​पहिलो चरणमै तीस सिट जित्ने वाम दाबी

काठमाडौं, १२ मंसिर । दुई चरणमा तोकिएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनअन्तर्गत आइतबार हिमाली तथा उच्च पहाडी भेगका ३२ जिल्लाको निर्वाचन सम्पन्न भएको छ । प्रतिनिधिसभाका ३७ र प्रदेश सभाका ७४ स्थानका लागि भएको उक्त निर्वाचनमा बाम गठबन्धनले ८१ प्रतिशतमा विजय हासिल गर्ने प्रक्षेपणहरु भइरहेका छन् । नेकपा एमालेका प्रवक्ता विष्णु रिमालका अनुसार आइतबार सम्पन्न निर्वाचनमा प्रतिनिधिसभाका ३७ मध्ये ३० सिटमा बाम गठबन्धन जित्ने देखिएको छ । अब २१ मंसिरमा हुने १ सय २८ स्थानको निर्वाचनमा पनि वाम गठबन्धनले बहुमत स्थानमा विजय हासिल गर्ने उनको भनाइ छ ।
स्थानीय तहको निर्वाचनको तुलनामा केही मत कम खसे पनि पहिलो चरणको आमनिर्वाचनमा जनताको उत्साहजनक सहभागिता रहेको पाइएको छ र छिटफुट घटनाबाहेक निर्वाचन शान्तिपूर्वक सम्पन्न भएको छ । विगतमा नेकपा एमालेले लिएको राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा लिएको अडानका कारण बाम गठबन्धनको पक्षमा देशैभरि जनउभार देखिएको छ । साथै, नेकपा एमाले र नेकपा माओवादी केन्द्रजस्ता दुई ठूला बाम शक्तिहरु मिलेर निर्वाचनमा होमिएपछि आमजनताले आशा र भरोसाका साथ गठबन्धनलाई लिएका छन् । विगतमा बामपन्थीहरु एकापसमा भिड्दा त्यसको सोझो फाइदा नेपाली कांग्रेसले उठाउँदै आएको थियो ।
ढिलै भए पनि बामपन्थीहरु बीचको एकताले निर्वाचनमा मात्रै विजय सुनिश्चित गरेको छैन, निर्वाचनपछिका ५ वर्षसम्मै स्थिर सरकार दिने आशा आमजनतामा पलाएको छ । मुलुकभर ६७ प्रतिशत जनमत बामपन्थी रुझानको भए पनि यसअघि कहिल्यै बाम शक्तिको बहुमत संसदमा पुग्न सकेको थिएन । बाम गठबन्धन इमानदारीपूर्वक अगाडि बढ्न सक्यो र माओवादी र एमालेबीच पार्टी एकीकरण हुन सक्यो भने त्यसले नेपालको राजनीतिमा देखिएका विगतका विकृति र विसंगतिहरुको अन्त्य गर्दै सुशासन, कानुनी राज र आर्थिक समृद्धि हासिल गर्ने कुरामा दुईमत छैन । यसकारण पनि जनउभार बाम गठबन्धनको पक्षमा देखिएको हो । जलस्रोत, पर्यटन, कृषि र वनजन्य उद्योगहरुको अपार सम्भावना भए पनि राजनीतिक अस्थिरता र विदेशी चलखेलका कारण मुलुकले प्रगति हासिल गर्न नसकेको बुझाइका साथ बाम गठबन्धनका नेताहरुले अबका दिनमा एकता, स्थायित्व र समृद्धिको मूल एजेन्डाबाट विचलित नहुने दृढता सार्वजनिक रुपमा प्रस्तुत गरेका छन् । स्पष्ट मार्गचित्रसहितको साझा कार्यक्रम जनतासामु ल्याएका कारण पनि बाम गठबन्धनको पक्षमा अत्यधिक जनमत देखिएको हो ।  
कांग्रेस नेतृत्वको सरकार बनेदेखि नै थुप्रै अलोकप्रिय, अराजक र स्वेच्छाचारी निर्णय गरेपछि जनतामा आक्रोश र विरक्ति छाएको छ । राजनीतिक नेतृत्वप्रति नै वितृष्णा जगाउने गरी कांग्रेस खुलेआम भ्रष्टाचार, कुशासन र बिचौलियागिरीको पक्षमा उभिँदा रुष्ट बनेको जनमत यतिखेर बाम गठबन्धनमा केन्द्रीकृत बनेको छ । कांग्रेसलाई नै लोकतन्त्रको पर्याय मानेका बुद्धिजीवीहरु यतिखेर केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका प्रशंसक भएका छन् । मूलधारका आमसञ्चार माध्यम कांग्रेस नेतृत्वका भ्रष्ट आचरण र गतिविधिले भरिएपछि कांग्रेस कार्यकर्ताहरुले आफ्नो राजनीतिक परिचय सार्वजनिक गर्दा संकोच मान्नुपर्ने अवस्था आएको छ । राजनीतिक रुपमा स्वतन्त्र रहन चाहने र मुलुकको भलो चिताउने हरेक तह र तप्काका नागरिकले आफ्नो राष्ट्रको विरुद्धमा अन्तर्राष्ट्रिय नाकाबन्दी गरिँदा समेत त्यसको विरोध गर्न नसक्ने शक्तिबाट मुलुकको हित रक्षा हुँदैन भनेर खुला टिप्पणी गर्न थालेपछि कांग्रेसलाई झनै अप्ठेरो परेको छ । कतिपय ठाउँमा कांग्रेसका नेताहरु जनताबाट लखेटिएका छन् ।
पहिलो चरणको निर्वाचनमा आमजनमत बामपन्थी गठबन्धनको पक्षमा देखिएको र कांग्रेस एजेन्डाविहीन भएको कारण नेपाली कांग्रेसका शीर्ष एवं केन्द्रीय तहका नेताहरु समेत असुरक्षित भएका छन् । शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह, गगन थापा, रामशरण महत, अर्जुननरसिंह केसी, प्रकाशरण महत लगायतले निर्वाचन हार्ने करिब निश्चित भएको छ । चुनावमा पराजित हुने चाल पाएपछि कांग्रेसले प्रशासन र पैसाको आडमा चुनाव जित्ने हत्कण्डा अपनाउन थालेको छ । स्थानीय तहको निर्वाचन र पहिलो चरणको आम निर्वाचन दुवैमा कांग्रेसले सत्ताको भरपूर दुरुपयोग गरेको छ । भोजभतेरदेखि आर्थिक चलखेलमा अगाडि देखिए पनि जनमत जोगाउन भने कांग्रेसलाई हम्मेहम्मे परेको छ । बाम गठबन्धन पक्षधर जनमतबाट कायल भएपछि तराईको क्षेत्रीय दल राष्ट्रिय जनता पार्टीले समेत कमजोर चेतनास्तर भएको समुदायलाई आफ्नो पक्षमा पार्न चुरापोतेदेखि तिलहरीसम्मको लोभ देखाउन थालेको छ ।

Related News