​पिएका कारण मन्त्री बदनाम

काठमाडौं, ३१ असोज । शेरबहादुर देउवा सरकारका मन्त्रीहरु जतिसक्दो कमाउने होडमा छन् । नियम कानुन र निर्वाचन आचारसंहितालाई कुल्चंदै पैसा लिएर कर्मचारी सरुवा गर्न खोज्दा वनमन्त्री विक्रम पाण्डे विवादमा परेका छन् । उनले सरुवामा पैसा मोलमोलाईका लागि राखेका पीएहरु प्रेम बलायर र राजु भण्डारीले तराईका जिल्लामा विवादास्पद र बदनाम जिल्ला वन अधिकृत(डीएफओ)हरुलाई सरुवा गर्न दबाब दिएपछि मन्त्रालयका सचिव प्रकाश माथेमाले रोेकेका छन् । पीएहरुले घुस लिंदै सरुवा गरेको सूचना पाएपछि सचिव माथेमा र प्रशासन महाशाखाका सहसचिव ज्ञानेन्द्र पौडेलले सरुवा रोकेका छन् । 
वनमन्त्री पाण्डेका पीएहरु बलायर र भण्डारीले निर्वाचनको मुखमा आर्थिक लेनदेन गर्दै डीएफओ, सहायक वन अधिकृत(एएफओ) र रेन्जरको सरुवा गर्ने सूची बनाएका थिए । तर सचिव माथेमाले रोकेपछि पीएहरुको भागाभाग भएको छ । ठेकेदार मन्त्री विक्रम पाण्डे आफू कमाउन मन्त्री भएको होइन भन्ने तर भूमिसुधारदेखि वनमन्त्री भएपछि पनि कर्मचारी सरुवामा समेत रकम उठाउन पीएहरुलाई लगाउने गरेको छ । वनमन्त्री पाण्डेका पीएहरुले भूमिसुधारमा नापी र भूमिसुधार ब्यवस्थापन विभागको महानिर्देशकले सरुवाबाट ठूलो रकम दिएका थिए, वन त झन् आकर्षक ठाउँ होइन भन्दै वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यलाई पटक–पटक दबाब दिएपछि उनले ४५ जना डीएफओदेखि रेन्जरसम्मको सरुवाका लागि मन्त्रालयमा सिफारिस गरेका थिए । विभागले पीएहरुको दबाबमा काठमाडौं, बाँके, मकवानपुर, सिन्धुली, झापा, पाँचथर, डोटी, दार्चुला, जुम्ला, कञ्चनपुर, बझाङ, सुर्खेत, दैलेख, जाजरकोट, रुकुम, पाल्पा, स्याङ्जा, तनहुँ, बागलुङ, गोरखा, तेह्रथुम, संखुवासभा, खोटाङ, सोलुखुम्बुलगायतका जिल्लामा डीएफओ सरुवा गर्ने प्रस्ताव गरेको थियो । 
भूमिसुधार मन्त्री हुँदा पाण्डेले घुस नदिएपछि भूमिसुधार ब्यवस्था विभागका महानिर्देशक कपिल डंगोललाई २ महिना नै नपुगी काजबाट दरबन्दी नै नबनाई अपमानपूर्वक सरुवा गरेका थिए । र, टीकाराम घिमिरेलाई महानिर्देशक बनाँएका थिए । टीकाराम घिमिरे डिल्लीबजार मालपोत कार्यालयको प्रमुख हुँदा बालुवाटारस्थित सभामुख निवाससँगै जोडिएको १ सय ४७ रोपनी समरजंग कम्पनीको सरकारी जग्गा गुठी कायम गरी मालामाल भएका सहसचिव हुन् । उनले मीनबहादुर गुरुङसहितको मिलेमतोमा उक्त जग्गा गुठीको बनाएर नक्कली मोही खडा गरी बीसौं करोड रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेका छन् । 

Related News