​राजनीतिक संक्रमणकाल टुंगियो अब समृद्धि : अध्यक्ष ओली

दृष्टि न्यूज

काठमाण्डौ २८ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक संक्रमणकाल टुंगिएर आर्थिक समृद्धितर्फ लम्कन अघि बढेको बताएका छन् । आइतबार नेपाल व्यवस्थापन संघ (म्यान) को ३७ औं साधारणसभाको राजधानी काठमाडौंमा उद्घाटन गर्दै अध्यक्ष ओलीले भने ‘नेपालको राजनीतिक संक्रमणकाल लगभग टुंगियो, अब विकास र समृद्धिको बाटोमा हामी अगाडी बढ्छौं ।’ 
विकास र समृद्धिका निम्ति स्थायीत्व र स्थीरता आवश्यक भएकोले जनताको अपेक्षालाई पुरा गर्न प्रतिवद्ध रहेको उनको भनाई थियो । उनले आर्थिक समृद्धिको लागि उत्पादन र वितरणमा आफ्नो जोड रहने समेत बताएका छन् । भावी प्रधानमन्त्रीको रुपमा समेत हेरिएका एमाले अध्यक्ष ओलीले भने ‘हामी उत्पादन र उत्पादकत्व वितरणमा मात्र ध्यान दिँदैनौ यसको समुचित वितरणमा समेत चनाखो रहन्छौं ।’
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधानालाई सबैले स्वीकारेको बताउँदै अब मुलुक सानातिना कुरामा नअल्झिएर समृद्धिको मार्गमा दौडने समेत उल्लेख गरे । संविधानसभाले संविधान जारी गर्दाको समय केही विमतिहरु भएपनि अब त्यस्तो अवस्था नरहेका भन्दै अध्यक्ष ओलीले संविधानले तयार गरेको संरचनाका आधारमा निर्वाचनमा सहभागी हुने, निर्वाचन जित्ने, हार्ने भईसकेपछि अब संविधानको सर्वस्वीकार्यतामा कुनै दुविधा नरहेको दावी गरेका छन् । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेपालको राजनीतिक संक्रमणकाल अन्त्यतिर पुगको र नयाँ सरकार आर्थिक समृद्धिको लागि काम गर्ने समेत अध्यक्ष ओलीले बताए । 
देशैभरिका व्यवस्थापकहरुको छाता संगठन नेपाल व्यवस्थापन संघको भएको कार्यक्रममा अध्यक्ष ओलीले संयुक्त राष्ट्रसंघले सन् २०३० सम्ममा हासिल हुने गरी राखेका १७ वटा दिगो विकास लक्ष्यलाई पुरा गर्न नेपालले द्रुतत्तर गतिमा दिगो विकास लक्ष्य राख्नुपर्ने औल्याएका छन् । उल्लेखित लक्ष्य हासिल गर्न गरिबी निवारण मुख्य चुनौति रहेको ओलीको भनाइ छ । 
नेपालमा स्रोत र साधनको अभाव नभएपनि त्यसको उचित व्यवस्थपन नहुँदा नेपाल गरिब हुनुपरेको अध्यक्ष ओलीले बताए । समृद्धिका लागि सामाजिक, आर्थिक, राजनैतिक व्यवस्थापन आवश्यक भएको बताउदै ओलीले भने ‘नेपाल गरिब हुनै नसक्ने तर व्यवस्थापनको अभावले गरिबी भोगिरहेकोमा अब व्यवस्थापनको अभावमा कुनै पनि कुरा अपुरो हुदैन ।’ 

Related News