ज्योतिषीकी छोरी बैँसमा राँड

एक दिन बुद्ध कालम समुदायको गाउँ केशपुत्तमा देशना गरिरहेका थिए । एक युवकले सोधे, ‘यहाँ थुप्रै धार्मिक समूह आउँछन् । सबैले आ–आफ्ना धर्मलाई सर्वश्रेष्ठ भन्छन् । हामी कसको कुरा पत्याऊँ भिक्षु ?
बुद्धले भने, ‘हे युवक, कसैले राम्ररी भन्दैमा नमान । कुनै पावन ग्रन्थमा लेखिएको छ भने पनि नमान । कुनै सम्माननीय गुरु वा नेताले भनेको छ भने पनि नमान । तथागत बुद्धकै वचनलाई पनि नमान । कुनै पनि कुरा मान्नुअघि आफैँ जान । केबल त्यही कुरा मान जो तिम्रो तर्क र बुद्धिको कसौटीमा ठीक ठहर्छ ।’
सुकरात, बुद्ध, गान्धीदेखि आधुनिक युगका महापुरुषहरूले आत्मज्ञानमा जोड दिए पनि मानव समाज अझै सभ्यताको शैशवकालमै रहेको प्रतीत हुन्छ । नत्र, नरबलि दिने, बोक्सी प्रथाका नाममा मान्छेको ज्यानै लिने, गाउँ निकाला गर्ने, दिशा खुवाउने र अंगभंग गर्ने खालका गतिविधि बारम्बार हुने थिएनन् । मान्छेका यी अमानवीय प्रवृत्ति देख्दा हरेक घटनामा सभ्यतामात्र होइन, लाज स्वयं लजाउन थालेको धेरै भइसक्यो ।
तन्त्रमन्त्रको जालो
केही अघि नवलपरासीमा आफ्नो छोराको रोग निको पार्न भनी छिमेकीकै अर्का बालकको बलि िदिएको आएको थियो । यो आफैँमा आतंक र अत्यास सिर्जना गर्ने खबर थियो । दुई वर्षअघि पर्साको सुपौली गाविसमा ‘बोक्सी–भेदन’ गरेको आरोप लगाई आततायीहरूले पार्वती चौधरी नामकी प्रौढालाई कुटेरै मारिदिए । हाम्रो देशमा यस्ता घटना दिनदिनैजसो भइरहेका छन् । अलि वर्षअघि पर्साकै एक गाउँमा बोक्सीको आरोप लगाई एक महिलालाई दिसा खुवाइयो । अलि वर्षअघि राजधानीकै जोरपाटीमा बोक्सी आरोपित महिलामाथि सांघातिक हमला गरियो । यसरी कतिको ज्यानै लिइएको छ । कतिलाई गाउँ निकाला गरिएको छ । कसैका हातखुट्टा भाँचिएको छ । धेरैजसो आरोपितलाई दिसा खुवाइएको छ । कतिलाई भिरबाट खसालिएको छ । कति घटनामा झाँक्रीहरूले दोषी बकाउने नाममा यातना दिएर बिरामीकै ज्यान लिएका पनि छन् । तीमध्ये अधिकांश घटना मिडियामा आएकै हुँदैनन् । मिडियाले थाहा पाएसम्म यस्ता घटनाको पर्दाफास गर्दै आएको छ । उता दलितलाई मारिएका, क्रूरतम यातना दिइएका, बलात्कारको प्रयास भएका खबरहरू उत्तिकै सुनिन्छन् । लाग्छ, हाम्रो सभ्यता आदिम युगमै छ ।
