अस्ताए अर्जुन

काठमाडौं, १ पुस । कवि तथा कलाकार अर्जुन खालिङको ४१ वर्षको उमेरमा बुधबार राजधानीमा निधन भएको छ । बुधबार अपराह्न कोटेश्वरस्थित डेरामा मृत फेला परेका खालिङको पार्थिव–शरीर बिहीबार किरात संस्कारअनुसार पशुपतिको वनकालीमा समाधिस्थ गरिएको छ । 

त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट शवको पोस्टमार्टमपछि उनको पार्थिव–शरीर बिहीबार दिउँसो नारायण गोपाल चौक, चाबहिल, गौशाला, तीनकुने, कोटेश्वर हुँदै महादेवस्थानस्थित किरात राई यायोक्खाको केन्द्रीय कार्यालय पु¥याइएको थियो । यायोक्खाका कार्यवाहक अध्यक्ष दिवस राईले संस्थाको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । यायोक्खा प्रांगणमा श्रद्धाञ्जली दिएर उनको पार्थिव–शरीर संघीय समाजवादी फोरमको कार्यालय तीनकुनेमा पु¥याइएको थियो । त्यसपछि फोरम कार्यालयमा उक्त पार्टीका कार्यकर्ताका साथै सर्वसाधारणले श्रद्धाञ्जली व्यक्त गरेपछि उनलाई वनकाली लगेर समाधिस्थ गरिएको किरात राई लेखक संघका उपाध्यक्ष खुक्सङ खम्बुले जानकारी दिए । 

सोलुखुम्बु जुभिङमा २०३२ साल भदौ २५ गते जन्मिएका खालिङ श्रीमती, छोरी र भाइका साथ कोटेश्वरमा बस्दै आएका थिए । उनका ‘सूर्य डढिरहेछ निरन्तर’ र ‘गोयाङको सुगन्ध’ गरी दुई कविता कृति प्रकाशित छन् । कलाकारितामा स्थापित उनका दर्जनौं पेन्टिङ छन् ।

पहिचानसहितको संघीयता प्राप्तिको आन्दोलनमा लागिपरेका उनी किरात राई लेखक संघका अध्यक्ष, चिन्डो बुक्स÷चिन्डो आट्र्सका प्रमुख कार्यकारी, चिन्डो फेसनका संस्थापक सदस्य थिए । उनी संघीय समाजवादीको सांस्कृतिक महासंघका महासचिवसमेत थिए ।

यायोक्खाका महासचिव जीवन हाताचोले खालिङको निधनबाट राष्ट्रलाई नै अपूरणीय क्षति पुगेको उल्लेख गर्दै उनकी आठ वर्षीया छोरीको उचित शिक्षादीक्षाका लागि आफ्नो संस्थाले पहल गर्ने घोषणा गरे । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका अध्यक्षसमेत रहेकी कलाकार रागिनी उपाध्यायले एक जना युवा कलाकार गुमाउनुपर्दा साह्रै दुःख लागेको उल्लेख गर्दै मुलुकले गहना गुमाएको सामाजिक सञ्जालमा लेखेकी छन् ।

‘जीवनका उज्यालोप्रद संघर्षहरूमा तिमीसँगै त हिँडेको थिएँ नि । युद्धमा बटुलेका आशाहरू कहिलेकाहीं निराशामा परिणत हुँदा तिमीले नै बालिदिएका हौ बाँच्नलाई रहरलाग्दो घामको बच्चा । तर निभायौ आफैंले त्यो रातको धिब्री,’ पत्रकार गणेशकुमार राईले फेसबुकमा लेखेका छन्, ‘राजाका अघि तिमी झुकेनौ तर राजालाई झुकायौ । समाज पढाउँछु भनेर छोडेका हौ ललितकलाको अध्यापन, जीवनमा हामी धेरै त हाँसेका थियौं र नाचेका थियौं । हामीले सँगै देखेका सपनाहरु म पूरा गर्ने छु । जोरिपारिले नसोचुन कि तिमीसँगै हाम्रो सपनाहरु सकिए, तर ती जिवित छन् ।’ 

त्यस्तै, लेखक एवं नेकपा (माओवादी केन्द्र)का नेता आहुतिले फेसबुकमै लेखेका छन् ‘समस्या छ थियो र हुनेछ । समस्यासँग सल्लाह गरेर जुध्नु पो पर्ने । हैट ! त्यत्तिकै गयौ यार अर्जुन खालिड़, जब कि मैले बिस्तारै तिमीलाई माया गर्न सुरू गरेको थिएँ !!!’ 

‘एउटा असल युवा । असल चित्रकार । होनहार कवि । चिन्डो फेसन, चिन्डो बुक्सलाई विश्वमा उपस्थित गराउन लागिपरेका व्यक्ति । किरात लेखक संघका अध्यक्ष, संघीय समाजवादी फोरम सांस्कृतिक महासंघका महासचिव अर्जुन खालिङ हामीमाझ रहनुभएन किन ?,’ लेखक काङमाङ नरेश राईले लेखेका छन्,  ‘सोलुखुम्बु जिल्ला जुभिङ गाविसको नया संरचनामा के भएको थियो ? राज्यले छानबिन गर्नुपर्छ ।’

Related News