​पप्पु कन्ट्रक्सनका रौनियारसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा

१९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ बिगो दावी

दृष्टि न्यूज

काठमाडौं । पप्पु कन्सट्रक्सनका पूर्वअध्यक्ष एवं सांसद हरिनारायणप्रसाद रौनियारसहित १२ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । बर्दियाको जब्दिघाटमा बबई नदीमाथि पुन निर्माणका क्रममा अनियमितता भएको ठहर गर्दै अख्तियारले सांसद रौनियारसहित उनका छोरा सुमित र अन्य १० विरुद्ध मुद्दा दायर गरेको हो । 

सांसद रौनियारले प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि अध्यक्ष छोडेको कम्पनी पप्पु कन्सट्रक्सनले पुल निर्माण गरेको थियो । पप्पु कन्स्ट्रक्सनमा अहिले सांसद रौनियारका छोरा सुमित अध्यक्ष छन् । अख्तियारले दायर गरेको अभियोगपत्रमा सांसद रौनियार र उनका छोरा सुमितलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा ४ बमोजिमको सजाय तथा १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ बिगो दावी गरिएको छ । 

अख्तियारले एभरेष्ट इन्जिनियरिङ कन्सल्टेन्टका सञ्चालक कृष्णदेव यादव, डिभिजन सडक कार्यालय नेपालगञ्जका प्रमुख भानु जोशी, मनोज श्रेष्ठ तथा राजकुमार यादव, त्यही कार्यालयका निमित्त प्रमुख नवराज केसी, इन्जिनियरहरु प्रेमप्रसाद चुवाई, हरिबहादुर खड्का, दीपेन्द्रबहादु बिष्ट तथा सब इन्जिनियरहरु कर्मा तेन्जिन तामाङ र गोविन्द गैरे विरुद्ध मुद्दा दायर गरेको छ । 
जब्दिघाट पुल निर्माणका क्रममा गुणस्तरहीन सामग्री प्रयोग भएको पुल बनाउँदा नै बांगो देखिएको र उद्घाटन नहुँदै भत्किने अवस्था आउनुमा निर्माणको प्रारम्भिक चरणदेखि अन्तिमसम्म गल्ती भएको अख्तियारले ठहर गरेको छ । ४२५ मिटर लामो उक्त पुल १६ करोड ६८ लाख रुपैयाँमा निर्माण भएको थियो । गत वर्षको बाढीले पुल निर्माण सुरु हुनुअघि नै भत्काइदिएपछि छानबिन थालिएको थियो ।


पुलका पाइलहरुको डेप्थ डिजाइन बमोजिम नभएको वा डिजाइनबमोजिम निर्माण नगरेको तथा निर्माण भएको पाइलहरुमा समेत क्याभिटिज भएको कारणले नै पाइलले भार लिन नसकी पुल भास्सिएको तथ्य प्राविधिक परीक्षण तथा विश्लेषणबाट पुष्टी हुन आएको अख्तियारले जनाएको छ । 

Related News