पद्मरत्न : फेरि जन्मनुपर्ने मान्छे

दृष्टि न्यूज

श्याम रिमाल । 
सानो कद, ठूलो मुख, चास्सचुस्स दाह्री, पछाडि तलासिएको कपाल, अनुहारमा डण्डीफोरका अलिअलि दाग, गम्भीर मुखाकृति । सामान्य सर्टप्यान्टसको वेशभूषा । राजनीतिज्ञ, साहित्यकार, पत्रकार, नेपालभाषा र नेपाल संवत् आन्दोलनका नायक, मानवाधिकारवादी, शान्ति वार्ताका सहजकर्ता–कति कति छन् उनका परिचय । व्यक्तिबाट संस्था नै बनिसकेका थिए । हास्य नाटक र हास्य निबन्धकार तर रुन अति जान्ने ‘ख्वबिलु’ । उनी स्वतन्त्र वामपन्थी, माले, एमाले, माले, माओवादी सबै बने । कतिसम्म भने ‘जीन्यूज’ र केही पत्रिकालले प्रचण्ड भन्दै तुलाधरको तस्वीर पनि देखाए, छापे । सूर्य चिह्न उनैले शुरु गरेका २०४३ को राष्ट्रिय पञ्चायत सदस्य उम्मेदवार हुँदा–पद्मरत्न तुलाधर–जनताको उम्मेदवार बन्दै । अर्थात् जनपक्षीय उम्मेदवार बन्दा सूर्यद्य रोजे ।  पञ्चायतलाई ‘यस्तो नि व्यवस्था  हुन्छ’ भनी खूब दुत्कारे । विसं २०३७ को जनमतसङ्ग्रह बहिष्कार गरेर गम्भीर भूल गरेको नेकपा (माले) ले पाँच वर्षपछि भने सही निर्णय लिएको थियो परतुलाई रापंमा उठाएर । कुखुराका भाले चिह्न लिएका प्रजातन्त्रवादी वीरेन्द्रभक्त श्रेष्ठ आफ्नो प्रचारप्रसार निकै ढिलो भएकाले जित्न सकेनन् । तुलाधरको वसन्तपुरको सभामा बोलेको भाषण घरघरमा क्यासेटमार्फत पुग्यो । पञ्चायतमा नानीमैयाँ दाहाल जस्ता मात्र सुहाउँछ भन्दै विसं २०३८ को रापंसमा दाहाललाई जिताएको काठमाडौँलीले २०४३ मा भने पञ्चायतविरुद्ध आवाज उठाउन तुलाधरलाई जितायो ।  परतुका  १२ भाइले पञ्चायतविरुद्ध जोडदार आवाज उठाएकाले पञ्चायतको आयु क्षीण भएको थियो । उनलाई बहुसङ्ख्यक नेपाली जनताले चिनेको पनि त्यतिबेलादेखि नै हो । मालेका मानिस भनिएका तुलाधर बहुदलवादी सबैका मानिस भइदिए । 
छयालीस सालको आन्दोलनमा वाममोर्चा बनाउन र नेपाली काँग्रेससँग एकता गरी संयुक्त मोर्चा बनाउन सक्रिय तुलाधर २०४८ र २०५१ मा काठमाडौँबाट स्वतन्त्र तर सूर्य चिह्नबाट प्रतिनिधिसभामा निर्वाचित भई पछिल्लो साल स्वास्थ्य र श्रममन्त्री पनि बने । मन्त्री हुँदा उनले कलैयामा “मुलुक धर्मनिरपेक्ष भएमा  मुसलमानले गाई काटेर खानुहुन्छ” भनेको सुनियो । यसैलाई विरोधीले बङ्ग्याएर “पद्मरत्नले गाई काटेर खानुहुन्छ भनी बोल्यो” भन्दै हल्ला गरे ।  मुलुकमा झण्डै आगो बलेको थियो ।  विसं २०५६ मा तारा हँसिया हथौडाबाट चुनाव लडेका तुलाधर त्यसपछि प्रत्यक्ष राजनीतिबाट अलग रहे । अनि लागे नागरिक आन्दोलन, मानवाधिकार अभियान र शान्तिवार्ता सहजतातिर । माओवादी आन्दोलन र शान्तिवार्ताका बखत दमननाथ ढुङ्गानासँगै जोडी थियो । कसैले दुवैलाई माओवादी पनि भने । 
