​विदेश पुग्ने पहिलो पत्रकार

श्याम रिमाल । 
मान्छे बाँच्ने प्रगति युगका धार हौ  धार एक
मान्छे बुन्ने सुकृति कुलका हार हौ हार एक
मान्छे जोड्ने जनजन कला तार हौ तार एक
मान्छे पोस्ने यस जगतका सार  हौ सार एक
(प्रभात सापकोटा, मुक्ति आदर्श देऊ)

सानामा काले भनिए ।  पछि त्यही कालेलाई श्याम भनिए । आखिर काले र श्याम एकै हुन् क्यारे । नाममा के फरक पर्छ र ? मान्छे गान्टे पनि  । सानैमा  टुहुरो । झन्डै ध्रुव जस्तै तपस्वी भइसकेका । तर बाघभालुको डरले समाजसेवा गर्न घर फर्के । बाबु बहादुरशम्शेरको जग्गा सम्हाल्ने, छोरा हिरण्यशम्शेर र सुवर्णशम्शेरका सन्तानसँग सङ्गत गर्ने । हलो पनि जोते परम्पराविरुद्ध । 
राणा विरोधी आन्दोलनमा पर्चा छरेका श्यामप्रसाद पछि त प्रगतिशील लेखक सङ्घका अध्यक्ष नै भए तीन पटकसम्म । धेरैलाई के थाहा, यिनी नेपाली कम्युनिस्ट सङ्गठनका अध्यक्ष पनि, साथीहरु थिए कुलमानसिंह भण्डारी, गोविन्द भट्ट, सुलोचना मानन्धर, शान्तदास मानन्धर, जनकप्रसाद हुमागाईँ आदि । गोपालप्रसाद रिमाललाई प्यारो दाजु मान्थे । जीवनभर आर्थिक अवस्थाले दगल्चाइएका । गायत्रीगुरु कृष्णचन्द्र अर्याल, परममित्र कृष्णलाल अधिकारी । पुष्पलाल, निरञ्जनगोविन्द वैद्य, युद्धप्रसाद मिश्रसँगको सङ्गत त छँदै थियो ।  
यिनको निबन्धलेखनका उत्प्रेरक वीरगन्जका गुरु मुकुटधारी लालदास र पशुपतिभक्त धौभडेल । सेवा, सन्देश, कोसेली, गुनासो,  ज्वाला, तरुण, जनमत, मसाल, हालखबर, प्रकाश, साहित्य, स्वास्नीमान्छे पत्रिका चलाए, सहभागी भए । बागबजारमा ‘यहाँ स्वास्नीमान्छे पाइन्छ’ भनेर सूचना नै टाँसे । जेलमा त स्लेटपत्रिका चलाउँथे । पहिले त हकर पनि भए ।  विसं २०१८ मा नेपाल पत्रकार सङ्घका केन्द्रीय सदस्य भएका उनी २०१९मा हंगेरीको बुडापेस्ट पुगे । पत्रकार प्रतिनिधि भएर । विदेश जाने पहिलो नेपाली पत्रकार मै हुँ भन्थे । धेरै नपढे पनि नेपाली, हिन्दी र अङ्ग्रेजीमा निबन्ध, समालोचना र लेख धेरै लेख्थे, कविता र गीत केही –
मानिस भन्नु विचार–बानी
शोषक–शोषितको,
बानी र विचार लिँदैनौँ हामी
शोषक वर्गको ।
(श्यामप्रसाद, मानिस)

पुनु वाग्ले छाडेर शशिकलातिर, उनी पनि छाडिएपछि छोरीकै घर सम्झनातिर कमल पोखरी । तर आजका सबै प्रगतिशील साहित्यकारका गुरु । रेडबुकका अनुवादक श्यामप्रसाद  विसं २०२४–४७ सम्म भूमिगत । तैपनि ‘सेवक’ जनताका घरदैलामा गए, प्रगतिशील साहित्य लेख्दै गए । विसं २०५१मा सीताराम साहित्य प्रतिष्ठानले दिएको मुक्ति पुरस्कार लिँदा निकै विवाद भयो । रकम भारी नै थियो । प्रलेसका अध्यक्षबाट नै राजीनामा गर्न बाध्य भए पनि । नौ साल गठित प्रलेस २०१६मा धर्मराज थापाको अध्यक्षतमा पुनःगठित–सचिव थिए तारानाथ शर्मा, सदस्य कृष्णचन्द्रसिंह प्रधान पनि ।
साहित्यमा पत्रसाहित्य, यात्रासाहित्य, बालसाहित्य, आत्मपरक साहित्य, समालोचना, सैद्धान्तिक र व्यावहारिक, कविता, गीत आदि तथा साहित्येतरमा राजनीतिक, सामाजिक, धार्मिक, जातीय, शैक्षिक, सांस्कृतिक, स्वास्थ्य,  प्रेम, विवाह, महिला मुक्ति जस्ता अनेक विषयमा सय वटा त किताबै होलान् यिनका । भाषा निकै सरल–बोधगम्य, जीवन निकै सरल, आदर्श, सहनशील, धीर, क्रियाशील, त्यागमय र महानतान्मुख । पुष्पलालले जातीय भावनको विरोध गर्दै श्रेष्ठ थर लेख्न छाडे, श्यामप्रसादले पनि शर्मा लामिछाने छाडे सोही कारण ।  यिनको तँ, तिमी, तपाईँ हजुर निबन्धको नाम नसुन्ने को होला, आत्मकेन्द्रित अनुभूतिको गन्थन, स्वैरकल्पनाको निरुद्देश्य बुद्धिविलास, आदर्शवादी अर्तीशिक्षा र कोरा भावुकताको अस्पष्ट उद्गारबाट पूरै विमुख ।  नेपाली भाषासाहित्यलाई उन्नत शिखरम पु्याउन खोज्ने एक महान् स्रष्टा, युगीन मानवमुक्तिका लागि जीवनभरि सङ्घर्ष गरिरहने महान् चिन्तक श्यामप्रसाद । केही नगद पुरस्कार बाहेक निजी सम्पत्ति नाइँ, ठ्याम्मै समाजवादी । यिनको बारेमा धर्मराज अधिकारीले निकै लेखे, प्रगतिशील नेपाली साहित्यमा श्यामप्रसादको योगदानमाथि विद्यावारिधि नै गरे । जीवनको उत्तराद्र्धमा नेपाल प्रज्ञा–प्रतिष्ठानको आजीवन सदस्य । बिरामी परेका परित्यक्त श्रीमती र उनका श्रीमान्लाई पनि भेट्न जाने स्वभाव ।
खासमा भाषण गर्न जान्ने चाहिँ थिएनन् यिनी, न बौद्धिक कुरा नै यिनबाट हात लागी हुन्थ्यो तर निकै सरल, राजनीति र साहित्य साधनामार्फत आफ्नो व्यक्तित्व उठाए, सबै कम्युनिस्ट र प्रगतिशील साहित्यकारका गुरु बने । गरिब, अस्तव्यस्त जीवन, कम औपचारिक शिक्षाले पनि मानिस ठूलो बन्दो रहेछ, मात्र आफूले ठीक ठानेको बाटामा हिँडिरहनुपर्दाे रहेछ । 
 सबै मिली कोशिश गरे 
शान्ति भई छाड्छ
भाषण छाडी काम गर्ने
लोकप्रिय बन्छ
(श्यामप्रसाद, शान्ति र केटाकेटी)

Related News