​‘निश्चित अवधिपछि समानुपातिक प्रणाली खारेज हुनैपर्छ’- पद्माकुमारी अर्याल, सांसद, नेकपा एमाले

दृष्टि न्यूज

प्रतिनिधिसभा निर्वाचनमा अधिकांश दलले महिलालाई कमैमात्र टिकट दिए । जित्न कठीन हुने क्षेत्रमा मात्रै महिलाले टिकट पाएका थिए, थोरैमात्र प्रत्यक्षमा विजयी हुन सफल भए । पद्माकुमारी अर्याल पनि एमालेबाट निर्वाचित त्यस्तै सांसद हुनुहुन्छ जसले कठिन प्रतिस्पर्धीको सामना गर्नुप¥यो । स्याङजा– २ मा बहालवाला उपप्रधानमन्त्री, २००७ सालदेखि नै कांग्रेसको पकड क्षेत्र र सरकारी संयन्त्रको ब्यापक दूरुपयोग हुँदा पनि अर्याल विजयी हुनुभयो । तत्कालिन उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठसँग चुनाव लड्नुभएकी अर्यालले ३ हजार ७ सय ६ मतान्तरले विजयी हुनुभयो । अर्यालले ३५ हजार १ सय ४२ मत ल्याउँदा  ३१ हजार ४ सय ३६ मतमा रोकिएर श्रेष्ठ पराजित भए । २०२५ सालमा स्याङ्जाको वालिङ १४ मा जन्मिनुभएकी अर्यालले पूर्णामृत भवानी उच्च माविबाट एसएलसीसम्म र भक्तपुर बहुमुखी क्याम्पसबाट बिएड पास गर्नुभएको छ । २०३९ सालमा अनेरास्ववियूमार्फत राजनीति सुरु गरेकी अर्याल एमाले स्याङ्जा जिल्ला अध्यक्ष र २०६९ सालदेखि नेकपा एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ । पार्टीको तल्लो निकायबाट केन्द्रीय नेतृत्वसम्म एकपछि अर्को नेतृत्व पूरा गर्दै आउनुभएकी अर्यालसँग गरिएको कुराकानीको सम्पादित अंश–
‘हेबीवेट’ नेतालाई हराउनुभयो । तपाईंको जीतको पछाडि के कुरा जोडिएको छ जस्तो लाग्छ ?
पञ्चायतदेखि राजतन्त्रसम्मका आन्दोलनमा थिएँ । जेलनेल खाएँ । जनतासँग भूगोलमा रहेर काम गरेँ । पदमा रहँदा वा नरहँदा सामाजिक काम, विकास निर्माण, राजनीतिक चेतना, परिवर्तनकामी आन्दोलनको नेतृत्व गरेँ । म को हो भन्ने जनतालाई थाहा थियो । हिजोसम्म दुःख कष्ट गरेर जनतामाझ हुर्किएकाले म जनतामा नयाँ थिइनँ । मेरोविरुद्ध मुद्दा बनाउन धेरै प्रयत्न भए पनि एउटा कुनै पनि विषय भएन । म जोसँग प्रतिस्पर्धा गरेँ, उहाँ पुरानो समयदेखि राजनीतिमा क्रियाशील हो, पार्टीमा पनि सरकारमा पनि महत्वपूर्ण जिम्मेवारी पाउनुभएको थियो । तर, जनतामाझ जाँदा उहाँसँग भन्दा पनि मसँग जनताको आकर्षण देखिएको महसुस मैले गरेको थिएँ । बाहिर हेर्दा राजनीतिक हिसावले हेरिए पनि जनताको साइकोलोजी बुझ्दा मसँग जति आकर्षण थियो । उहाँले साधन स्रोतको परिचालन गर्नुहुन्छ भन्ने त्रास देखिए पनि मैले मेरो जीत सुनिश्चित हुन्छ भन्ने लागेको थियो ।
तर, मनको कुनै कुनामा चुनाव कठीन प्रतिस्पर्धीसँग हुँदैछ भनेर त डराउनु पनि भएको थियो होला नि त ?
पक्कै पनि बहुदलपछिका चुनावमा मेरो निर्वाचन क्षेत्रमा बुथ क्याप्चर भएको छ । पटक–पटक बुथ क्याप्चर रोक्न नसक्दामात्रै हामी पराजित हुनुपरेको थियो । त्यति हुँदा पनि केही ठाउँमा बुथ क्याप्चर त भयो, तर जनताले यसपटक चुनाव जिताउने मत मलाई दिएर पठाउनुभयो । आत्मविश्वास चाँही यसपटक चुनाव जित्छु भन्ने नै थियो, हामीसँग राष्ट्रिय एजेण्डादेखि बाम गठबन्धनप्रतिको विश्वासको मत थियो ।
धेरै ठाउँमा जित्न कठिन क्षेत्रमा महिलाले टिकट पाएका थियो, तपाईंको हकमा पनि त्यस्तै भएको थियो कि ?
