पञ्चकन्या माईको सेयर बाँडफाँड

दृष्टि न्यूज

काठमाडौं, २५ फागुन । पञ्चकन्या माई हाइड्रोपावरले आयोजना प्रभावित इलामको सन्दकपुर र इलाम नगरपालिकाका सर्वसाधारणका लागि निष्कासन गरेको सेयर बाँडफाँड गरेको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङले सेयर बाँडफाँड भएको जनाएको हो ।
पञ्चकन्या हाइड्रोपावरले सय रुपैयाँ अंकित दरको ११ लाख कित्ता साधारण सेयर आयोजना प्रभावितका लागि निष्कासन गरेको थियो । ५ माघदेखि २३ माघसम्म बिक्री खुला गरिएको ११ लाख कित्ता सेयरमध्ये अतिप्रभावित सन्दकपुर गाउँपालिकाका बासिन्दाका लागि ६० प्रतिशत र बाँकी ४० प्रतिशत इलाम नगरपालिकाका बासिन्दाका लागि छुट्याइएको थियो ।
सन्दकपुर गाउँपालिकाको ६ हजार ३ सय ३५ बासिन्दामध्ये २० कित्तादेखि १ सय ३० कित्ता शेयर माग सबै आवेदकलाई मागबमोजिम तथा १४० देखि ५ हजार ५ सय कित्ता माग गर्ने ३ हजार २ सय ६९ आवेदकमध्ये २ हजार ३ सय ८२ जनालाई १ सय ४० कित्ता तथा बाँकीलाई १ सय ३० कित्ता सेयर बाँडफाँड गरिएको छ ।
त्यसैगरी इलाम नगरपालिकाकोे ९ हजार १ सय ४३ जना बासिन्दामध्ये २० देखि ५० कित्ता सेयर माग गर्ने सम्पूर्ण आवेदकलाई मागबमोजिम तथा ६० देखि ५ हजार ५ सय कित्ता माग गर्ने ६ हजार १ सय ३७ आवेदकमध्ये ६ सय २४ जनालाई ६० कित्ता र बाँकीलाई ५० कित्ता सेयर बाँडफाँड गरिएको छ ।

Related News