​पंगु बन्यो संसदीय सुनुवाइ समिति

आरोपितलाई प्रधानन्यायाधीशको ‘ग्रिनसिग्नल’

दृष्टि न्यूज

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि प्रस्तावित ओमप्रकाश मिश्रका विरुद्ध संसदीय सुनुवाइ विशेष समितिमा उजुरी परेको थियो । उनका विरुद्ध ४ वटा उजुरी परेकोमा एउटा उजुृरी उजुरीकर्ताले फिर्ता लिइसकेका छन् । बाँकी ४ वटा उजुरीमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको परीक्षामा भएको अनियमितता सम्बन्धी छ । ललितपुर बागडोलका बिष्णकुमार गिरीले दिएको उजुरीमा नन्दकिशोर सिंह सहितका ब्यक्तिले १० देखि १५ लाख रुपैयाँ घुस लिएर प्रश्नपत्र र उत्तरसहित पहिले नै लेखेर दिई उपप्राध्यापकको लिखित परीक्षा पास गराएको उल्लेख छ । त्रिवि सेवा आयोगका तत्कालीन अध्यक्ष प्राडा इश्वर दत्त र सदस्य केदार घिमिरेले नन्दकिशोर सिंहमार्फत् घुस लिएर पहिले नै उत्तर लेखेर दिई पास गराएकोबारेमा सर्वोच्च अदालतमा परेको मुद्दामा कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले २०७५ भदौ ५ गते स्थगित गर्ने आदेश दिएका थिए । भदौ ५ गतेको पेशी तोकिएकोमा कामु प्रधानन्यायाधीश मिश्रले कपीहरु झिकाउने पत्रसमेत नलेखी परीक्षा जस्तो संवेदनशील बिषयमा मुद्दा स्थगित गर्ने मुद्दाको एकपक्षलाई प्रत्यक्ष फाइदा पु¥याउने कार्य भएको हुँदा भोलिका दिनमा उनीबाट निष्पक्ष न्याय प्राप्त हुनेमा आशंका देखिएकाले समितिलाई गम्भीरतापूर्वक छलफल गर्न र निष्कर्षमा पुग्न आग्रह गरिएको छ । यसअघि सर्वोच्च अदालतले २०७४ साउन २२ गते उपप्राध्यापकको गणित बिषयको परीक्षामा भएको अनियमितताका बारेमा त्रिवि सेवा आयोगबाट उत्तरपुस्तिका झिकाउने आदेश दिएको थियो । त्यो आदेश बमोजिम त्रिवि सेवा आयोगलाई २०७४ भदौ २५ मा पत्र पठाएर गणित बिषयको उत्तरपुस्तिका पठाउन भनेको थियो । सेवा आयोगले अदालतको आदेश अनुसार उत्तरपुस्तिका नपठाएपछि पुनः २०७४ पुस २ मा ७ दिनभित्र उत्तरपुस्तिका पठाउन पत्र लेखेको थियो । तर सेवा आयोगले आदेश पालना गर्नुको साटो २०७४ पुस १४ मा गोपनीयताको कारणले उत्तरपुस्तिकाहरु पठाउन नसकिएकोे र कानुन ब्यवसायीमार्फत् बहसका क्रममा इजलासमा पेश गर्नेछौं भनी असान्दर्भिक पत्र लेखेर परीक्षामा भएको अनियमिततालाई ढाकछोप गर्दैआएको थियो । सर्वोच्च अदालतमा उत्तरपुस्तिका पठाउँदा गोपनीयता भंग हुने हचुवा तर्क दिएपछि अदालतका कर्मचारीले निष्पक्ष न्याय सम्पादन नहुने भन्दै उत्तरपुस्तिका पठाउन निर्देशन दिइरहेका थिए । अदालतका कर्मचारीले उत्तरपुस्तिका झिकाउने आदेश दिंदादिंदै कामु प्रधानन्यायाधीश हुनासाथ मिश्रले पेशीका दिन मुद्दा स्थगित गरी त्रिवि सेवा आयोगको अनियमिततालाई सदर गरिदिएका थिए । 
