​पाक–बंगलादेशसँगको सीमा बन्द गर्दै भारत


काठमाडौं, १३ चैत । छिमेकी मित्रराष्ट्र भारतले पाकिस्तान र बंगलादेशसँगको सीमा बन्द गर्ने गृहकार्य अघि बढाएको छ । भारतीय गृहमन्त्री राजनाथ सिंहले पाकिस्तान र बंगलादेशसँगको सीमा बन्द गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् । राजधानी दैनिकमा खबर छ ।

आतंककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्न ती दुई देशसँगको सिमा नाका बन्द गर्नुपर्ने गृहमन्त्री सिंहको भनाइ छ । ‘भारतले पाकिस्तान र बंगलादेशसँगको सीमा सम्भव भएसम्म छिटो बन्द गर्ने योजना बनाइरहेको छ । यो आतंकवाद र शरणार्थी्विरुद्ध चाल्ने भारतको प्रमुख कदम हुनेछ,’ गृहमन्त्री सिंहले भनेका छन् । मध्यप्रदेशमा रहेको बोर्डर सेक्युरिटी फोर्स (बीएसएफ) एकेडेमीबाट तालिम पूरा गरेका बीएसएफ अधिकृतलाई सम्बोधन गर्दै गृहमन्त्री सिंहले पाकिस्तान र बंगलादेशसँगको सीमा बन्द गर्ने अन्तिम तयारी भइरहेको प्रस्ट पारेका हुन् । ‘पाकिस्तानसँगको सिमाना आउँदो सन् २०१८ देखि नै बन्द हुनेछ, घुसपैठ बढ्दै गएकाले यस्तो निर्णय लिइएको हो,’ उनले भने ।

गृहमन्त्री सिंहले यसलाई केन्द्रीय स्तरबाट गृहसचिवले र राज्य स्तरबाट बीएसएफ र मुख्यसचिवले अनुगमन गर्ने जानकारीसमेत गराए । भारत सरकारले सीमा बन्द गर्न हुने प्राविधिक कठिनाइको समाधान गर्ने गृहमन्त्री सिंहको भनाइ छ । उनले भारतको सीमा रक्षाका लागि बीएसफएले खेलेको भूमिकाको उच्च प्रशंसासमेत गरे । गत वर्षभर नै भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा भएको विवादका क्रममा दर्जनौं निर्दोष नागरिकका साथै सुरक्षाकर्मी मारिएका थिए । भारतले पाकिस्तानसँगको अन्तर्रा्ष्ट्रिय सीमा बन्द गर्ने बताए पनि नियन्त्रण रेखाका विषयमा कसरी निर्णय लिन्छ भन्नेबारे गृहमन्त्री सिंहले केही खुलाएका छैनन् । भारत र पाकिस्तानबीच एउटा अन्तर्रा्ष्ट्रिय सिमाना रहेको छ भने अर्को काश्मीरमा नियन्त्रण रेखा रहेको छ ।

Related News