पनौतीमा पलाती

श्याम रिमाल

श्याम रिमाल । विसं २०७० कात्तिक– भीमेश्वर नगरपालिकामा काम नभएपछि हामी बिहान दोलखा भीमसेनको दर्शन गरी सवा आठ बजेको बसमा फर्कियौँ । हतार पनि थियो, टिकट मिलाउनेले टिकट हातमा दिएका पनि थिएनन् । नगरपालिका कट्न लाग्दा खलाँसी टिकट माग्छ, हामीसँग छैन । पछाडिका  यात्री कोहीसँग होला हाम्रो संयुक्त टिकट भन्नेमा थियौँ हामी तर अहँ । खलाँसीले ओराली छाड्यो चरङ्गे खोलानिर । धेरैबेरपछि मात्र हाम्रो बस आयो र सन्तोष भयो । हरियाली हेर्दै आयौँ । लाँकुरीडाँडा आएपछि गएको फूलपातीका दिन दुर्घटनामा परेको गाडी भिरमुनि देखियो । काठमाडौँबाट आएको बस मुढेमा खाना खाएर हिँड्दा खरीढुङ्गा नाघेर लाँकुरीडाँडाबाट ओर्लिँदा सानो भासिएको ठाउँमा पाङ्ग्रा पर्दा लच्किएछ । चालकले गाडीको सन्तुलन नमिलेको ठानेर ढ्याक्क ब्रेक लगाएछन्, गाडीले झन् सन्तुलन गुमाएछ र भिरतिर लाग्यो । दस जनाले ज्यान गुमाए । त्यहीबेला केही मानिसले उद्धार गर्नाको साटो यात्रुको गोजी पो छामेका थिए भन्ने कुरा चरङ्गेमै कसैले हामीलाई सुनाएको थियो । सोही प्रवृत्ति मैले त्रिशूली नदीमा दुर्घटना हुँदा पनि हुने गरेकोे सुनेको थिएँ । 
तिहार आउन केही दिन बाँकी थियो, ठाउँ ठाउँमा दलका चुनाव चिह्न झुन्ड्याइरहेको देखियो । सयपत्री, गोदावरी र मखमली फुलिरहेका । घाम झलमल्ल, जता हे¥यो, उतै जङ्गल । दोलखा र सिन्धुपाल्चोकभरि वनैवन । खाडीचौर आएपछि एक मात्र होटेल भएठाउँ गाडी रोकियो । किन त्यस्तामा रोकियो, भनिराख्नै पर्दैन । हामी काका भतिजा एकपल्ट अलमल ग¥यौँ, कतै थिएन अर्काे होटेल । विदेशी सहित टनाटन मान्छे, देख्दैमा राता खुर्सानी भएका तरकारी, अचार र दाल । भोकमा पिरो, कसरी खानू ? तैपनि जसोतसो पेट भरियो । बनेपा आइपुग्दा करिब दुई बजिसकेको थियो । नगरपालिकाको गाडी लिएर लागियो पनौती । बाटैमा भेटियो सूचना प्रविधि पार्क र धनेश्वर मन्दिर जाने बाटो । मुख्य बजारमा रहेको बसपार्कसँगै रहेको पहिलेको नगरपालिका कार्यालय अहिले टौखाल भगवानडाँडामा नयाँ भवन बनेर सरेको रहेछ बजारबाट निकै टाढा । जनताको व्यापक विरोध र बन्द भए पनि कार्यालय सरेर अहिले टुप्पामा आरामसँग काम गरिरहेको रहेछ । बगैँचा लगाइएको रहेछ कार्यालय परिसरमा ।  चारैतिर जङ्गल देखियो, उपत्यका रहेछ पनौती । बाँसडोल, कुशादेवी, मल्पी, गोरखनाथ डाँडा रहेछन् वरिपरि । खरीबोट, पाल्पालीगाउँ, भिन्दाल, खोपासी, बल्थली, ऐरीगाउँ, गैरीगाउँ, ख्याकु, बनेपा, संखु, नमोबुद्ध, सुन्थान, सल्मीटार, बतासे, मकैटार, खल्थली, दलिनचोक, दाहालटार थुपैै्र गाउँ  र  नगर वरिपरि । कुशादेवी भनेपछि साहित्यकार पत्रकार हरि अधिकारीलाई सम्झेँ मैले ।  