​निर्माता संघमा ३१ लाख काण्ड

काठमाडौं, ५ पुस । चलचित्र निर्माता संघको भ्रष्टाचार काण्ड गृहमन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्म पुगेको छ । संघका अध्यक्ष राजकुमार राईले ३१ लाख रुपैयाँ हिनामिना गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि कारबाही गर्न र कारबाही रोक्न फिल्म निर्माताहरु गृहदेखि प्रधानमन्त्री कार्यालयसम्म धाइरहेका छन् । 
अन्ततः कांग्रेस नेताहरुमार्फत् अध्यक्ष राईले ३१ लाखको अनियमिततामा ६ लाख रुपैयाँ तिरेर उन्मुक्ति पाएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ६ लाख रुपैयाँ तिरेपछि संघलाई अधिबेशन गर्न आइतबार पत्र दिएको छ । यसअघि सबै हिसाबकिताब नमिलाएसम्म अधिबेशन रोक्न भन्दै काठमडौंका सीडीओ हिमनाथ दवाडीले पत्राचार गरेका थिए । 
राईले सदस्यता नवीकरणको मात्र ८ लाख रुपैयाँ हिनामिना गरेका थिए । तीन वर्षअघि संघको अध्यक्ष हुनका लागि उनले आफू निकट निर्माताहरुको सदस्यता नवीकरण गरेका थिए । उक्त पैसा कोषमा जम्मा नगरी कीर्ते रसिद बनाएर नवीकरण गरेपछि उनी भ्रष्टाचारको विवादमा परेका थिए ।  
त्यतिमात्र नभई भवन निर्माणको लागि भनेर जम्मा भएको २३ लाख रुपैयाँ समेत घोटाला भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । भवन निर्माणका लागि भनेर हरेक सदस्यसँग ३० हजार रुपैयाँका दरले पैसा उठाइएको थियो । त्यसवापतको २३ लाख रुपैयाँ पनि संघको खातामा छैन । स्रोतका अनुसार राईले उक्त पैसा आफ्नो व्यक्तिगत जग्गा कारोबारमा लगाएका थिए । तर, सबै पैसा अफिसको खर्चमा सकिएको भन्दै उनले त्यसलाई लुकाउने प्रयास गरेका छन् । सोही भ्रष्टाचारका कारण गत महिना निर्माता संघ फुटेको थियो । नवल खड्काले संघ फुटाएर अर्काे संघ गठन गरेका थिए । भ्रष्टाचार गरेको सबै पैसा राईले तिरे आफूले एकीकरण गर्ने उनले बताएका छन् । 
करिब तीन सातासम्म गृहमन्त्रीदेखि प्रधानमन्त्रीका पीएमार्फत् उक्त केसमा दबाब परेको थियो । कसैले राईको पक्षमा दबाब दिएका थिए भने कसैले उनलाई कारबाही गर्न दबाब दिएका थिए । तर, कांग्रेसको राजनीतिमा लागेका राईले कांग्रेस नेताहरुबाट सीडीओलाई दबाब दिलाएर थोरै पैसा तिरेर धेरै भ्रष्टाचार लुकाउन सफल भएका छन् । 
सीडीओले अधिबेशन गर्न पत्र दिएपछि संघमा चुनावी दौडधुप सुरु भएको छ । राईको पक्षबाट आकाश अधिकारी अध्यक्ष हुने दाउमा छन् । त्यस्तै कांग्रेस निकट निर्माताहरुले रोज राणालाई अध्यक्षको उम्मेदवारका रुपमा अघि सारेका छन् । विवाद मिले नवल खड्का पनि चुनाव लड्ने दाउमा छन् । 

Related News