​ओलीको अभिभारा

दृष्टि न्यूज

गत मंसिरमा सम्पन्न आम निर्वाचनमा अत्यधिक बहुमत हासिल गरेको बाम गठबन्धनको नेताका रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रोपटक प्रधानमन्त्रीका रुपमा कार्यभार सम्हालेका छन् । पहिलोपल्ट उनले प्रधानमन्त्रीको कार्यभार सम्हाल्दा मुलुकै संकटमा थियो । तीनतिरबाट घेर्ने छिमेकीले नेपालविरुद्ध नाकाबन्दी लगाएको थियो । इन्धन अभाव, अत्यावश्यक वस्तु र सेवाको हाहाकार मुलुकभर थियो । एकातिर विनाशकारी भूकम्पले जनजीवन अस्तव्यस्त थियो, अर्कोतिर छिमेकीको नाकाबन्दी मुलुकले झेल्नुपर्दा पीडामाथि पीडा थपिएको थियो । त्यस्तो अवस्थामा ओलीले अविचलित भई राष्ट्रलाई नेतृत्व दिए । कुनै शक्तिसामु घुँडा टेकेनन् । राष्ट्रियताको भावधारामा समस्त नेपालीलाई जोड्न उनी सफल भए । उनले सत्ता गुमाए तर जनताको विश्वास र सहानुभूति झन् बढी कमाए । उनीप्रतिको त्यो सहानुभूति र भरोसा पछिल्लो निर्वाचनमा जनमतका रुपमा व्यक्त भयो । र, उनी पुनः प्रधानमन्त्री बन्न सफल भए ।
ओलीको यो पृष्ठभूमि उनका निम्ति फेरि पनि अवसर नै हो । उनीप्रति आमजनताको व्यापक भरोसा र विश्वास छ । हिजो जसरी ‘हामीजस्तोसुकै कष्ट बेहोर्न तयार छौँ तर ओलीले पराईसामु घुँडा नटेकून्’ भनेर जनता दुःख उठाउन तयार भएका थिए, त्यसैगरी आज ओलीको नेतृत्वमा राष्ट्रनिर्माणको अभिभारा आइलागेको छ । समृद्धि, विकास र स्थायित्वको मूल नारा लिएर जनतामाझ जाँदा ओलीप्रतिको भरोसा झनै चुलिएको छ । त्यो भावनालाईलाई समयमै पुँजीकृत गर्न सक्नुपर्छ । यो ओलीका निम्ति अर्को अवसर हो ।
यतिखेर ओलीकै कारण नेपालको राष्ट्रिय आत्मबल बढेको छ । खासगरी सुगौली सन्धियता किचिएको राष्ट्रिय स्वाभिमानले बल्ल शिर ठाडो पार्ने मौका पाएको छ । नेपाली नेताहरु विदेशी शक्तिकेन्द्रकहाँ धाउने होइन, विदेशी शक्तिकेन्द्रले नेपाल धाउने अवस्था बनेको छ । कुनै नाजायज सम्झौता नगरी छिमेकीहरुसँग स्वाभिमानपूर्ण सम्बन्ध कायम गर्न सक्नुपर्छ । कम्तीमा ओलीले नेपाल कुनै पनि छिमेकीको हितविरुद्ध प्रयोग हुन सक्दैन भनेर आश्वस्त पार्नुपर्छ । त्यसबाहेकका कुरामा सम्झौता गर्नु जरुरी छैन । नेपाल सानो भए पनि स्वतन्त्र राष्ट्र हो । यसले आफ्ना प्राथमिकता आफै तय गर्छ र नेपालको प्राथमिकताका आधारमा उनीहरुले सहयोग र विकासमा साझेदारी गर्नुपर्छ भन्ने मान्यतालाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्छ । आज नेपालको शक्ति भनेको नेपालभित्रको जनसंख्या र स्रोतसाधन मात्र होइन । संसारभर छरिएका नेपाली नेपालको उन्नतिका निम्ति केही न केही योगदान गर्न चाहन्छन् । यो संसारभर छरिएको जनशक्तिलाई समेत राष्ट्र निर्माणमा प्रयोग र परिचालन गर्न सक्नुपर्छ । त्यसो त मुलुकभित्रै पनि केही रचनात्मकता र सकारात्मकताको खोजी हुन थालेको छ । सरसफाइ र सभ्यतासम्बन्धी अभियान व्यापक बनेका छन् । राजनीतिक परिवर्तन धेरै भयो, अब आर्थिक—सामाजिक परिवर्तन हुनुपर्छ भन्ने आवाज सबैतिरबाट उठेको छ । जनस्तरमा रहेको यो आवाजलाई राष्ट्रिय भावधारामा समावेश गरी ओलीका नेतृत्वमा राष्ट्र निर्माण गर्ने अवसर अगाडि आएको छ ।
संविधान जारी भई नयाँ निर्वाचन सम्पन्न भएसँगै मुलुकको राजनीतिक संक्रमण अन्त्य भएको छ । यो सरकारले लिने नीति, गर्ने निर्णय र चाल्ने हरेक कदम आगामी दिनका निम्ति नजिर बन्नेछन् । ०४८ सालमा गिरिजाप्रसाद कोइरालाको काँधमा पनि यो जिम्मेवारी आएको थियो । उनले त्यतिखेर न व्यवस्थालाई संस्थागत गर्न र प्रणालीलाई योगदान गर्न सके, न त राष्ट्रलाई नै दिशानिर्देश गर्ने कुनै दूरगामी महत्वका निर्णय र कदम चाले । केवल शक्तिमा पुग्न र टिक्नका निम्ति जस्तासुकै नाजायज हर्कत गर्न पछि नपर्ने खालका नजिर उनले स्थापित गरे । त्यसयताका अढाई दशक कोइराला र कांग्रेसले सिर्जना गरेको भुमरीमा मुलुक फस्यो । धेरै ठूला राजनीतिक र आर्थिक दुर्घटनाको सामना मुलुकले गर्नुप¥यो । त्यसैको परिणामस्वरु आज लाखौँ नेपाली आफ्नो थातथलो छाडेर भविष्य खोज्दै अरबको खाडीमा जवानी बिताउन बाध्य छन् । ०४८ सालमा कोइराला जुन स्थितिमा थिए, यतिखेर ओली त्यही स्थानमा छन् । कोइरालाले छाडेको नेपाल दोहो¥याउने कि नयाँ नेपाल बनाउने, ओलीको हातमा छ । यो इतिहासले सुम्पेको अभिभारा ओलीले कसरी पूरा गर्छन्, आमनेपालीले प्रतीक्षापूर्वक हेरिरहेका छन् ।

Related News