प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी पनि त्यतैका रहेछन् । कार्यालय भवनतिर भने बस्ती नाइँ । नजिकै सिर्फ एक घर । चार दाजुभाइले एक घर बनाएका, चार ढोकाबाट आआफ्ना कोठामा छिर्ने । अंशबन्डा गरेर छुट्टेर जानाको साटो यस्तो पद्धति चलाए छन् । कार्यालयको काम सकिनुअघि मैले पनौतीका धार्मिकस्थल हेर्न जाने प्रस्ताव राखेँ कर्मचारीहरुसँग । मोटरसाइकलमा भर्खरै बनेको बाटाबाट कुद्दै हामी बसपार्कनेरको नेवारी खाजाघरमा पस्यौँ । साहुनी रहेछिन् फरासिली । पुरानो खाजा र आधुनिक कफीका स्वाद लिएर हामी हानियौँ त्रिवेणीघाट । पुण्यवती, रुद्रमती र रोशीखोलीको सङ्गम त्रिवेणीघाटका कथा पौराणिक स्वर्गका राजा  इन्द्रसँग मिल्ने रहेछ । ऋषि गौतमकी पत्नी अहिल्याको रुपबाट मोहित इन्द्रले झुक्याएर अहिल्याको पतिव्रता धर्म नष्ट गरेपछि ऋषिबाट श्रापित इन्द्र यही घाटमा पत्नी शचीसहित बाह्र सय वर्ष व्रत बस्दा खुसी भएर महादेव सपत्नी खुसी भएर श्रापमुक्त गराएको र वरदान दिएको भनाइ रहेछ । पेगोडा शैलीको विश्वमै एक मात्र इन्द्रेश्वरको मन्दिर(इस्वीको तेहांै शदीमा राजा जयरामसिंह मल्लबाट निर्मित सबभन्दा पुरानो), चारधाम, सङ्कटा, भद्रकाली, भीमसेनस्थान, महालक्ष्मी, अष्टमातृका, उन्मत्त भैरवका मूर्ति रहेछन् त्यहाँ । त्रिवेणीघाटमै दाहसंस्कारस्थल रहेछ । बनेपाबाट बगिआएको पुण्यवती र फूलचोकीबाट आएको रोशिखोला त स्पष्टै देखियो तर रुद्रावती भने ब्रह्मायणीघाटबाट अदृश्य भएर बग्ने रहिछन् । पार्वतीले सो  नदीको रुप लिएकी र ३२लक्षणयुक्त व्यक्तिले मात्र आफूलाई देख्न सक्ने बताइएकी रहेछिन् । घाटकै तीरमा अर्धजल भनिने नारायणको सुतेको मूर्ति र वासुकी नागको स्वरुप लिङ्गाकारको मूर्ति रहेछ, मैले दुवैलाई ढोगेँ । छुनुपर्ने त पानी पो रहेछ सम्पूर्ण पाप नाश गर्न, त्यो चाहिँ त्यहाँबाट फर्केपछि मात्र पो थाहा भयो ।  बाह्रवर्षे मकरमेलाको सम्बन्ध इन्द्रको व्रत बसाइसँग सम्बन्धित कुरा रहेछ । 
