​आयल निगमको जग्गा खरिद प्रकरणः संसदीय समिति नै भ्रष्टाचारी जोगाउने खेलमा

काठमाडौं ।  नेपाल आयल निगमले जग्गा खरिदका क्रममा गरेको ६७ करोड रुपैयाँ अनियमिततामा सुरुमा निकै कडिकडाउ ढंगले छानबिनमा उत्रिएका संसदीय समितिका सभापतिदेखि सदस्यहरु अहिले एकाएक सुस्ताएका छन् । गोपाल खड्काले सडकमै गरेको एक अरब भन्दा ठूलो भ्रष्टाचारको उजुरी तामेलीमा राखेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगमको जग्गा खरिदमा ६७ करोड भ्रष्टाचारको छानबिन गर्ने आशा जनमानमा थिएन । तर संसदीय समितिहरुले निगमको जग्गा खरिदमा भएको घोटाला छानबिन गर्ने अपेक्षा गरिएको थियो । त्यही अनुरुप समितिहरुले सक्रियता पनि देखाएका थिए । तर पछिल्ला दिनमा निगमको जग्गा खरिद प्रकरणमा भएको अनियमिततामा संसदीय समितिका पदाधिकारीहरु एकाएक युटर्न भएको आरोप छ ।
 यो आर्थिक बर्षकै सर्वाधिक ठूलो भ्रष्टाचार काण्ड मानिएको आयल निगमको जग्गा खरिदका बारेमा उपभोक्ता हित सम्बन्ध समितिदेखि अर्थ र सार्वजनिक लेखासमितिमा सुरुमा निकै चर्काे बहस  भएको थियो । र, उपभोक्ता हित सम्बन्ध समितिका सभापति भीष्मराज आङदेम्बे र सदस्य सुवासचन्द्र ठकुरीले जग्गा खरिदमा संलग्न निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई कारबाही गरेरै छाड्ने उद्घोष पनि गरेका थिए । तर पछिल्ला दिनमा उपभोक्ता हित सम्बन्ध समितिका सभापति आङदेम्बे प्रक्रिया पु¥याएर खरिद गरिएको रहेछ भन्दै आलटाल गर्न थालेका छन् । समितिका सदस्य सुवास ठकुरीको बोली पनि निगमको जग्गा खरिदका बारेमा नरम बन्दै गएको छ । उनीहरुको रहस्यमय मौनताले जग्गा खरिदमा गरेको भ्रष्टाचारको हिस्सा समितिका सभापति आङदेम्बे र सदस्य ठकुरीसम्म पुगेको आशंकालाई बल पुगेको छ । सार्वजनिक लेखासमितिका सदस्य बैठकमा धनराज गुरुङले त निगमको जग्गा खरिदका बारेमा संसदीय समितिहरु एकाएक सुस्ताउनुमा घुसको करामत भएको चर्चा समेत गरेका थिए । निगमका कार्यकारी निर्देशक खड्काले आङदेम्बे र ठकुरीसँग धेरै पटक भेटेपछि उपभोक्ता हित समिति पछिल्लो समयमा यो भ्रष्टाचार काण्डमा एकाएक मौनता साँध्न थालेको छ । खड्काले जग्गा खरिदको चास्नीमा आङदेम्बे र ठकुरी लगायतका सांसदलाई डुबाइसकेका छन् । खड्काले आङदेम्बेको गाडीमा इन्धनको ब्यवस्थापन गरेको कुरा समेत लेखासमितिमा उठेको छ । पछिल्ला दिनमा आङदेम्बे र ठकुरी खड्कालाई कारबाही होइन, कसरी बचाउन सकिन्छ, निगमको भ्रष्टाचार काण्डलाई कसरी सेटलमेन्ट गर्ने भनेर चिन्तनमननमा लागेको उनीहरुको मौनताले देखाउन थालेको एक सांसदले बताएका छन् ।   

Related News