​राष्ट्रिय विजय उत्सव, पाल्पाको भगवती जात्रा

निर्मल श्रेष्ठ । नेपालको राज्यविस्तार अभियानमा नेपालको दर्विलो सैन्यशक्तिलाई देखेर उत्तरको चीन र दक्षिणको कम्पनी सरकारलाई असह्य भएकोे थियो । नेपालको बढिरहेको कदमलाई कसरी थाम्ने भन्ने सोचमा उनीहरु थिए । राज्यविस्तार अभियानमा पश्चिम काँगडादेखि पूर्वमा टिस्टासम्म बृहत नेपाल कोरिएको थियो । ई.सं. १८०९ अगष्ट २४ तारिखको दिन काँगडाको किल्ला छोड्नु परेपछि  राज्यविस्तार अभियान थामियो । तापनि पूर्वमा टिस्टा नदीदेखि पश्चिममा सतलजसम्म नेपालको अधिपत्य कायम नै थियो ।
‘जति सक्दो हाम्रो ब्रिटिस अधिराज्यको गौरव बढाउदै जहाजरानीको विकास र विस्तार साथै व्यापारमा प्रगतिको खातिर .......’ भन्ने उद्घोषका साथ सन् १६०० डिसेम्बर ३१ तारिखका दिन ऐलिजावेथ प्रथमबाट व्यापार गर्ने हस्ताक्षर सहितको अधिकारपत्र (चाटर्ड) प्राप्त गरेकोे ‘ईस्ट इण्डिया कम्पनी’ले सन् १८१२ सम्म एकक्षत्र व्यापार गर्दै आएको थियो । तर ई.सं. १८१३ मा अधिकारपत्र      (चार्टर) नवीकरण गर्दा बृटिस संसदले ईष्ट इण्डिया कम्पनीलाई भारतमा व्यापार गर्ने एकाधिकारलाई समाप्त पार्र्दै चीनसँगको व्यापार र चिया व्यापारको एकाधिकारमा मात्र खुम्चाइ दियो । 
चीन जाने बाटो र चिया खेती योग्य भूमि बृहत नेपालको सरहद भित्र पर्दथ्यो । यी दुई कुराहरु नेपालबाट सहजै प्राप्त गर्न सकिन्न् भन्ने छनक पाएका बृटिशको ‘इकोनोमिक इञ्जन’को रुपमा रहेको ईष्ट इण्डिया कम्पनीले कपट गरेर भएपनि ती भू–भागलाई हासिल गर्नतिर लागेको थियो । वि.सं.१८०१ सालदेखि १८६९ सालसम्म एकैनास चलेको राज्यविस्तार अभियानमा राष्ट्रसेनाले ६८ वर्षसम्म एकपछि अर्को गरी ७८ वटा लडाई लडी सुस्ताएको सैन्य शक्तिलाई ध्यानमा राखी पूर्वका एकसय बाईसवटा गाउँ लगायत बुटवल र स्यूराजको विषयमा निउँ झिकी सन् १८०१ मा कम्पनी सरकार र नेपाल सरकार बीच भएको सन्धिको धारा ५ मा व्यवस्था भए अनुसार ‘दुई देश बीच कुनै सीमा सम्वन्धि विवाद उठ्यो भने यही धारालाई आधार मानी समस्या समाधान गर्न सकिने’ भन्ने प्रावधान हुँदा हुँदै पनि यसलाई लत्याइ कम्पनी सरकारले १ नवम्बर १८१४ का दिन नेपाल उपर एकतर्फा युद्ध घोषणा ग¥यो । 
चार ठाउँमा भएकोे युद्ध, नेपालकोे पक्षमा हुन सकेन । तर पाल्पा नाकामा भएको बुटवल जीतगढी युद्धमा नेपालको विजय हासिल ग¥यो । “लडाई त हतियारले होइन, विचारले लडिन्छ” भन्ने मुलमन्त्र बोकेका नेपाली सेनाले कम्पनी सरकारलाई एक पटक होइन, पटक पटक हराइ, भगाइ नेपालको राष्ट्रियता, राष्ट्रिय गौरव र राष्ट्रिय वुजुदलाई जगेर्ना गरेको थियो । युद्धमा विजयश्री प्राप्त गरेपछि कर्णेल उजीरसिंह थापाले लडाईमा जानु अघि तानसेनको मध्ये भागमा रहेको सोह्रवाहु भएकी महिषाशुर मर्दिनी भगवतीको मूर्तिको पाउ छोएर भाक्कल गरेका थिए । भाक्कल बमोजिम वि.सं. १८७२ मा शुरु गरी १८७६ मा निर्माण पूरा गरिएको मन्दिरमा प्रस्तरको सो मूर्तिलार्ई गर्भमा पारी अठारवाहु भएकी अष्टधातुले बनेको महिषाशुर मर्दिनी भगवतीको मूर्ति स्थापना गरिएको थियो । श्री ७ रणउजीरेश्वरी भगवती माईकोे नामले १९७ वर्षदेखि चलिआएको यस रथजात्रा डिफरेन्ट मात्र होइन इनडिफरेन्ट रहेको छ । यो जात्रा धार्मिक आस्थामा मात्रै होइन, समरभूमिमा विजयश्री हासिल गरेकोे सम्झना साथै राष्ट्रियता, राष्ट्रिय गौरव र बुजुदसँग गाँसिएको छ । श्री ७ रणउजीरेश्वरी भगवतीमाईको रथजात्रा तानसेनेलीहरुको मात्र होइन, पाल्पालीहरुको मात्र पनि होइन, यो आञ्चालिक मात्र पनि होइन, यो जात्रा ता राष्ट्रियता, राष्ट्रिय गौरव र राट्रिय वुजुदसँग गाँसिएकोले योे रथयात्रा राष्ट्रिय पर्व हो ।  
