​एजेन्टले डुबाउँदैछन् टेलिकम

दृष्टि न्यूज

काठमाडौं । नेपाल सरकारको ८३ प्रतिशत स्वामित्व रहेको नेपाल टेलिकम आफ्नै कम्पनीभित्रका कर्मचारीका कारण कमजोर बन्दै गएको छ । टेलिकमभित्रका केही उच्चतहका कर्मचारी स्वयं टेलिकमलाई कमजोर बनाई रमिता हेर्न उद्यत छन् । टेलिकम संचालक समितिले लिएका महत्वपूर्ण निर्णयका कपिसहित उच्चतहका कर्मचारीको मिलेमतोमा ठेकेदारदेखि कथित पत्रकारसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायमा धाउँदा टेलिकम उच्च नेतृत्वले मनोवैज्ञानिक रुपमा काम समेत गर्ने वातावरण देखिएको छैन ।
सरकार नियन्त्रित संस्था भएकाले टेलिकमलाई सेवा विस्तारमा समय लाग्ने गर्दछ । अर्कोतिर कानुनी प्रावधानका कारण पनि प्रक्रिया पु¥याउँदा समय लाग्ने गरेको हो । यसैलाई आधार मानेर काममा ढिलासुस्ती, कमिसनको चक्कर, टेलिकमको नेतृत्व अक्षम जस्ता बहाना बनाएर टेलिकमको नेतृत्वमाथि आफ्नैभित्रबाट प्रचारबाजी गराउने गरेको पाइएको छ ।
समाचार स्रोतका अनुसार नक्कली कागजातका आधारमा कम्पनी खडा गरी सञ्चार उपकरण आपूर्ति गर्दैआएका कथित आपूर्तिकर्ता र तिनै ठेकेदार मार्फत् कमिसन बुझ्न उद्यत टेलिकमभित्रका कर्मचारीको करोडौंको ठेक्का हत्याउने योजना असफल भएपछि अहिले तिल्मिलाउँदै उल्टै आफ्नै कम्पनीका विरुद्ध प्रचारबाजीमा उत्रिएका हुन् ।
टेलिकमभित्रका केही उच्च अधिकारीसहितको मिलेमतोमा टेलिकमभित्रको अरबौंको ठेक्का हत्याउने योजना बुनेका कथित ठेकेदार डीआर उपाध्यायसहितको समूहको ठेक्का हत्याउने योजनामा टेलिकम नेतृत्वले ठेस पु¥याएपछि उक्त समूह पूरा समाचार  नामक अनलाइन पोर्टल नै संचालनमा ल्याएर टेलिकमको बदनाम गराउन उद्यत रहेको संचार मन्त्रालय स्रोतले बताएको छ । स्रोत भन्छ–‘डीआर र टेलिकमभित्रका केही कर्मचारीको उठ्बस बाक्लै देखिएको छ । उनीहरुले टेलिकम बदनाम गराउन अन्य केही प्रतिस्पर्धी कम्पनीसँग समेत सहकार्य गरेको सूचना मन्त्रालयलाई छ । यो हर्कत तत्काल बन्द नगरे मन्त्रालयले तत्कालै एक्सन लिनुपर्ने हुन्छ ।’
नक्कली सर्टिफिकेट, नक्कली गुट्खा आदिको धन्दा गर्दैआएका डीआर उपाध्याय नामका ठेकेदार त निमित्त पात्र मात्र भएको बताइन्छ । टेलिकम नेतृत्वलाई अक्षम सावित गरी हटाएर अरबौंको ठेक्कापट्टामा चलखेल गर्न उद्यत टेलिकमभित्रकै कर्मचारीको एउटा तप्का स्वतन्त्र सञ्चार माध्यमलाई आफ्नो स्वार्थ अनुरुप प्रयोग गरेर टेलिकमभित्र रजाईं गर्ने ध्याउन्नमा रहेको बताइन्छ ।
