इंग्ल्यान्डद्वारा पानामामाथि ६–१ को फराकिलो जीत

दृष्टि न्यूज

काठमाडौं । विश्वकपको समूह ‘जी’अन्तर्गत खेलमा इंग्ल्यान्डले पानामामाथि ६–१ गोल अन्तरले फराकिलो जीत हासिल गरेको  छ । इंग्ल्याण्डका लागि टोली क्याप्टेन ह्यारी केनले पानामाविरुद्ध आइतबारको खेलमा ह्याट्रिक गरेका छन् दुई गोल जोन स्टोनले गरे । त्यस्तै, एक गोल जेसी लिङगार्डले गरेका थिए । 
इंग्ल्यान्डका लागि स्टोनले आठौँ मिनेट र ४०औँ मिनेटमा गरी दुई गोल तथा क्याप्टेन केनले खेलको २२औँ र ४६औँ र ६२औँ मिनेटमा गरी तीन गोल गरेका थिए । त्यस्तै, लिङगार्डले ३६औँ मिनेटमा गोल गरेका थिए । 
पानामाका लागि शान्त्वना गोल खेलको ७८औँ मिनेटमा फिलिप बलोयले गरे । यससँगै दक्षिण अमेरिकी देश पानामा र अफ्रिकी मुलुक ट्यूनिसियाको यसपटकको विश्वकपमा अघि बढ्ने बाटो रोकिएको छ । तर, इंग्ल्याण्ड र बेल्जियमले भने अन्तिम १६ समूहमा खेल्न पाउने पक्का भएको छ । आइतबारको दोस्रो खेल एशियाली मुलुक जापान र अफ्रिकी मुलुक सेनेगलबीच (साँझ ८ः४५) हुँदैछ । तेस्रो खेल पोल्याण्ड र कोलम्बियाबीच राति ११ः४५ मा हुनेछ ।

Related News