कम्पनी सरकारसँग भएको युद्धमा नेपालले धेरै भू–भाग गुमाउनु प¥यो । सुगौली सन्धिपछि नेपाल, मेचीदेखि महाकालीको बीचमा पिरुङ्गियो । हामीलाई बीच बाटो मै छोड्ने अवध, अवध रहेन । पञ्जाब केशरी रणजीतसिंहले हामीलाई छाडि कम्पनी सरकारसँग साइनो गाँसे पनि आप्mनो राज्य कायम गर्न सकेनन् । अझ साच्चै भन्नु पर्दा हामीसँग अनाहकमा सेखी गर्ने कम्पनी सरकारले सदियौदेखि भारतको १,३३,००० स्क्वायर माइल भू–भागमा हैकम जमाइ आई रहेका थातथलो सन् १८५७ को गरदपछि बृटिश ताजलाई बुझाउँदै आपूm “इष्ट इण्डिया कम्पनी” इतिहासको पानामा समेटिन पुग्यो । तर नेपाल अहिले पनि नेपाल नै भई विश्वमा आप्mनो गौरव उच्च राख्दै आएको छ । 
आज हामी देशको सीमाना, वाह्य हस्तक्षेप र नदी नालामा राष्ट्रियता खोजिरहेका छौ । दुःखको कुरा यसबखत युवाहरुमा आप्mनो गौरवमय इतिहास केलाउन जाँगर छैन । उदासिन छन् । राष्ट्रिय गौरवको जानकारी लिने कुरामा समय छैन । एग्लो नेपाल वारमा कम्पनी सरकारलाई छुत्ति खेलाएको, सन् १८५७ को गरदमा अँग्रेजको नाक जोगाइ दिएको साथै प्रथम र दोश्रो विश्व युद्धमा अँग्रेजलाई सघाएकोे गौरवशाली इतिहासको पाना पल्टाउन फुर्सद छैन । नेपालको राष्ट्रियता, स्वाभिमान र राष्ट्रिय गौरवलाई हाम्रा पुर्खाहरुले कसरी जगेर्ना गरे ? कति रगत पसिना बगाए ? यस विषयमा खोजी गर्ने पटक्कै चाहना छैन । 
अब नयाँ सोच र नयाँ क्षितिजको खोजी गरीमा रणभेरीको नादसँगै उठने श्री ७ रणउजीरेश्वरी भगवती जात्राको बीच राष्ट्रियतालाई गौरवशाली इतिहासको आरनमा सेक तापले स्पात बनाउँदै यस भगवती मन्दिर र यसको परिसरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गरी विश्वसामु पहिचान गराउनु आजको आवश्यकता हो । दुईसय वर्ष अघिको इतिहाससँग यो जात्रा जोडिएको छ । कर्णेल उजीरसिंह थापाले निर्माण गरेको बेजोड कला कौशलले खामिएको तीन तले मन्दिरको पुरानै ढाँचामा अहिलेको मन्दिरलाई पुनर्निर्माण गरी यसको महिमा एवम् महत्वलाई अन्तर्राष्ट्रियकरण गर्नु आजको खाँचो हो । साथै अहिले कित्ता नं. २८४ क्षेत्रफल ४ रोपनी ५ आना १ पैसा २ दाम क्षेत्रफलमा श्री ७ रणउजीरेश्वरी भगवती माईको मन्दिर र परिसर साँगुरिएको  छ । मन्दिर परिसरले चर्चेको पुरानैे क्षेत्रफल कायम गरिएमा खुबै जाती हुने थियो । राष्ट्रियता, स्वाभिमान र राष्ट्रिय वुजूदसँग सादृश्यता रहेको यस श्री ७ रणउजीरेश्वरी भगवती माईको जात्रालाई आन्तरिक र वाह्य जगतमा जानकारी गराउन खोजिएको छ । यस लर्कनलाई तय गर्न पुरानै ढाँचामा मन्दिरको पुनर्निर्माण गर्नुका साथै परिसरलाई पुरानै क्षेत्रफलमा कायम गरियो भने ‘पाल्पाको भगवती जात्रा’लार्ई राष्ट्रियताको प्रतीकको रुपमा विकास गर्न सकिने छ ।  
 

Related News