‘वैद्यको छोराको गलामा गाँड, ज्योतिषीकी छोरी बैँसमा राँड’ भन्ने उखान त्यसै बनेको होइन । आधुनिक विज्ञानको युगमा फलित ज्योतिषी, झाँक्री विद्या, जन्तरमन्तरको कुनै अर्थ छैन । हुँदो हो त वैद्यको छोराको गलामा गाँड कहिल्यै आउने थिएन । कुनै पनि ज्योतिषीकी छोरी बैँसमा विधवा हुनुपर्ने थिएन । वैज्ञानिक दृष्टिले भूतप्रेत वा बोक्सीको सत्ता कुनै पनि हिसाबले साबित हुँदैन । मानसिक रूपमा अत्यन्त कमजोर व्यक्तिले मात्र भूतप्रेत वा बोक्सी देखेको दाबी गर्छन् ।
सभ्यता विकासको प्रारम्भिक युगमा प्रत्येक जाति अमानवीय र अलौकिक तत्वको कल्पना गर्थे । यी तत्व सौम्य, क्रूर वा दुवै गुणले युक्त भएको मानिन्थ्यो । यही कारण अविकसित र पिछडिएका जातिमा भूतप्रेतको उपासना, मान्यता र भयको भावना जति प्रबल हुन्छ, त्यति सभ्य देश र शिक्षित समुदायमा हुँदैन । अधिकांश नेपाली यी अलौकिक तत्वको अस्तित्वमा विश्वास गर्छन् । आदिवासी, अशिक्षित र अविकसित समुदाय दु:ख नदिऊन् भनेर भागशान्ति वा मन्छने काम गर्छन् । सनातन धर्ममा विश्वास गर्ने पढेलेखेका मानिसले पनि यस्तो अन्धविश्वासको विस्तारमा भूमिका खेलेका छन् । यसको मूल आधार हाम्रा धर्मग्रन्थ र प्रचलित लोककथाहरू हुन् । भूतप्रेत शब्द प्राय: मरेका व्यक्तिको कथित आत्माका लागि प्रयोग गरिन्छ । यिनै भूतका पनि स्थानपिच्छे अनेक जाति भएको मानिन्छ । बोक्सीले भूतप्रेत उठाएर मान्छेमाथि लगाइदिने वा आफैँले चुसेर बिस्तारै बिरामीको प्राण हर्ने अन्धविश्वास गरिन्छ । वैद्य वा झाँक्रीले चाहिँ बिरामीलाई तिनीहरूबाट पन्छाएर निको पार्ने दाबी गर्छन् ।
कसरी फैलिन्छ ?
बोक्सी, भूतप्रेत बाधाको आशंका मानिसहरू त्यतिखेर गर्छन् जब थुप्रै उपचार गर्दा पनि बिरामीलाई ठीक हुँदैन । खासगरी अशिक्षित, आदिवासी र पिछडिएका समुदायमा यस्तो अन्धविश्वासको जरा गाडिएको पाइन्छ । यस्तो अन्धविश्वास त्यतिखेर बलियो हुन्छ जब देशका शिक्षित, धनीमानी र नेताहरू नै तान्त्रिकको शरणमा पुगेका खबरहरू आउँछन् । भूतप्रेत र बोक्सीबाधाबाट अधिकांश महिला र बालबालिका पीडित भएको सुनिन्छ । अनेक फोयिबा भएका कतिपय व्यक्ति आफूमाथि देवी वा देवता चढेको ठान्छन् । मानिसहरू उसको पूजा गर्न थाल्छन् । कमजोर मानसिकताका व्यक्तिहरू शंकालु हुनु स्वाभाविकै हो । कसैले जादूटुना लगाएर बाँझी बनाएको कुरा सुनाए भने नि:सन्तान महिला तुरुन्तै विश्वास गर्छन् र झारफुक र जन्तरमन्तरको चक्करमा फस्छन् ।
अर्कातिर ‘देवता चढ्ने’ व्यक्तिको दिमागमा शंका लागेको व्यक्तिको नाम पहिलेदेखि नै घुसेको हुन्छ अनि अवचेतनमा उसले त्यस्ता व्यक्तिको हुलिया र घरको अवस्थिति बताउँछन् । जन्तरमन्तरवाला मान्छेको यही कमजोर मानसिकताको फाइदा उठाउँछन् । परिणाम के हुन्छ भने पशुपन्छीको बलि चढाउने, अन्नपानी र सम्पत्ति स्वाहा गर्ने काम हुन्छ । कतिपयले भूत प्रसन्न गर्ने नाममा आफ्नै बालबालिकाको समेत बलि दिएका घटना प्रकाशमा आएका छन् ।