गणित बिषयको उपप्राध्यापक पदका लागि भएको परीक्षामा  उपप्राध्यापक पदको लागि लिएको परीक्षामा ब्यापक अनियमितता भएको छ । उक्त अनियमितता छानबिन गरी दोषीमाथि कारबाही गर्न राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदन दिएको थियो । सतर्कता केन्द्रले नै उपप्राध्यापकको परीक्षादेखि नतिजा निकाल्दासम्म भएका अनियमितताका प्रमाणसहित कारबाहीका लागि आयोगमा पठाएको थियो । सेवा आयोगले सेटिङ गरी परीक्षा अगावै प्रश्नपत्रको हल गरी दिएको परीक्षार्थीले प्रमाणसहित उजुरी दिएका थिए । घुस दिएका परीक्षार्थीका कपीमा संकेत चिह्न लेख्न लगाएकोदेखि नतिजा प्रकाशनपछि घुस नदिएकाहरुको नाम संशोधन गर्दै अर्कैको नाम निकालेको छानबिनका क्रममा देखिएको सतर्कताको ठहर छ । २०७४ साउनमा निकालेको उपप्राध्यापकको नतिजापछि त्रि.वि.वि.को साख ध्वस्त भएको महसुस आम प्राध्यापकहरुले गर्नुपर्ने अवस्था निम्तिएको छ । उपप्राध्यापकको परीक्षाको नतिजा सार्वजनिक गर्दै पुनः पटक पटक संशोधन गरिएपछि घुस खाएको कुरालाई पुष्टी गरेको छ ।  
गणित बिज्ञान बिषयको दोस्रो खण्डको उत्तरपुस्तिका जाँचक शिक्षक रामविश्वास साहले आफ्नै नातेदार छोरी ज्वाई अमरनाथ साहको कापी जाँची पास गराएका छन् । त्रिवि सेवा आयोगले कापी जाँच गर्ने साहलाई पत्र दिंदा उल्लेखित पदको परीक्षामा आफ्नो नातागोता कोही भएमा वा अन्य कुनै कारणले असमर्थ भएमा सोको जानकारी यथाशीघ्र दिन भनी उल्लेख गरिदिने भन्ने ब्यवस्था विपरीत निजले आफ्नो छोरीज्वाई परीक्षार्थी रहेको कुनै सूचना नदिई उत्तरपुस्तिका जाँच गरेको देखिन्छ । अख्तियारले पछि उत्तर लेखेर पहिले नै दिने गणित बिषयका शिक्षक चेतराज भट्ट र ज्वाईको कापी जाँच्ने  रामविश्वास साहबिरुद्ध मुद्दा दायर गरे पनि परीक्षा रद्द गरेन । जसका कारण अयोग्यहरु उपप्राध्यापकमा पास भएका छन् । र, योग्यहरु असफल पारिएका छन् । 
त्यस्तै, अर्को उजुरी मिश्र काठमाडौं जिल्ला अदालतको मुख्य न्यायाधीश हुँदा उनले बैदेशिक रोजगार ठगी मुद्दामा ठगी गर्ने कैलाशप्रसाद श्रेष्ठको पक्षमा हुनेगरी फैसला गरेको बिषयमा परेको छ । भगवतीप्रसाद लम्सालले दिएको मुद्दामा बैदेशिक रोजगार ठगीमा पीडितले लम्सालले १० लाख ५ हजार रुपैयाँ पाउने फैसला भए पनि दसौं बर्ष बितिसक्दा पनि पाउन नसकेको उल्लेख छ । तेस्रो उजुरी महिला हिंसा विरुद्ध क्रियाशील पेटीकोट जुलुस निकाल्ने सावित्री सुवेदीले दिएकी छिन् । 

Related News