 त्रिवेणीघाट पारि रहेको गोरखनाथ डाँडामा बसेका वासुकीलाई पाटनका तान्त्रिक बन्धुदत्तले मोहमा पारी पाटन भित्र्याएका रहेछन् । यसको पनि लामो कथा छ । वासुकी पाटन पु¥याइएपछि हाहाकार गरी रोएका पनौतीवासीलाई(...ब्रह्मायणी ?)जात्रामा आउने वचन दिएका रहेछन् । अहिले पनि ...जात्रामा वासुकी नाग आउँदा बालीनाली सबै फाँडेर आउने रहेछन्, जात्रा सकिएपछि फर्किँदा माडिएका बाली उठ्ने रहेछन् । वासुकीले आफूलाई पाटन पु¥याइँदा पनि मस्तसँग सुतेका पनौतीवासीलाई “तिमीहरुलाई खान पुगोस्, दुःख नहोस्, तर  सम्पन्न चाहिँ धेरै नहोस्” भनी श्राप दिएको भनाइ रहेछ । प्रत्येक बाह्र वर्षमा लाग्ने मकरमेला र हलसिद्धि जात्रा, प्रत्येक ज्यापुन्ही(ज्येष्ठपूर्णिमा)मा लाग्ने  शिव, भैरव र भद्रकालीको पनौतीजात्रा र ब्रह्मायणीजात्राले पनौतीलाई जात्रामय बनाउने गर्छ । 
इन्द्रेश्वर महादेव मन्दिर नजिकै पनौती नगरपालिका र स्थानीय क्लबको साझेदारीमा सञ्चालित सङ्ग्रहालय पनि हेर्नलायक रहेछ । फ्रान्सेली टोलीले उत्खनन गरिदिएको र उसैले सङ्ग्रहालय बनाउन सहयोग गरिदिएको रहेछ, जसमा प्राचीन हतियारदेखि जनजीवनका सामग्री पनि रहेछन् । इन्द्रेश्वर महादेव मन्दिरकै ठूलो प्रतिरुप पनि एक कुनामा राखिएको रहेछ जुन बिग्रन लागेको रहेछ । त्यहाँबाट फर्की विश्वराम ताम्राकारको घर हेर्न मन लाग्यो । स्वोंतकी, माध र धल्चाका प्रतीक विश्वराम अहिले काठमाडौँ मण्डिखाटारमा छोराहरुसँग बस्न आएका छन् । विश्वराम र बुवाको सम्बन्ध काठमाडौँमा हार्माेनियमले जुराइदिएको हो । उनको घर पमाडीटोलमा रहेछ । नित्य भजनदेखि गणेश, महादेव, गीत गोविन्द र दशअवतार भजन जस्ता चालिस जति भजन उनलाई कण्ठस्थ छ । उनका बारेमा अर्काे कथा छ । 
बनेपा नगरको दक्षिणतर्फ  किमिमा पर्ने पनौतीमा डा एनआर बनर्जी र जनकलाल शर्माको लामो खोजपछि पाषाणकालीन ढुङ्गे हतियार पाइएकाले यहाँको प्राचीनता स्पष्ट छ । यहाँ ऐतिहासिक दलिनचोक दरबार थियो, जुन भग्नावशेषमा छ । पद्मगिरिको वंशावलीमा इस्वीको चौधौँ शताब्दीमा राजा आनन्द मल्लले पनौतीको बस्ती बसालेको उल्लेख छ । यहाँ लिच्छविराजा अंशुवर्माका शिलालेख त छँदैछ, पनौती बसपार्क नजिकै मानेश्वरीको मन्दिर रहेकाले मानदेवको सम्बन्ध पनि खोज्न सकिने रहेछ । पनौती नगर एउटै शिलामा बनेकाले भूकम्प जाँदा असर नपर्ने, ढिकी र पानीघट्ट चलाउन नहुने तथा जंको गर्न नहुने यहाँका केही भनाइ छन् भने योमरीको उत्पत्तिस्थल, विराटराजाको दरबार क्षेत्र अथवा पाण्डव गुप्तवासस्थल, नमोबुद्धका जन्मस्थल, काभ्रेको दक्षिणीढोका, सूचना प्रविधि पार्कस्थल(बनेपा र पनौती कहाँ भन्ने विवाद छ), उडुुसले दुःख दिएको ठाउँ आदि यसका बारेमा धेरै कुरा सुन्दैछु म । यसैले म पनि भन्छु,‘पला ती’अर्थात् “एक पल्ट यहाँ पाइला राख ।” १५मङ्सिर२०७०

Related News