन् । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले वार्षिक रुपमा सञ्चालन गर्दै आएको ‘अभिव्यक्ति शंखला’को नवौं संस्करणमा निर्मला प्रस्तुत भएकी हुन् । 

प्रतिष्ठानका अध्यक्ष दयाकृष्ण राईले अध्यक्षता गरेको उक्त कार्यक्रमका प्रमुख अतिथिमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी (दुवसु क्षेत्री) र विशेष अतिथि सेकेन्ड गोर्खा राइफलका गोर्खा मेजर गजेन्द्र आङदेम्बे थिए । नेपाल पत्रकार महासंघ, यूकेका अध्यक्ष नरेश खपांगी मगर, नेपाली वाङ्मय प्रतिष्ठान, बेलायतका महासचिव जया राई, बीएफबीएस गोर्खा रेडियो यूकेका प्रतिनिधि र सेकेन्ड गोर्खा राइफल सनक्लिफ ब्यारेकका उच्च पदस्थ सैनिक अधिकृत पनि कार्यक्रममा उपस्थित थिए । 

कार्यक्रमको सुरुआतमा बेलायतका लागि नेपाली राजदूत सुवेदीलाई प्रतिष्ठानका संरक्षक रक्ष राई र अध्यक्ष राईले दोसल्ला ओढाई सम्झनाको चिनो प्रदान गरेका थिए । 

दुई चरणमा सञ्चालित कार्यव्रmमको पहिलो चरणमा संगीतकार चोक गुरुङको गीति एल्बम ‘साँचो’ विमोचन गरिएको थियो । साथै उक्त अवसरमा एल्बमको एक गीतको म्युजिक भिडियो पनि प्रस्तुत गरिएको थियो । 

दोस्रोे चरणमा निर्मलालाई दोसल्ला र ताम्रपत्रद्वारा सम्मान गरिएको थियो  । ‘अभिव्यक्ति शृंखला’मा उनले आफ्ना दर्जन गीत, कविता तथा मुक्तक सुनाएकी थिइन् । उक्त अवसरमा उनका गीतहरूका म्युजिक भिडियोसमेत देखाइएको थियो ।  

उनका ‘परिवेश’,  ‘परिवेशका पाइलाहरू’ पुस्तक तथा ‘रोशनी’ र ‘रेनसा’ गीति एल्बम प्रकाशित छन् । उक्त अवसरमा गणेश राई, टंक वनेम, सञ्जीव पारदर्शी, जानुका राई, रक्ष राई, भूपेन्द्र घिमिरे, विश्वासदीप तिगेला, देवेन्द्र खेरेसलगायत कविले पनि आफ्ना कविता सुनाएका थिए । 
 

Related News