​संघीय संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदै

दृष्टि न्यूज

दृष्टि न्यूज
काठमाडौं, २३ वैशाख ।
नयाँ संविधान २०७२ अनुसार गठन भएको संघीय संसदको पहिलो बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । प्रतिनिधि सभा र राष्ट्रियसभाको बैठक आजबाट सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा संघीय संसदको दोस्रो अधिवेशन शुरु हुन लागेको हो ।
आजको बैठकमा राष्ट्रपति विद्या भण्डारीले पठाएको पत्र पढेर बैठकको सुरुवात हुनेछ । 
प्रधानमन्त्रीको सिफारिस अनुसार, राष्ट्रपतिले संसद् बैठक आह्वान गर्ने संवैधानिक व्यवस्था छ । अपराह्न ४ बजे दुवै सभाका संयुक्त बैठक बस्ने कार्यसूचि छ । 
आजको बैठकमा अधिवेशनअघि जारी भएका चारवटा अध्यादेशहरु प्रस्तुत गर्ने तयारी छ । त्यस्तै दुवै सभासँग सम्बन्धी नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची समेत तय भएको छ । आइतबारपछिका बैठकहरुमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल, सशोधन प्रस्तुत गर्ने अवधि र पारित गर्ने, साथै पहिलो बैठकमा प्रस्तुत भएका अध्यादेशहरु क्रमशः स्वीकृत गरिनेछ ।
यसअघि संसद सचिवालयले सार्वजनिक गरेको कार्ययोजनामा वैशाख २६ देखि २८ गतेसम्म प्रि–बजेटरी छलफल, जेठको पहिलो साता राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र जेठ १५ गते बजेट पेश गर्ने उल्लेख थियो । 

Related News