​उत्तर कोरियाको ‘सिंगापुर एजेण्डा’ तयार

दृष्टि न्यूज

सिंगापुर, २८ जेठ (एजेन्सी) ।
शिखर वार्ताका लागि उत्तर कोरियाले ‘सिंगाापुर एजेण्डा’ तयार पारिएको जनाएको छ । तर, सो एजेण्डामा के छ भन्ने बारे केही बताएको छैन । सो एजेण्डामा विशेषतः उत्तर कोरियाले गर्दै आएको आणविक क्षेप्यास्त्रको उत्पादन र यसको परीक्षणको बारेमा समेटिएको बताइएको छ । 
साथै विश्व समुदायबाट कूटनीतिक तथा अन्य हिसाबले पनि एक्लिएको उत्तर कोरियाले संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्रसंघसँग पनि केही गुनासोहरु वा उसमाथि लगाइएको नाकाबन्दी खोल्ने विषयमा पनि केही मागहरु राख्न सक्ने अनुमान विश्लेषकहरुको छ । 
तर, यस विषयमा अमेरिका वा उत्तर कोरियाले पनि केही नबताएको त्यहाँबाट प्राप्त समाचारमा जनाइएको छ । 

वार्ता खर्च डेढ करोड अमेरिकी डलर   
यसैबीच प्राप्त एक समाचारअनुसार सिंगापुरले आयोजना गरेको यस बैठकका लागि करिब एक करोड ५० लाख अमेरिकी डलर खर्च हुने अनुमान गरिएको सिंगापुरले जनाएको छ । 
सिंगापुरका प्रधानमन्त्री ली सिएन लुङले आइतबार मात्र उक्त खर्चको बारेमा जानकारी दिँदै सो कुरा बताएका हुन् । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच यही मंगलबार हुने शिखर वार्ताका लागि सिंगापुरले एक करोड ५० लाख अमेरिकी डलर खर्च गर्ने योजना बनाएको उनले बताए । खर्चको करिब पचास प्रतिशत त सुरक्षा प्रबन्धमा नै लगाइएको उनले बताएका छन् । 
सकारात्मक प्रयासः विश्व समुदाय 
यसैबीच सिंगापुरमा हुन लागेको अमेरिका र उत्तर कोरियाको यस शिखर वार्ता निकै नै सकारात्क प्रयास भएको विश्व समुदायले प्रतिक्रिया दिएको छ । 
विश्व समुदायले यस प्रयासबाट विश्वमा शान्ति स्थापना होस् भन्ने कामना पनि गरेको छ । आणविक अस्त्रको होडभन्दा यसरी वार्तामा बसेर सकारात्मक रुपमा आफ्ना विचार राख्नुले विश्वमा नै शान्ति र सौहार्दताको सन्देश जाने उनीहरुको ठहर छ । 
यस वार्ताले कोरियाली प्रायद्धीप, एसिया तथा यतिमात्र नभएर सिंगो विश्वमा नै शान्ति स्थापनाको मार्ग खोल्न सकोस भन्ने कामना पनि विश्वका नेताहरु, विभिन्न संघ संस्था र देशले गरेका छन् ।

Related News