टेलिकम नेतृत्वले फेरजी सेवा विस्तार, मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर सेवा विस्तार, मोवाइलको गुणस्तरमा बृद्धि लगायत काममा दैनिक सफलता हासिल गर्दै गएको देखेपश्चात् कथित ठेकेदार र तिनका सम्पर्क सूत्रको काम गरिरहेका कर्मचारी तिल्मिलाउन पुगेका हुन् । यूरोप, अमेरिका, जापान जस्ता मुलुकका सञ्चार क्षेत्रले पनि आफ्नो विकास गर्न समय लागेको थियो । तर यहाँ सेवा विस्तार गर्न समय लागेको बहानामा नेतृत्वलाई कमजोर बनाएर ठेकेदार पोस्ने प्रवृत्तिले आशातीत काम टेलिकमले गर्न नसकेको देखिन्छ ।
टेलिकमभित्रबाटै तलव भत्ता खाएर कामचाहिँ ठेकेदार र प्रतिस्पर्धी कम्पनीको गर्ने केही कर्मचारीमाथि तत्कालै कारबाही गर्न टेलिकम नेतृत्वमाथि दबाब बढेको छ । मन्त्रालयले समेत त्यस्ता कर्मचारीमाथि तत्काल कारबाही नगरे आफैंले कारबाही गर्ने चेतावनी टेलिकम नेतृत्वलाई दिएको स्रोतले बताएको छ । अर्कातिर नक्कली कागजातका आधारमा विगतमा काम गरिरहेका ब्यक्ति र कम्पनीलाई तत्कालै कालोसूचीमा राख्न समेत निर्देशन दिएको बताइन्छ ।
राष्ट्रिय राजस्वमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको टेलिकम कमजोर बन्दा त्यसको प्रत्यक्ष फाइदा प्रतिस्पर्धी कम्पनीलाई हुन पुग्छ । त्यसरी फाइदा पुग्दा मुलुकको पूँजी समेत बाहिरिने निश्चित छ । यो कुराको हेक्का हुँदाहुँदै टेलिकमभित्रका धमिरा प्रवृत्तिका कर्मचारीमाथि किन हुन्न ? यो प्रश्न गम्भीर रुपमा अगाडि आएको छ ।
नेपाल टेलिकमको मोवाइल बोक्ने ग्राहक अहिले १ करोड ६० लाख भन्दा माथि छन् । करिब ७ लाखको हाराहारीमा अहिले ल्याण्डलाइन संचालनमा छन् । टेलिकमको पछिल्लो नेतृत्वले कार्यभार सम्हालेयता करिब २४ अर्ब रुपैयाँ आम्दानी गरेको छ । सरकारलाई कर बुझाएर खुद मुनाफा १५ अर्ब भन्दा माथि आर्जन गरेको देखिन्छ । यो गत आर्थिक बर्षभन्दा १३.११ प्रतिशतले बृद्धि हो । गत आ.व.मा कुल खर्च २५ अर्ब रुपैयाँभन्दा माथि थियो भने त्यो अंक घटेर यस आ.व.मा कुल खर्च २४ अर्ब ३६ करोड रुपैयाँ मात्र छ । जुन ६.२४ प्रतिशतले कमी हो । गत आ.व.मा टेलिकमको प्रतिशेयर मूल्य ८८.४७ थियो तर अहिले त्यो सेयरको मूल्य १००.११ पुगेको छ ।
यसरी हेर्दा टेलिकमलाई वर्तमान नेतृत्वले कुशलतापूर्वक नेतृत्व गरेकै कारण टेलिकमभित्रैको एउटा प्रतिस्पर्धी कम्पनीको एजेन्टको रुपमा काम गर्दै आएको तप्का झस्कन पुग्यो । जसले कथित सञ्चारको सहारामा कम्पनीकै बदनाम गराउँदैछ । जसका कारण टेलिकमका प्रति जनतामा समेत कमजोर संस्था हो कि भन्ने भ्रम सृजना भएको छ ।

Related News