​पद्मरत्नलाई फर्केर हेर्दा

दृष्टि न्यूज

रवीन्द्र श्रेष्ठ । बहुआयामिक व्यक्तित्वका धनी आदरणीय पद्मरत्न दाइ हामीमाझ रहनुभएन । अन्याय र उत्पीडनमा परेका नेपाली जनताले एक मिलनसार, सरल र अग्रज नेता गुमाएको छ । अन्याय र उत्पीडनमा परेका जोकोही पनि जब उहाँसँग सहयोग माग्न जान्थे, जस्तोसुकै कठोर परिस्थितिमा पनि पद्मरत्न दाइ सक्दो सहयोग गर्न तयार रहनुहुन्थ्यो । उहाँ दलगत स्वार्थ र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनता र देशको पक्षमा लाग्ने वास्तविक जननेता हुनुहुन्थ्यो । 
अहिले धेरै नेताहरुले पद्मरत्न दाइलाई मानवअधिकारवादी अगुवा, भाषिक र जातिय आन्दोलनका अग्रज तथा शान्तिवार्ताका सहजकर्ताको रूपमा स्मरण गरेका छन् । ती क्षेत्रहरुमा उहाँका योगदानहरु अवश्य पनि उच्चकोटीको रहेको छ, तर त्यो भन्दा पनि ०४६ सालको जनआन्दोलनदेखि जनयुद्धसम्मको सफलताका लागि उहाँले गर्नुभएका योगदानहरु नेपाली जनताको लागि ऐतिहासिक र कठिन कार्यहरु थिए । अन्याय, उत्पीडन र असमानतामा पिल्सिएका बहुसंख्यक नेपाली जनताका लागि उहाँले निरन्तर परिवर्तनकारी पक्षको साथ दिनुभयो । परिवर्तनको पक्षमा लागेका नेताहरु र दलहरु जब सत्तामा पुगेर प्रतिक्रियावादी बन्न लागे, तब ती भूतपूर्व आन्दोलनकारी नेताहरु र दलहरुका विरुद्ध पनि उहाँले डटेर संघर्ष गर्न सिकाउनुभयो र आफू पनि लाग्नुभयो । यस अर्थमा उहाँ जनताका पक्षमा निरन्तर र अविचल क्रान्ति गर्ने एक महान योद्धा र नेता हुनुहुन्थ्यो । 
पद्मरत्न दाइको निधनको खबर सुनेपछि घर पुगेर उहाँले ०४३ सालको चुनावको बेला दिनुभएको ऐतिहासिक र बहुचर्चित भाषणको रेकर्ड फेरि एक पटक सुनेँ । त्यो भाषणको रेकर्ड त्यो बेला गाउँगाउँमा पुगेको थियो र व्यापक रूपमा बिक्री भएको थियो । कुनै नेताहरुको भाषणको रेकर्ड त्यसरी बिक्री भएको नेपालको इतिहासमा पहिलो घटना थियो । ती भाषणहरुले त्यो बेला राजतन्त्र र पञ्चायती व्यवस्थाका विरुद्ध अविचल र निरन्तर संघर्षको लागि लाखौँ नेपालीहरुलाई प्रेरित गरेको थियो । ०३६ सालको जनआन्दोलनको असफलता, जनमत संग्रहमा पञ्चायती व्यवस्थाकै विजय र प्रतिबन्धित दलहरुको निस्क्रियता र टुटफुटले जनता र कार्यकर्ताहरुमा निराशाको लहर छाएको बेला पद्मरत्न दाइका ती भाषणहरुले नयाँ आन्दोलनको शंखघोष गरेको थियो र जनता र कार्यकर्ताहरुमा उत्साहको लहर सिर्जना गरेको थियो । उहाँ कुनै पनि पार्टीको सदस्य हुनुहुन्नथ्यो, तर त्यो बेला प्रतिबन्धित नेपाली कांग्रेस तथा कम्युनिष्ट पार्टीहरु र उदार खालका पञ्चहरुका समेत साझा उम्मेदवारको रुपमा सबैको समर्थन पाउनुभएको थियो । त्यति मात्र नभएर चुनाव बहिष्कारमा रहेका कम्युनिष्ट समूहका