पहिलो चरणको निर्वाचन : ३७ मा १२ सिट जित्ने कांग्रेसको दाबी

दृष्टि न्यूज

काठमाडौं, १२ मंसिर । गत मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसले कम्तिमा १५ स्थान जित्ने हिसाब किताब निकालेको छ । वाम गठबन्धनसहित नेकपा एमालेले भने ३७ मध्ये ३० सिट जित्ने दाबी गरेको छ ।
नेपाली कांग्रेसका निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले ३७ वटा निर्वाचन क्षेत्रमध्ये १२ स्थानमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने बताएका छन् ।
खाँणका अनुसार कांग्रेसले सोलुखुम्बु, पाँचथर, मनाङ, हुम्ला, जाजरकोटा, ओखलढुंगा, संखुवासभा, नुवाकोट–१, गोरखा–१ र बाजुरामा जित सुनिश्चित भएको तथ्यांक निकालेका छन् ।
एमालेका प्रवक्ता विष्णु रिमालले ८० प्रतिशत सिट वाम गठबन्धनले जित्ने दाबी गरेका छन् । रिमालको दाबी अनुसार विगतको निर्वाचनमा एमाले र माओवादीको मत विभाजित हुँदै आएकाले ती ठाउँमा कांग्रेसले जितेका थिए । अहिलेको अवस्था त्यस्तो छैन । गत स्थानीय निकायको मतलाई हेर्दा पनि ३७ मा ३० सिट वाम गठबन्धन अगाडि रहेको रिमालको दाबी छ ।
कांग्रेसले आफ्नो जित सुनिश्चित भनेर छुट्याएका १५ जिल्लामध्ये सोलुखुम्बुबाट बलबहादुर केसीलाई उम्मेदवार बनाएका छन् । गत स्थानीय निकायको निर्वाचनमा यस जिल्लाबाट कांग्रेसले १३ हजार १३१, नेकपा एमालेले १३ हजार १७५ र माओवादीले ९ हजार ८३० मत ल्याएको थियो । यो तथ्यांकलाई हेर्ने हो भने वाम गठबन्धनलाई जित्न कांग्रेसले ९ हजार ५९५ मत बढी ल्याउनुपर्ने हुन्छ । विगतमा पनि एमाले र माओवादी विभाजनको फाइदा कांग्रेसले उठाउँदै आएको थियो । यस पटकको निर्वाचनमा पटक–पटक चुनाव जितेका केसीलाई यो क्षेत्रबाट चुनाव जित्न मुस्किल देखिन्छ ।
कांग्रेसले दाबी गरेको अर्को जिल्ला पाँचथर हो । यस जिल्लाबाट कांग्रेसले भीष्मराज आङदम्बेलाई उम्मेदवार बनाएको छ । गत स्थानीय निकायको निर्वाचनमा यस जिल्लाबाट कांग्रेसले २५ हजार ६०६ मत ल्याएको थियो । त्यसैगरी एमालेले बसन्तकुमार नेम्वाङलाई उम्मेदवार बनाएको छ । गत स्थानीय निकायको निर्वाचनमा यो जिल्लाबाट एमाले एक्लैले २८ हजार ०५० मत ल्याएको थियो भने माओवादीले १२ हजार ३७८ मत ल्याएको थियो । पाँचथरमा कांग्रेसभन्दा एमाले १२ हजार ०८३ मतले अगाडि छ ।
मनाङ कांग्रेसले चुनाव जित्ने दाबी गरेको अर्को जिल्ला हो । यस जिल्लाबाट कांग्रेसले टेकबहादुर गुरुङलाई उम्मेदवार बनाएको छ । यस जिल्लामा एमालेको मत कम भएको हुँदा कांग्रेसले जित्ने सम्भावना भने छ ।
त्यसैगरी कांग्रेसले हुम्ला जिल्लालाई पनि आफ्नो जित्ने लिष्टमा राखेको छ । यस जिल्लाबाट कांग्रेसले मंगलबहादुर शाहीलाई उम्मेदवार बनाएको छ । गत स्थानीय निकायको निर्वाचनमा कांग्रेसले ६ हजार २७७, एमालेले ४ हजार २८८ र माओवादीले ५ हजार ८८५ मत ल्याएको थियो । यस जिल्लामा वाम गठबन्धनबाट छिमी दोर्जे लामा उम्मेदवार छन् । गत स्थानीय निकायमा एमाले र माओवादीले पाएको मत जोड्ने हो भने वाम गठबन्धनभन्दा ३ हजार ८६४ मतले कांग्रेस पछाडि छ ।
कांग्रेसले आफ्नो जित सुनिश्चित गरेको अर्को जिल्ला हो जाजरकोट । यस जिल्लामा कांग्रेसभन्दा वाम गठबन्धन १६ हजार ८०४ मतले अगाडि छ । यस जिल्लाबाट कांग्रेसले राजीवविक्रम शाह र वाम गठबन्धनले शक्ति बस्नेतलाई उम्मेदवार बनाएको छ । गत संविधानसभाको निर्वाचनमा कांग्रेसका शाहीले विजय प्राप्त गरेको भए पनि यस पटक एमाले–माओवादी गठबन्धनका कारण शाहीलाई चुनाव जित्न मुस्किल हुने देखिन्छ ।
ओखलढुंगाबाट कांग्रेसले रामहरि खतिवडालाई उम्मेदवार बनाएको छ । दोस्रो संविधानसभाको चुनावमा यस जिल्लाबाट खतिवडाले जितेका थिए । अहिले स्थानीय निकायको निर्वाचन परिणाम अनुसार कांग्रेस वाम गठबन्धनभन्दा ७ हजार २८६ मतले पछाडि छ । यस जिल्लामा वाम गठबन्धनका तर्फबाट यज्ञराज सुनुवार उम्मेदवार छन् ।
संखुवासभामा कांग्रेसका दीपक कार्की उम्मेदवार छन् । दोस्रो संविधानसभाको निर्वाचनमा पनि कार्की कांग्रेसबाट निर्वाचित भएका थिए । तर अहिले कार्कीलाई चुनाव जित्न ६ हजारभन्दा बढी मत चाहिन्छ । गत स्थानीय निकायको निर्वाचनमा यस जिल्लाबाट एमालेले २७ हजार ०७० मत ल्याएको थियो भने कांग्रेसले २६ हजार ९६२ मत ल्याएको थियो । यस जिल्लामा एमालेका राजेन्द्र गौतम प्रतिस्पर्धी हुन् ।
कांग्रेसले नुवाकोट १ बाट पूर्वअर्थमन्त्री डा. रामशरण महत, गोरखा–१ बाट चिनकाजी श्रेष्ठ र बाजुराबाट कविराज पण्डितले जित्ने दावी गरेका छन् । तर, यी जिल्लामा पनि वाम गठबन्धनको मत कांग्रेसको भन्दा बढी भएकोले कांग्रेसले भनेझै सजिलै चुनाव जित्न भने गाह्रो छ । त्यसमाथि पछि थपिएका नयाँ मतदाता अहिलेको निर्वाचनको निर्णायक हुन् । जसमा अधिकांश युवा, विद्यार्थी एमाले निकट छन् ।

Related News