​प्रम ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता सुरु

काठमाडौं, ३ वैशाख ।
पार्टी एकता बैठक नै स्थगित गरेर माओवादी केन्द्रका अध्यक्ष सिन्धुपाल्चोकतिर लागेपछि स्थागित भएको वार्ता आज विहानबाट पुनः सुरु भएको छ । सोमवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पार्टी एकता सम्बन्धमा वार्ता सुरु भएको छ ।
दुई अध्यक्षबीच पार्टी एकता केन्द्रित वार्ता शुरुभएको वालुवाटार स्रोतले जनाएको छ । एमाले र माओवादी केन्द्रले कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन बैशाख ९ गते एकता घोषणा गर्ने पूर्वप्रतिबद्धता सार्वजनिक गरेको भएपनि समयसीमा धेरै नजिक आएको तथा गर्नुपर्ने तयारीहरु अझै धेरै बाँकी रहेका कारण उक्त दिन पार्टी एकता हुन्छ कि हुँदैन भन्ने अन्योल कायम रहेकै बेला दुई अध्यक्षबीच भेटवार्ता भएको हो । 
आज बसेको दुई अध्यक्षबीचको वार्ताले ठोस निकास निकाल्ने विश्वास गरिएको छ । पार्टी एकताका लागि छुट्टाछुट्टै कार्यदलले प्रतिवेदन पार्टी एकता संयोजन समितिको बैठकलाई बुझाइसकेका छन् । यद्यपि नयाँ बन्ने पार्टीको निर्वाचन चिन्ह र मार्गदर्शक सिद्धान्तको विषयमा अन्तिम टुंगोमा पुग्न बाँकी छ भने सांगठानिक संरचनाको सम्बन्धमा अन्तिम निर्णय हुन बाँकी छ ।

Related News