​मन मिलेसँगै रेलले जोडिदैँ दुई कोरिया

दृष्टि न्यूज

सोल, (एजेन्सी) । दुई कोरियाबीच मन मिलेसँगै अब रेल सेवाले जोडिने भएका छन् । दुई कोरिया उत्तर र दक्षिणबीच रेल सञ्चालन गर्ने विषयमा मंगलबार छलफल हुँदैछ । 
दुई कोरियालाई रेल सेवाले जोड्ने र आगामी दिनमा संयुक्त रुपमा र आधुनिक रुपमा सेवा सञ्चालन गर्ने विषयमा छलफल गर्न दुई कोरियाको रेवा सेवाका अधिकारीहरु बैठकमा बसेका छन् । दक्षिण कोरियाली भू–भागमा पर्ने दुवै कोरियाको सीमा गाँउ पानुमजोममा अवस्थित ‘पिस हाउस’ मा मंगलबार बिहान १० बजेबाट यो बैठक सुरु भएकोे समाचारमा जनाइएको छ । 
यस बैठकमा दुई कोरियाको पूर्वी र पश्चिमी क्षेत्रबाट रेलसेवा जोड्ने विषयमा कुराकानी भएको बताइएको छ । यो प्रयासका बारेमा यी देशबीच पहिलोपटक यसरी वार्ता भएको हो । 
दुवै कोरियाको पूर्वी र पश्चिमी क्षेत्रलाई जोड्नेगरी सुरुआत गरिने यस रेलसेवाको बारेमा सो बैठकमा कुराकानी हुनेछ । साथै यस बैठकमा उत्तर कोरियाको रेल सेवालाई आधुनिकीकरण गर्ने विषयमा पनि आवश्यक छलफल गरिने बताइएको छ । 
दुवै देशको रेलसेवा मन्त्रालयका उपमन्त्रीको नेतृत्वमा उत्तर र दक्षिण कोरियाका तीन÷तीन जना सदस्य यस वार्तामा सहभागी भएका छन् । 
उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघ, अमेरिका र दक्षिण कोरियाको पनि आर्थिक, यातायातलागयतका धेरै विषयमा नाकाबन्दी कायमै छ । ती नाकाबन्दीहरु नहटाएसम्म उत्तर कोरियासँग आर्थिक, व्यापारिक र पारवहनसम्बन्धी कुनै पनि विषयहरुमा सहकार्य र सम्झौता नहुने बताएका छन् । 
यी दुई देश गएका केही महिनायतादेखि बडो नाटकीय रुपमा नजिक भएका छन् । गएको दुई महिनायता उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनबीच दुईपटक भेटवार्ता भइसकेको छ । 

Related News