​अक्सफामभित्र धन्दैधन्दा

भुकम्प पीडितको लागि बनाएको घर गुणस्तरहीन

नबराज न्यौपाने

काठमाडौं । संयुक्त राष्ट्रसंघले न्यूनतम क्षतिमा विकास गर्ने उद्देश्यले सन् २०१५ देखि २०३० सम्म हासिल गर्ने लक्ष्यको रुपमा दिगो विकासलाई अघि सारेको छ । राष्ट्रसंघीय विकास लक्ष्यलाई पछ्याएको भनेर दावी गर्ने अन्तर्राष्ट्रिय गैर सरकारी संस्था अक्सफाम नेपालले सुधारको काम भन्दा पनि बजेट सिध्याउने, परामर्शदाता तथा कर्मचारीले लाभ लिनेतर्फ केन्द्रीत हुन थालेपछि विवादमा परेको छ ।
भूकम्पपछि पुननिर्माण गर्नेभन्दै धादिङ, गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा अक्सफामले गरेको काम प्रभावकारी हुन नसकेको गुनासो स्थानीयबासीकोछ । धादिङका कैयौं गाउँबस्तीमा अक्सफामले निर्माण गरेको घर बाख्राको खोरजस्तो भएको स्थानीयबासीको गुनासो छ । धादिङको निलकण्ठ नगरपालिकामा निर्माण गरेको तीन दर्जन घर समेत गुणस्तरहीन रहेका छन् । त्यस्तै सिन्धुपाल्चोक हेलम्बुका एक स्थानीयबासीले अक्सफाममा आबद्ध भएको जनहित ग्रामिण सेवा समितिले निर्माण गरेको ४० वटा घरभित्र सजिलै बाँदर पस्न सक्ने, जोसुकै पसेर चोरी गर्न सक्ने असुरक्षित घर बनाएको छ । त्यस्तै घर समेत निकै सानो भएको गुनासो गरेका छन् । भूकम्प गएको साढे तीन वर्षपछि बनाइएको घरप्रति समेत स्थानीयबासी खुशी हुन नसकेपछि अक्सफामका सामाजिक कार्यको प्रभावकारितामाथि प्रश्न उठेको छ । 
त्यसो त धादिङको जोगिमारामा भुकम्प पीडितलाई सरकारले दिएको पैसा अक्सफामले फिर्ता लिएपछि दुइ वर्षअघि हंगामा मच्चिएको थियो । द फोरम फर कम्युनिटी अपलिफ्टमेन्ट सिष्टम (फोकस) मार्फत बाख्रा सापटी दिएको अक्सफामले उक्त सापटी बाख्रा बापतको रकम भुकम्प पीडितबाट फिर्ता लिएको हो । सरकारले वितरण गरेको राहत वितरणस्थलमै पुगेर संस्थाका प्रतिनिधिले पाँच लाख ६८ हजार रुपैयाँ फिर्ता लिएका थिए । बैशाख १२ को भुकम्पले घर भत्केका १३५ चेपाङ परिवारबाट अक्सफामले रकम फिर्ता लिएको खवर प्रधानमन्त्री कार्यालयसम्म आईपुगेपछि तत्कालै फोकसलाई कारवाही गर्ने प्रयास गरिएपनि हालसम्म कारवाही हुन सकेको छैन । त्यस्तै संस्थाको काम प्रभावकारी हुन नसकेपछि अक्सफाम गोरर्खाबाट फिर्ता भएको छ । त्यहाँ रहेको अक्सफामको कार्यालय हाल बन्द गरिएको छ । धादिङमा भने सो संस्थाको कार्यालय हालसम्म सञ्चालनमै रहेको छ । 
नेपालमा पनि भूकम्पपछि पुननिर्माण गर्ने भन्दै धेरै स्थानमा घर पुननिर्माण गर्ने जिम्मेवारी लिएको अक्सफामले काम गर्नुभन्दा पनि बाख्राको खोर जस्तो घर निर्माण गरेको भन्दै स्थानीयबासीले बिरोध गरेका थिए । अक्सफामले निर्माण गर्नेभन्दै जिम्मा लिएकोमा अझै धेरै घरहरु बनाउन बाँकी रहेको छ ।
अक्सफामले नेपालमा सिधैं परियोजनामा काम गर्ने मात्र नभई स्थानीय गैर सरकारीसंस्थासँग मिलेर काम गर्दै आएको छ । तिनै गैर सरकारी संस्थामार्फत गराएको काम समेत प्रभावकारी हुन नसकेको गुनासोहरु आउन थालेका छन् । 
अक्सफाम अन्तर्राष्ट्रिय गैर सरकारी संस्था नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय क्षेत्रमै बद्नाम बन्दै गएको छ । गत वर्ष यौन दुव्र्यवहारको घटना बाहिर आएपछि अक्सफामले पाउने सहायता रकममा समेत भारी गिरावट आएको छ । त्यस्तै मुख्य सहयोगी देश बेलायतले समेत सहयोग रोक्ने चेतवानी दिइसकेको छ । अक्सफामले संकटमा रहेका मानिसहरूलाई सुरक्षाको प्रत्याभूति दिनुको साटो गलत काममा प्रयोग गरेको भन्दै बेलायत सरकारले आफूले दिँदै आएको सहयोग रोक्ने चेतावनी दिएको थियो । अक्सफामका कर्मचारीले हैटी तथा नेपालमा यौन दुव्र्यवहार तथा हिंसा गरेको घटनाको सम्बन्धमा अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिबिसीमा गत वर्षको माघमा समाचार प्रकाशित भएपछि अक्सफाम विश्वव्यापी रुपमा बद्नाम हुँदै गएको छ । 
बेलायतका अन्तर्राष्ट्रिय विकासमन्त्री पेनी मोर्डन्टले अक्सफामका केही कर्मचारीको व्यवहार डरलाग्दो भएको भन्दै त्यसको निन्दा समेत गरेकी थिइन । अक्सफामका केही कर्मचारीले भूकम्पका बेला पीडितहरूलाई मद्दत गर्दा यौनकर्मीहरूको प्रयोग गरेको आरोप लागेको सम्बन्धमा पत्राचार गरिने बताएपछि अक्सफाम अन्तर्राष्ट्रिय दातामाझ अप्ठेरो अवस्थाको सामना गरिरहेको छ । 
गत फ्रेबुअरीमा अक्सफामकी एक वरिष्ठ अधिकारीले नेपालसहित एसियामा रहेका आफना कर्मचारीसँग जोडिएको यौन दुव्र्यवहारका आरोपहरूबारे आफूलाई जानकारी रहेको बताउँदै कारवाही गर्ने प्रतिबद्धता गरेपनि हालसम्म कसैलाई कारवाही गरिएको छैन । सन् २०१६ मा फिलिपिन्स, बांग्लादेश र नेपालमा यौन दुव्र्यवहारका घटनाहरु भएको थियो । 