स्थानीय नेताको मनभित्र के थियो मैले भन्न सकिनँ । तर, उहाँहरुको चाहना थियो । मैले उहाँहरुसँग बसेर छलफल गरेँ । जो जो साथीहरु इच्छुक हुनुहुन्थ्यो, राजनीतिकरुपमा म भन्दा जुनियर हुनुहुन्थ्यो । पहिले पनि म आफूले चुनाव हाँकेर साथीहरुलाई अगाडि बढाएको थिएँ, एकपटक जनताको बीचमा जाने मन छ भन्दा साथीहरुले अबरोध गर्नुभएन । उहाँहरुले तपाईंसँग अरु विकल्प पनि छन्, हामीलाई छाड्नुस् अथवा तपाईं जानै मन छ भने हामी सहयोग गर्छौं भन्ने भएपछि म चुनावमा होमिएको हुँ । हारिन्छ भनेर छाड्भएको हो कि एकपटक सिनियरको हिसावले छाडौं भन्नुभएको हो कि त्यो उहाँहरुको मनको कुरा हो । तर, साथीहरुले देखाउनुभएको सदासयतालाई म सकारात्मकरुपमै लिन्छु ।
महिलाका लागि चुनाव लड्न कति गाह्रो रहेछ ?
हाम्रा सामाजिक मान्यताका बीचमा चुनाव ‘फेस’ गर्न कठीन नै छ । पुरुषसँग प्रतिस्पर्धा गर्ने सहज छैन । चुनाव पहिलेजस्तो छैन, जित्नका लागि जस्तो पनि हर्कत गर्ने । विगतमा चुनाव लड्न पार्टीले भने पनि लडिनँ । तर, यसपटकको चुनाव लड्दा तीनवटै चुनाव एकैपटक लडेजस्तो भएको छ । साम, दाम, दण्ड, भेदको प्रयोग भयो, गुण्डागर्दी भए ।
स्याङ्जा कांग्रेसको परम्परागत गढ हो,  तपाईंले कांग्रेसको कमजोरीले जित्नुभएको हो कि बाम गठबन्धनको देशव्यापी माहौलले ? 
चुनावमा सम्भावनाभन्दा पनि चुनौती बढी थियो । स्थानीय तहमा एमाले र माओवादीले पाएको मत जोड्दा पनि हाम्रो मत कम थियो । म माइनसमै चुनाव लडेको हुँ । फेरि हाम्रो पितृसतात्मक समाज हो, पुरुष बहालवाला उपप्रधानमन्त्रीसँग चुनाव लडेको छ के जित्लिन् भन्ने मनोविज्ञान पनि छँदै थियो । त्यसका अलावा राज्यबाट जस्तो जस्तो स्रोत साधन प्रयोग गर्नुपथ्र्यो, उहाँले कुनै कमी राख्नुभएन । चुनावका दिन बुथ कब्जाका लागि उहाँले जे जे हर्कत गर्नुभयो, ती सबै ब्यहोरेँ । आचारसंहिता उल्लंघन जसरी भए त्यसले मलाई गाह्रो छ भन्ने परेको थियो, धेरै पहाड बीच जे सम्भावना देखेँ, त्यसमा के के प्रयोग गर्नुपथ्र्यो मैले गरेँ । जनताको उभार यति थियो कि राजा फाल्ने आन्दोलनभन्दा पनि चुनावको नतिजापछि जनताको उपस्थिति अहिलेसम्म कहिल्यै उठेको थिएन । अब मेरो जिम्मेवारी के के हुन् मैले बुझेको छु । जस्तैः युवालक्षित कार्यक्रम, महिला, किसानका लागि के के काम गर्नुपर्छ भन्ने थाहा छ । समृद्धिका लागि र राष्ट्रिय गौरवका आयोजना पूरा गर्न मैले भूमिका खेल्नुपर्नेछ भन्ने पहिचान गरिसकेको छु । जनताका बीचमा मैले गरेका प्रतिबद्धता पूरा गर्न लाग्नेछु ।
चुनाव प्रणालीमा सुधार्नुपर्ने कुरा के के रहेछन् त ?
अहिलेको चुनाव प्रणाली छल्ने खालको छ । आचारसंहिता पालना हुँदैनन् । पैसा र बलको भरमा चुनाव जित्ने प्रचलन छ ।  पक्कै सुधार आवश्यक छ, पारदर्शीरुपमा चुनाव हुनुपर्छ ।
तपाईंले गरेका प्रतिबद्धता पूरा गर्न हाम्रा स्रोतहरु प्रयाप्त छन् र ?
