​पराजित मानसिकता

शम्भु श्रेष्ठ । प्रतिनिधिसभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन सम्पन्न हुन अझै दुई दिन बाँकी छ । निर्वाचन बिथोल्न ठाउँ ठाउँमा बम विस्फोट, हत्या हिंसा जारी नै छ । शान्तिपूर्णरुपमा निष्पक्ष निर्वाचन गराउनुपर्ने दायित्व सरकारको हो । प्रधानमन्त्री स्वयं उपस्थित भएको आमसभामा बम विस्फोट भएकै घटनाले शान्ति सुरक्षाको अवस्था कस्तो छ भन्ने जनाउँछ । प्रमुख प्रतिपक्षी दलको नेताको सभा बिथोल्न बम आतंक मच्चाइएको छ । यी सबै घटनाबाट बेखबर भएर प्रधानमन्त्री शेरबहादुर देउवा भने अधिनायकवादको स्यालहुँइयाँ मच्चाउँदै व्यर्थको देश दौडाहामा छन् ।
देउवा सरकार कतिसम्म ‘असक्षम’ छन् भन्ने कुरा निर्वाचन अगाडि देशैभर भएका बम काण्डले पनि पुष्टि गर्छ । निर्वाचनमा सरकारको पहिलो प्राथमिकता शान्ति सुरक्षा हो । यस कुरामा सरकार असफल बनेको छ । निर्वाचनका लागि न्यूनतम शान्ति सुरक्षा गर्न नसक्ने सरकारबाट देश र जनताले अरु के आशा राख्ने ?
विभिन्न सरकारी निकायले वाम गठबन्धनले बहुमत ल्याउने रिपोर्ट प्रधानमन्त्रीलाई दिएपछि देउवाको मानसिक सन्तुलन खल्बलिन थालेको उनको भाषणबाट स्पष्ट हुन्छ । आफूलाई लोकतान्त्रिक पनि भन्ने अनि वामपन्थीले निर्वाचन जित्यो भने लोकतन्त्र खतरामा पर्छ भनेर रोइलो पनि गर्ने कुराले लोकतन्त्र बलियो हुनसक्दैन । वाम गठबन्धनले बहुमत ल्याए पनि सशक्त प्रतिपक्षको रुपमा समेत आफूलाई स्थापित गर्ने आँट देउवाले गर्नुपर्छ । लोकतन्त्रमा बहुमतको सरकार, अल्पमतको बलियो प्रतिपक्ष हुन्छ । सरकारले बाटो बिरायो भने प्रतिपक्षले त्यसको प्रतिवाद गर्छ । लोकतान्त्रिक शासन पद्धति भनेको पनि यही नै हो ।
तर, लोकतान्त्रिक परिभाषा नबुझेर हो कि क्या हो, प्रधानमन्त्रीजस्तो पदमा आसिन व्यक्तिले वाम गठबन्धनले बहुमत ल्याए बोल्न, लेख्न र रुन पनि पाइन्न भनेर जनतालाई उल्लु बनाइरहेका छन् । समावेशी संविधान च्यातेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतिसहित एक दलीय कम्युनिष्ट शासन नेपाली जनतामाथि लाद्न खोजेको आरोप देउवाले लगाइरहेका छन् । यी आरोपमा कुनै सत्यता छैन भन्ने कुरा नेपाली जनताले बुझेकै छन् ।
बरु, वाम गठबन्धनका नेताहरुले धैर्यता र संयमताका साथ मैदानमा प्रस्तुत भइरहेका छन् । वर्तमान संविधान कार्यान्वयन गरेर जनतालाई आर्थिक समृद्धि र स्थायी सरकार दिने बचन दिएका छन् । वाम गठबन्धनले घोषणापत्रमा उल्लेख गरेका प्रतिबद्धता पूरा गर्ने कुरा गठबन्धनका नेताहरुले ठाउँ ठाउँमा गरेका छन् । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीचको निर्वाचन प्रचार प्रसार शैलीलाई हेर्दा पनि यस पटक जनताले वाम गठबन्धनलाई बहुमत दिने कुरामा दुईमत छैन ।