अक्सफामका सहयोगी पार्टनर संस्थाहरु
१. लुमन्ती
२. इन्भारोमेन्ट एण्ड पब्लिक हेल्थ अर्गनाइजेशन
३. वीमन एण्ड हुमन राईट्स, सिङ्गल वीमन ग्रुप
४. सेन्टर फर इन्टिग्रेटेड अर्वान डेभलपमेन्ट
५. होम नेट नेपाल
६. महिला आत्म निर्णय केन्द्र
७. ग्रामिण महिला सिर्जनशिल परिवार
८. जनहित ग्रामिण सेवा समिति
९. कम्युनिटी डेभलपमेन्ट एण्ड इन्भारोमेन्ट कन्जरभेशन फोरम
१०. सेन्टर फर इनर्जी एण्ड इन्भारोमेन्ट डेभलपमेन्ट
११. सिन्धु डेभलपमेन्ट सेन्टर
१२. डेभलपमेन्ट प्रोजेक्ट सर्भिस सेन्टर
१३. ककनी सेन्टर फर डेभलपमेन्ट कम्युनिटी
१४. सहायता सामाजिक संस्था
१५. कम्युनिष्टी एण्ड रुरल डेभलपमेन्ट सोसाईटी नेपाल
१६. तुलसी मेहर युनेस्को क्लव गोर्खा च्याप्टर
१७. गोरेटो गोरखा
१८. युनिफिकेशन नेपाल
१९. फोरम फर कम्युनिटी अपलिफ्टमेन्ट सिष्टम (फोकस नेपाल)
२०. प्रयत्नशील कम्युनिटी डेभलपमेन्ट सोसाइटी (प्रयास नेपाल)
२१. एक्सन नेपाल
२२. कमिटेड सोसाईटी फर चेन्ज
२३. शान्ति नेपाल
२४. कर्णाली इन्ट्रिगेटेड रुरल डेभलपमेन्ट एण्ड रिसर्च सेन्टर
२५. हिमालयन कन्जरभेशन गु्रप नेपाल
२६. सोसाईटी फर इन्टिगे्रटेड एलाइड नेपाल

Related News