​एनओसी कार्यकारी निर्देशकमा कसले मार्ला बाजी

उदयपुर सिमेन्टका जिएम पौडेलको सम्भावना बढ्दै

दृष्टि न्यूज

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि १७ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमध्ये कोही सरकारी स्वामित्वको संस्थानमा काम गरिरहेका र कतिपय काम गरिसकेका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सुरेन्द्र पौडेल, तारक थापा, डा सरोज कोइराला, गोविन्दप्रसाद खरेल,  मंगललाल श्रेष्ठ, प्रलयंकर आचार्य, तारानाथ पौडेल, गोवद्र्धन खड्का, मुकेश काफ्ले, अनन्तराज घिमिरे, अनिलकुमार झा, लोकबहादुर खड्का, रमेशकुमार बस्नेत, डा शिवहरि श्रेष्ठ, अच्युतराज पहाडी, शिवराम यादव र रामप्रसाद धितालले आवेदन दिएका छन् ।
आवेदन दिनेमध्ये सुरेन्द्र पौडेल बलिया प्रतिस्पर्धी हुन् । सुरेन्द्र उदयपुर सिमेन्टका महाप्रवन्धक हुन् । उदयपुर सिमेन्ट उघोग स्थापना भएको २५ वर्षपछि पहिलोपटक माघमा ६ करोड रुपैयाँ नाफा कमाएको थियो । पौडेल नियुक्त भएर गएदेखि नै उद्योगले दैनिक ६ सयदेखि ७ सय टन सिमेन्ट उत्पादन गरिरहेको थियो । यो अवधिमा उद्योगले दैनिक १० देखि १५ लाख रुपैयाँ आम्दानी गरिरहेको छ ।
स्रोतका अनुसार, प्रधानमन्त्री केपी ओली पनि सुरेन्द्रकै नियुक्तिका लागि लागिपरेका छन् । महेश बस्नेत उद्योगमन्त्री हुँदा उनलाई महाप्रवन्धक नियुक्ति गरिएको थियो । उनको उदयपुरमा माघमा कार्यकाल सकिँदैछ । उदयपुर सिमेन्ट उद्योगमा महाप्रवन्धक भएर गएपछि पौडेलले झण्डै चार वर्षको अवधिमा रुग्ण रहेको उद्योगलाई युटर्न गराउन सफल भएका थिए । पौडेल नियुक्त भए एनओसीको पनि कायापलट गर्न सक्ने भएका कारण प्रधानमन्त्रीको नजरमा पौडेल परेका हुन् । 
कार्यकारी निर्देशकमा आवेदन हाल्ने मुकेश नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन् । प्रचण्ड प्रधानमन्त्री भएका बेला कांग्रेस सभापति शेरबहादुर देउवाको सहमतिमा काफ्लेलाई हटाएर प्राधिकरणमा कुलमान घिसिङलाई ल्याइएको थियो । कुलमान आएको केही समयमै लोडसेडिङ हटाएका थिए । आवेदन दिने झा जनक शिक्षाका पूर्व महाप्रवन्धक हुन् ।
उनी उदयपुर सिमेन्टमा समेत महाप्रवन्धक भएर काम गरिसकेका छन् ।  प्रलयंकर आयल निगमकै प्रवन्धक हुन् । कार्यकारी निर्देशकमा आवेदन दिने शिवहरि नेपाल खाद्य संस्थान र राष्ट्रिय विमा संस्थानका महाप्रवन्धक हुन् । कार्यकारी निर्देशकमा आवेदन हाल्ने धिताल वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका पूर्व कार्यकारी निर्देशक हुन् ।

Related News