कार्यकर्ताहरुको समेत पनि सहानुभूति र नैतिक समर्थन पाउनुभएको थियो । त्यो बेला यो पंक्तिकार चुनाव बहिष्कारको नीति लिएको मोहन वैद्य महासचिव रहनुभएको (प्रचण्ड पोलिटव्युरो सदस्य हुनुहुन्थ्यो) नेकपा (मशाल)को एक जिल्लाको सचिव भए पनि निस्क्रिय चुनाव बहिष्कार भन्दा पद्मरत्न शैलीको चुनाव उपयोग राम्रो हुन्छ भन्ने बहस चलाइएको अहिले पनि सम्झना रहेको छ । त्यही सेरोफेरोमा नेपालमा जनयुद्धको आवश्यकता र त्यसको वैचारिक र व्यवहारिक तथा योजनागत पक्षबारे नेकपा (मशाल) भित्र गम्भीर बहस शुरु भएको थियो । वास्तवमा ०५२ सालमा शुरु भएको जनयुद्ध त्यही बेला शुरु भएको गम्भीर र महान् बहसको परिणाम थियो । पद्मरत्न दाइको चुनावी भाषणहरुमा व्यक्त भएका  उत्पीडनमा परेका जनताको पक्षमा उहाँको बलिदानी भावना र सक्रियताले हामीमा ऊर्जा भरिदिएको थियो । राजनैतिक दलहरुको निस्क्रियता र जनता र कार्यकर्ताहरुमा निराशा छाएको समय तथा पञ्चायती कठोर दमन र प्रतिबन्धको बेला पनि उहाँले जसरी डटेर तत्कालीन सत्ताको सामना गर्नुभयो, त्यसले सबै नेता कार्यकर्ताहरुलाई प्रेरणा दिएको थियो । उहाँले जसरी राष्ट्रिय पञ्चायत नाम दिइएको तत्कालीन संसदमा शासकहरु र तत्कालीन व्यवस्थाको भण्डाफोर गर्नुभयो र क्रान्तिको अपिल गर्नुभयो, त्यसले ०४६ सालको ऐतिहासिक जनआन्दोलनको लागि सकारात्मक आधार तयार गर्न ठूलो मद्दत गरेको थियो । 
०४६ सालको आन्दोलनको तयारीका लागि उहाँको घर आन्दोलनकारी नेताहरुको बैठकस्थल बनेको थियो । विभाजित वाम समूहहरुलाई एक ठाउँमा मोर्चाबन्दी गर्न उहाँले महत्वपूर्ण भूमिका निभाउनुभएको थियो । साथै वाममोर्चा र नेपाली कांग्रेसको बीचमा संयुक्त मोर्चा बनाउन पनि उहाँले महत्वपूर्ण भूमिका निभाउनुभएको थियो । उहाँकै पहलमा गणेशमान सिंह र वाम नेताहरुको संयुक्त बैठक उहाँकै निवासमा भएको थियो, जसले ०४६ सालको जनआन्दोलनको सफलता सुनिश्चित गरेको थियो । 
०४६ सालको जनआन्दोलनपछि नेपाली कांग्रेस र नेकपा (माले) को लहर चल्यो । नेपाली कांग्रेस सत्तामा पुग्यो । नेकपा (माले) र नेकपा (माक्र्सवादी) तथा अन्य समूहहरु मिलेर नेकपा (एमाले) बन्यो र प्रमुख प्रतिपक्षी दल बन्यो । नेपाली कांग्रेसले जनताको अपेक्षाअनुसार सरकार चलाउन सकेन र मध्यावधि चुनावमा नराम्रो पराजय व्यहो¥यो । त्यसपछि ठूलो दलको हैसियतमा नेकपा (एमाले) को सरकार मनमोहन अधिकारीको नेतृत्वमा बन्यो । त्यस सानो र छरितो मन्त्रिपरिषद्मा पद्मरत्न दाइ श्रम तथा स्वास्थ्यमन्त्री बन्नुभयो । उहाँले त्यो बेला बनाएका नीति तथा कार्ययोजनाहरु अझैसम्म पनि लागू भएनन् भन्ने गुनासो उहाँको रहिरह्यो । छोटो अवधि भएकाले उहाँले सो योजना पूरा गर्न पाउनु भएन । भ्रष्टाचार नगर्ने प्रधानमन्त्रीमा मनमोहन अधिकारीको नाम आउँछ भने  भ्रष्टाचार नगर्ने पहिलो मन्त्री पद्मरत्न दाइ नै हुनुहुन्छ । जतिबेला पनि सादा जीवन र जनपक्षीय अडान उहाँको अमर चिनारी बनेको छ । 