किनभने, ०४८ सालमा नेपाली जनताले कांग्रेसलाई बहुमत दिएर त्यसको पीडा आजसम्म भोग्नुपरेको छ । ०४८ सालमा कांग्रेसले बहुमत ल्याएर पनि पूरा समय सरकार चलाउन सकेन । कांग्रेसको ‘रुख’ माथि कांग्रेसले नै बन्चरो चलाउन बाध्य भयो । त्यसपछिको मध्यावधिमा जनताले नेकपा एमालेलाई रोजे ।
एमालेका अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा नौ महिना शासन चल्यो ।०४८ सालमा कांग्रेसले प्रचार गरेजस्तो कम्युनिष्ट सरकारले न त ६० वर्ष उमेरमाथिका बुढाबुढीलाई मा¥यो, न त कुनै जनताको घरखेत राष्ट्रियकरण नै ग¥यो । बरु, बृद्धाभत्ताको सुरुवात गरेर दक्षिण एसियालाई नै एउटा पाठ पढायो । विकासका नाममा ‘आफ्नो गाउँ आफैँ बनाऔं’ जस्ता कार्यक्रम ल्याएर गाउँको समृद्धिमा जोड दियो । कम्युनिष्टहरुले ल्याएको ‘पपुलर’ कार्यक्रमले कांग्रेसको जरामा किरा पर्ने भयले मनमोहन अधिकारीलाई नौ महिनामै बिदा गरियो । त्यसमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायले भूमिका खेले ।
जुन दिन एमालेको सरकार ढल्यो, त्यही दिनदेखि नेपालको राजनीतिले गलत बाटो समायो । कांग्रेसको ज्यादति र कुशासनले ‘जनयुद्ध’लाई मलजल ग¥यो । र, फेरि पनि शान्ति स्थापनाका लागि एमालेले नै पहल ग¥यो । माओवादीलाई सुरुमा दमन गरेरै समाप्त पार्छु भन्ने गिरिजाप्रसाद कोइराला अन्ततः माओवादीकै एजेन्डामा आउनु प¥यो र गणतन्त्र स्थापना भयो । कम्युनिष्टको त्यत्रो ठूलो त्याग र बलिदानीले स्थापित गरेको लोकतान्त्रिक गणतन्त्रलाई कम्युनिष्ट सरकार आयो भने ध्वस्त गर्छ भन्नु मूर्खता होइन, अज्ञानता हो । बरु, कम्युनिष्ट शासनमा आयो भने गणतन्त्र समाप्त पारेर देउवाले राजतन्त्र पुनस्र्थापना गर्लान् कि भन्ने चिन्ता नेपाली जनताले लिनुपर्ने भएको छ । यस कुरामा किन पनि सत्यता छ भने देउवा भनेको कुनै सिद्धान्त, विचार, आस्था र निष्ठा भएका व्यक्ति होइनन् । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबीचको टक्करमा कोइरालाविरुद्ध प्रयोग गरिएका एउटा बुख्याँचा मात्र हुन् भन्ने कुरा अहिलेका अभिव्यक्तिले पनि झल्काउँछ । यदि देउवा सिद्धान्त र नीतिबाट परिचालित भएको भए उनले चुनावी मैदानमा हावा कुरा गरेर समय बर्बाद गर्ने थिएनन्, नेपाली कांग्रेसको नीति तथा कार्यक्रमबारे जनतालाई जानकारी गराएर आफूप्रति प्रभावित पार्ने थिए । भनिन्छ, जसको जति बुद्धि छ, त्यसले त्यत्तिनै बोल्ने हो । देउवाको यो भाषण पराजित मानसिकताको उपज हो ।

Related News