सन्त कविरदास भन्छन्, ‘तन्त्रमन्त्र सबै झुटा हुन् । कोही भ्रममा नपर्नू ।’ दयानन्द सरस्वतीका अनुसार मन्त्रमा आगो लगाउने शक्ति भए पहिला त्यही जिब्रोमा आगो लाग्छ जसले मन्त्र उच्चारण गर्छ । मन्त्रका शब्दहरू कुनै पनि दृष्टिले अर्थपूर्ण हुँदैनन् । तिनमा कुनै शक्ति छैन । श्रीलंकाका डा. कोबुरले चमत्कारी बाबा र तान्त्रिकहरूलाई आफ्नो चमत्कार सिद्ध गर्न चुनौती दिएका छन् । कसैले पनि उनको चुनौती आँट गर्ने साहस गर्न सकेका छैनन् । तथापि, यिनै निरर्थक कुरा हाम्रो संस्कृतिको अभिन्न अंग बनेको छ । जीवनभरको कमाइ यसमै स्वाहा गरिन्छ र यस्ता साधनाका लागि विचित्र क्रियाकलाप भइरहेको हुन्छ ।
जनकलाल शर्माको किताब ‘हाम्रो समाज एक अध्ययन’ का अनुसार तन्त्रमन्त्रमा चोलियामार्गी र बीजमार्गीजस्ता अत्यन्त अश्लील एवं घृणास्पद संसर्गजन्य प्रथासमेत छन् । चोलियामार्गीहरू कृष्ण र गोपिनीको अभिनय गर्दै रासलीला गर्छन् । लुगा फुकाल्दै जाँदा जुन महिलाको चोलो जुन पुरुषको हातमा पर्छ, नातामा बाबुछोरी नै भए पनि उनीहरू संसर्ग गर्छन् । बीजमार्गी भने गुरुको वीर्यलाई पञ्चामृत मानेर बाँडेर खान्छन् । यसरी ज्ञान प्राप्त हुन्छ भन्ने तिनको विश्वास हुन्छ ।
खासमा जन्तरमन्तर कुनै समयका धूर्त मानिसहरूको दिमागको उपज थियो । पछि त्यो संस्कृतिको अभिन्न अंग बनिदियो । यो विश्वास निरर्थक हो भन्ने सबैभन्दा ठूलो प्रमाण अधिकांश तान्त्रिक, वैद्य वा कथित बोक्सीकै दीनहीन स्थिति हेर्दा प्रस्ट हुन्छ । अदृश्य शक्ति भए कथित बोक्सी गरिब र दीनहीन हुँदैनथे । कसैलाई पनि त्यति दीनहीन जिन्दगी बिताउने रहर हुँदैन । तान्त्रिक वा बाबाहरूले सानातिना चमत्कार गरेर देखाएपछि मान्छे अझै अन्धविश्वासमा फस्दै जान्छन् । तर, तिनले जानीनजानी सानोतिनो विज्ञानकै सहारा लिएको बुझ्ने हो भने यो भ्रम तोड्न सजिलो पर्छ । जस्तो कि बाबा वा तान्त्रिकहरूले सिक्काबाट बिगुत निकाल्ने, चुटकी बजाएर औँलाबाट धुवाँ निकाल्ने, आगो खाने, आगोमाथि नाच्ने, मनको भेद बुझ्ने, जिब्रोमा त्रिशूल छेड्ने, अग्निस्नान गरेका देखिन्छन् । यी सबै चमत्कार होइनन्, मात्र विज्ञानका खेल हुन् भन्ने बुझाउन अभियान चलाउनु जरुरी छ । - See more at: http://www.drishtinews.com/?p=9702#sthash.kdOhYku0.dpuf

Related News