त्यति मात्र होइन, नेकपा (माओवादी) बनाएर ०५२ सालसम्म आउँदा पनि रैथाने काठमाडौँको जनतामा पार्टी संगठनको विस्तार हुनसकेको थिएन । संगठन विस्तारका लागि भाषिक उत्पीडन र जातीय उत्पीडनका विरुद्ध पनि सशक्त आवाज उठाउनु पर्दछ र त्यस्ता जनसंगठनहरु बनाउनु पर्दछ भन्ने आवाजलाई नेताहरुले त्यति सुन्न नचाहेको परिणामस्वरुप पनि त्यस्तो भइरहेको थियो । यसका लागि पद्मरत्न दाइको सहयोग लिनु पर्दछ भन्ने कुरा गर्ने बित्तिकै नेताहरुले उहाँ अलि बढी जातीय र भाषिक कुरा मात्र उठाउनुहुन्छ भनेर तर्कने गर्दथे र उहाँको जनपक्षीय समग्र अडानको अवमूल्यन गर्दथे । तर जनयुद्ध शुरु भएपछि भने उपत्यकामा ठूलो संकट आइलाग्यो । मै हुँ भन्ने नेताहरु उपत्यकाबाट भागाभाग गर्न थाले । यहाँको पार्टी संगठन ध्वस्त जस्तै हुन पुग्यो । 



त्यसपछि यो पंक्तिकारले पुनः नेवार समुदायलगायत अरु समुदायको पनि अलग जनसंगठनहरु बनाउनु पर्ने र यसका लागि पद्मरत्न दाइको सहयोग लिनुपर्ने कुरा उठाइयो । बल्ल त्यो बेला उहाँको सहयोग लिएर उपत्यकामा संगठन विस्तारको लागि प्रचण्ड वैद्यहरु तयार हुनुभयो । पद्मरत्न दाइसँगको बारम्बारको भेटघाट, छलफलपछि उहाँकै सल्लाहअनुसार अरु व्यक्तित्वहरुसँग पनि अनेकौं पटक छलफल गरियो । यसैक्रममा प्रा. माणिकलाल श्रेष्ठ, मल्ल के सुन्दर, कवि दुर्गालाल श्रेष्ठ, डा.केशवमान शाक्य, राजभाइ जकमीलगायतका व्यक्तित्वहरुसँग छलफलपछि पद्मरत्न दाइकै घरमा एक बैठक भयो । पार्टीको निर्देशन नेवाः राष्ट्रिय मुक्ति मोर्चा नाम राख्ने भन्ने थियो । तर उहाँहरुले यो नाम कडा भएकाले आफूहरु सल्लाहकार बस्न कठिनाइ हुने बताउनुभयो । पद्मरत्न दाइले नै ‘नेवाःखलः’ नाम प्रस्तावित गर्नुभयो । त्यस नाममा सबैको सहमति भयो र पार्टी निर्णयविपरीत त्यही नाममा मैले पनि सहमति जनाएँ । त्यसरी नेकपा (माओवादी)को जनसंगठन नेवाःखलः बन्यो र पद्मरत्न दाइलगायत उहाँहरु जस्ता प्रतिष्ठित व्यक्तित्वहरु त्यसको सल्लाहकार बन्नुभयो । जनयुद्ध गरिररहेको पार्टीको भातृ संगठनको सल्लाहकारमा उहाँहरु जस्ता व्यक्तित्वहरु बस्न तयार हुनु सानोतिनो कुरा थिएन । यो काम पद्मरत्न दाइको पहल र व्यक्तित्वविना सम्भव थिएन । उपत्यकामा जनयुद्धको आधार तयार गर्न यो कदम एक ऐतिहासिक कोशेढुंगा थियो । सीमित कार्यकर्ताहरुको युद्धलाई वास्तविक रुपमा जनयुद्ध बनाउन नेवाःखलःको निर्माण र पद्मरत्न दाइहरुजस्ता व्यक्तित्वको भूमिका ऐतिहासिक कदम थियो । 

Related News