​प्रम ओलीको चीन भ्रमणको क्रममा आठ भन्दा बढि सम्झौतामा हस्ताक्षर हुने

दृष्टि न्यूज

काठमाडौं ।
अत्यन्तै ढिलो गरी सार्वजनिक गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा कम्तीमा आठ वटा सम्झौतामा हस्ताक्षर हुने लगभग निश्चित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी असार ५ गतेदेखि हुने चीनको औपचारिक भ्रमणका कार्यसूची अनुसार प्रम ओलीको टोलीले चीनको छ दिने औपचारिक भ्रमणको क्रममा आपसी सहयोग, व्यापार अभिवृद्धि, कृषि परियोजना विस्तार, रेलमार्गसहितका सम्झौतामा हस्ताक्षर हुने परराष्ट्र सूत्रले जनाएको छ । परराष्ट्र मन्त्री ज्ञवालीले भ्रमणको समयमा गरिने सम्झौताको सम्बन्धमा दुवै देशले गृहकार्य गरिरहेको जनाएका छन् ।
चिनियाँ राष्ट्रपति सि जिनपिङले विशेष महत्व दिएको भ्रमणमा वान बेल्ट वान रोडका सम्बन्धमा समेत ठोस सम्झौता हुनेछ । यद्यपि सो परियोजना अन्तर्गत नेपालले आयोजनाहरुको स्पष्ट भिजन बनाउन नसक्दा थप छलफल जरुरी देखिएको छ । वान बेल्ट वान रोड अन्तर्गत सञ्चालन हुने रेल मार्ग आसपासमा नेपालले के कस्ता ठूला निर्यातमुखी उद्योग र कलकाखाना सञ्चालन गरेर परियोजनाको उपयोग गर्ने भन्ने ठोस खाका बनाउन सकेको छैन । 
आगामी असार ५ गतेदेखि १० गतेसम्म हुने चीन भ्रमणको क्रममा मुख्य निम्न सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिएको छ ।
१. चीनको स्वशासित क्षेत्र (तिब्बत) का राजमार्ग खाद्यान्न ढुवानीका निम्ति आठ वटा सीमा नाका खोल्ने सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर
२. केरुङ–काठमाडौं रेल मार्ग निर्माण सम्बन्धी थप प्रक्रियामा हस्ताक्षर
३. नेपाल–चीनको परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना सम्बन्धी सहमति पत्रमा हस्ताक्षर
४. रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानीमा चिनियाँ सहयोगमा निर्माण हुने ‘नेपाल–चीन मैत्री पुल’ निर्माणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर
५. नेपालको उत्पादन क्षमता अभिवृद्धि सम्बन्धमा नेपाल र चीनका अर्थ मन्त्रालयबीच सहकार्य गर्ने सहमति पत्रमा हस्ताक्षर
६. ऊर्जा सहायता तथा सीमापार प्रसारण लाइन निर्माण सम्बन्धमा हस्ताक्षर
७. कृषि उत्पादन बृद्धि गर्ने ठोस परियोनजामा साझेदारी 
८. सात वटै प्रदेशमा विपद् व्यवस्थापन तथा उद्धार केन्द्र निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । 


त्यसैगरी, १६ अर्ब चिनियाँ युआनको लागतमा एक हजार मेघावाट क्षमताको मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाइने सम्बन्धमा छलफल अघि बढेको छ । चीनबाट थप इन्टरनेट आयात सम्बन्धमा पनि छलफल हुनेछ । 
परराष्ट्र मन्त्रालयमा बिहिवार आयोजित नियमित पत्रकार भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मंगोलिया भ्रमण सफल रहेको जानकारी दिँदै कूटनीतिक क्षेत्रमा भएका पछिल्ला विकासक्रम एवं समसामयिक स्थिति तथा प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी दिए । उनले प्रम ओलीको चीन भ्रमणको क्रममा व्यापार तथा पारवहनका साथै स्वतन्त्र व्यापार क्षेत्रका विषयमा पनि छलफल जारी रहेकाले समझदारी हुनसक्ने बताए । 

Related News