  नेपाल भाषालाई राष्ट्रिय मान्यता दिलाउन विसं २०३६ तिर नेपाल भाषा मङ्का खलको  नेतृत्व गरेका तुलाधरले  नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाएरै छाडे । नेसंका प्रवत्र्तक शङ्खधर साख्वा राष्ट्रिय विभूति भए भने सरकारी पात्रोमा नेसं लेखिने प्रतिबद्धता पनि आयो, साख्वाको हुलाक टिकट पनि आयो । जातीय पहिचानको नाराका साथ आन्दोलनरत  तुलाधर आदिवासी, जनजाति, मधेसी, मुसलमान, अल्पसङ्ख्यक र महिलाको पूर्ण अधिकारका लागि  अझै कार्यरत थिए । जनजातिहरुको अधिकारका लागि महासङ्घ बनाए, मोर्चा बनाए, अनेक गरे । 
बाबुराम भट्राई पद्मरत्नलाई नेपालरत्न विभूषण दिलाउनुपर्छ भन्थे भने  तीर्थराम डङ्गोल नोबेल शान्ति पुरस्कार । नेपाल संवत्बारे राष्ट्रिय दृष्टिकोण र राष्ट्रिय नीति बनाउनुपर्ने उनको विचार थियो । सोका लागि इतिहासविद्, ज्योतिषी र अभियानकर्मीको कार्यदल बनाउनुपर्ने सुझाव पनि उनको थियो ।  सन्तोषको कुरा के भइदियो भने उनको योगदानको उचित मूल्याङ्कन गरेर लक्ष्मीदास मानन्धरको संयोजकत्वमा नागरिक अभिनन्दन समारोह (२०७५ भदौ ३०) नै गरियो भने  भीमरथारोहण अर्थात् ज्याःजंक्व( २०७५ भदौ १६) पनि गरियो । समारोह समितिले परतु एकमहीने  कार्यक्रम नै गरिदियो । 
कुनै दलमा स्पष्टसँग नलागेका उनले आफ्नो जीवनको उत्तरार्धमा   दुई कम्युनिष्ट पार्टी मिलेकामा जीवनको सबभन्दा खुशीको समय भएको बताए । “कम्युनिष्ट एकता भएको हेर्ने मेरो सपना नै थियो, अब समृद्ध नेपाल हेर्ने  चाहना छ”, उनी भन्थे । नेकपा(एमाले) फुटाउन हस्ताक्षर गरेको र सिके राउतका पक्षमा बोलेको विषय निधनपछि सामाजिक सञ्जालमा आयो ।  पत्रकार तथा राजनीतिक विश्लेषक श्याम श्रेष्ठले चाहिँ ठोकुवा गरेका छन्, “ नेवार समुदायबाट स्वतन्त्र ढङ्गले नेपालको प्रगतिशील रुपान्तरणका क्षेत्रमा लागेका मानिसहरुमा पद्मरत्न तुलाधरभन्दा अग्लो व्यक्तित्व अहिलेसम्म अर्काे कोही देखिँदैन ।” उनको भनाइअनुसार त उनले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई पनि जिते र नेपालको वामपन्थी राजनीतिमा काठमाडौँका रैथाने गणेशमान सिंहजत्तिकै उचाइ राखे । छयालीस सालको आन्दोलन उत्कर्षमा पुगेपछि राजा वीरेन्द्रले चैत २५ गते मध्यराति संविधानबाट दलविहीनता निलम्बन गरेपछि  बहुदलीयताको विजय मानियो ।  दिउँसो चैत २६ गते टुँडिखेलमा भएको विजयसभामा नेपाली काँग्रेसका गिरिजाप्रसाद कोइरालाले “यो सबैको जीत हो, पञ्चको पनि हो” भनेपछि सभाका स्रोता भाँडिए र उनको विरोध गर्न लागे । होहल्ला भयो, उनको भाषण अघि बढ्न सकेन । त्यति नै बेला तुलाधरले माइक लिएर यस्तो भावमा बोले,  “साथी हो म पद्मरत्न बोल्दैछु ।  तपाईँहरु शान्त रहिदिनुहोला, यो जनआन्दोलनको सफलताको सभा हो ।”  त्यसपछि त सभा शान्त भइदियो । तुलाधरको बोलीमा यस्तो तागत थियो । वसन्तपुरमा गत शुक्रबार आयोजित श्रद्धाञ्जलिसभामा तुलाधरकै सहकर्मी मल्ल के सुन्दरले तुलाधरजस्ता व्यक्तित्व फेरि फेरि जन्मनुपर्छ भनी कामना गरे । के यस्ता चमत्कृत व्यक्तित्व उनले भनेजस्तै फेरि जन्मन सक्ला नेपाली भूमिमा या काठमाडौँ खाल्डामा ?     
shyam_rimal@yahoo.com

Related News