व्यक्तिभन्दा पनि विकास निर्माण, समृद्धिका लागि हामीले के गर्ने भन्ने कुरा राज्यको पोलिसीका कुरा हुन् । जनतासँग जोडिएका कुराहरुमा विगतमा एमालेले जे जे गरेको छ, ती अधूरा छन् । कमरेड केपी शर्मा ओली नेतृत्वको सरकारले विगतमा पूरा हुन नसकेका कामलाई पूरा गर्न नीति, कार्यक्रम र बजेट ल्यायो भने काफी हुन्छ । देशको समृद्धि, जनताको समृद्धिको लागि स्थायी सरकारले काम गर्छ । पूरा हुन नसकेका कामहरु क्रमशः पूरा गर्दै जान्छौं ।
तपाईंहरुका सरकार तीन तहमै छन् । अब केन्द्रीय सरकारले सहयोग गरेन भन्ने छुट छैन । आफ्ना प्रतिबद्धता पूरा नहोलान् कि भन्ने चिन्ता पनि छ होला नि ?
जितेको उत्साहसँगै मनभित्र चिन्ता पनि छन् । पाँच वर्षभित्र काम गर्ने काम गर्छौं, बाँकी पूरा नभएका कामलाई गर्न सकिन्छ भन्ने योजना तयार गर्छौं, आशा जगाउन सक्छौं । सत्तापक्षभन्दा विपक्षमा बस्न सहज हुन्छ, तर हामी भन्नका लागि भन्दा गर्नका लागि स्थिर सरकार खोजेको हो । हामी स्थिर सरकारबाट केही न केही गर्छौं । 
समानुपातिक निर्वाचन प्रणालीमा पुनः बहस सुरु भएको छ । महिलाले प्रत्यक्ष चुनाव नलड्ने, ३३ प्रतिशत पु¥याउन समानुपातिकबाट ल्याउनुपर्ने स्थिति छ । समानुपातिक प्रणाली पनि सुधार गर्नुपर्छ त ?
विगतमा हाम्रा सामाजिक मान्यता र कानुन विभेदकारी थिए । ती चिजलाई हटाएर एकैपटक प्रतिस्पर्धामा जाँदा महिलाका लागि समानुपातिक प्रणालीबाट सहभागी गराउने भन्ने भएको हो । निश्चित समयसम्म हामीले यही प्रणालीबाट महिलालाई स्थापित गर्नुपर्छ । र, त्यसपछि अवधि तोकेर विशेष व्यवस्था हटाउनुपर्छ । अहिलेलाई यो विकृतिभन्दा पनि आवश्यकता हो । सदाका लागिभन्दा पनि अवधि तोकेर जानु उचित हुन्छ ।
एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि पार्टीको नेतृत्व र सांगठनिक ढाँचा कस्तो हुनुपर्छ ?
पार्टी एकीकरण भएपछि सांगठनिक ढाँचा अनावश्यक भद्दा पनि हुनुहुँदैन र सँगसँगै अस्वभाविकरुपमा ह्वात्तै घटाउनु पनि हुँदैन । निश्चित मापदण्ड बनाएर समावेशी सिद्धान्त, गुणस्तरीय र संगठनलाई चुस्त, दुरुस्त बनाएर पार्टीको संरचना बनाउनुपर्छ । माथिल्लो कमिटीमा बसेकालाई तल्लो कमिटीमा पठाउन मिल्दैन । संक्रमणकालमा नेताहरुको मन मिलाउन लाग्नुपर्छ । महाधिवेशनपछि त काँटछाँट भइहाल्छ ।
नयाँ सकारको मन्त्रिपरिषद् कस्तो हुनुपर्छ ?
सरकार सानो र चुस्त हुन्छ । संवैधानिक व्यवस्था नै २५ भन्दा बढाउन नपाइने भन्ने छ । मुलुकको आवश्यकता र जनताको आवश्यकता पूरा गर्न सक्षम, योग्य मान्छेहरु सरकारमा रहनुपर्छ ।
तपाईंको आफ्नो रहर पनि होला नि त ?
हरेक सांसदहरु मन्त्री बन्न योग्य छन् । तर, सबैलाई पुग्दैन । जहाँसम्म मेरो सवाल छ, म पार्टीले अह्राएको काम कुशलतापूर्वक निर्वाह गर्दै आएको छु । स्याङ्जा त यस्तो कांग्रेस भएको ठाउँ हो, बीपीले आत्मवृत्तान्तमै देशभरी कांग्रेस नभए स्याङ्जा जानु भन्ने लेखिएको छ । स्थानीय तहमा राम्रो नतिजा आयो । जिल्ला समन्वय समिति पनि एक्लै बनाएका छौँ । मेरो नेतृत्व भएको कालमा प्रतिनिधि र प्रदेशसभाका ६ मध्ये ५ वटा जित्यौँ, अर्को पनि जितेकै सरह हो, प्राविधिकरुपमा मात्र हारेका हौं । मलाई लाग्छ, कुशलताको मापन पनि त्यही हो । अब विवेक पु¥याउने काम पार्टी नेतृत्वको हो ।
​सम्बोधनबाट

Related News