​‘पार्सल’ र ‘विन्दुवाण’ विमोचित

काठमाडौं, ५ भदौ । रोजगारीका क्रममा मलेसियामा कार्यरत कथाकार जीवन देवान ‘गाउँले’ र व्यङ्ग्यचित्रकार तुलसी विन्दुको कृति सार्वजानिक भएको छ । गाउँलेको कथा सङ्ग्रह ‘पार्सल’ र विन्दुको कार्टुन सङ्ग्रह ‘विन्दुवाण’लाई बागबजारस्थित सिटीम्याक्समा आयोजित एक कार्यक्रमका बीच वरिष्ठ कवि एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले सार्वजनिक गरेका हुन् ।
कृति सार्वजनिक गर्दै काइँलाले भन्नुभयो, “पहिले हाम्रा पुर्खाहरू लाहुरे भएर आउँथे, अहिले साहित्यकार भएर आउन थालेका छन् । प्रवासमा रहेर पनि साहित्य लेखिरहेका जीवन देवान ‘गाउँले’मा राम्रो कथाकारिता रहेको मैले पाएँ । यसै गरी तुलसी विन्दुको व्यङ्ग्यचित्र आउँदा खुसी लाग्यो । यो विधा प्रवासमा फस्टाउन नसकेको विधा हो ।”  
कवि तथा समालोचक सुरेश हाचेकालीले भारतभन्दा अर्को मुलुक जाने नेपालीलाई ‘अरपे’ भनिने यसै कथा सङ्ग्रहबाट बुझ्न पाएको सन्दर्भलाई जोड्दै उनले भर्ती भएर जानेलाई लाहुरे भनिएझैँ वैदेशिक रोजगारमा जाने नेपालीलाई अरपे पर्याय बन्न यस सङ्ग्रहले सघाउ पु¥याएको बताए । सङ्ग्रहभित्र रहेको एउटा कथा सुयोगबाहेक सबै वैदेशिक रोजगारीका कथा रहेको भन्दै उनले यस कृति वैदेशिक रोजगारीको समस्त कथा कथासँगालो भन्न मिल्ने बताए । 
कवि तथा कथाकार बिना थिङ तामाङले ‘पार्सल’का कथाहरू सामाजिक परिवेशबाट टपक्क टिपिएको बताइन् । ‘अरपे’ कथाको प्रसङ्ग झिक्दै समाजमा अझै पनि कथाका पात्र ‘हर्के साहु’हरू विद्यमान रहेको उनले चर्चा गरेकी थिइन् । 
नेपाल प्रज्ञा–प्रतिष्ठानका आख्यान विभाग प्रमुख प्राज्ञ मातृका पोखरेलले आफूले पहिलो कथा लेख्दा त्यति राम्रो नलेखेको तर जीवन देवान गाउँलेको पहिलो कृति नै यतिको चोटिलो रहेको उल्लेख गरे । उनले भने, “नेपाली कथासाहित्यमा गाउँलेको लोभलाग्दो उपस्थिति रहेको मैले पाएँ ।” 
प्रतिष्ठानका मातृभाषा साहित्य विभाग प्रमुख प्राज्ञ श्रवण मुकारुङले आफूले कथा पढिनसकेको तर समीक्षकहरूको टिप्पणी सुनेर पुरै पढ्ने लालसा जगाएको बताए । कथाको चर्चा सुन्दैमा कथाकारमा  सम्भावना छ भनेर ठोकुवा गर्न सकिने पनि उनले थपे । 
कवि तथा प्राज्ञ शशी लुमुम्बूले नेपाली डायस्पोराबाट नेपाली साहित्यमा पछिल्लो चरणमा गहन कृतिहरू आइरहेको चर्चा गर्दै विमोचित दुई कृतिले मलेसियाको नेपाली साहित्यको झलक दिएको विचार व्यक्त गरे ।  
किरात याक्खा छुम्माका अध्यक्ष लील रोगुले लेखक लामो समयदेखि वैदेशिक रोजगारीमा रहेकोले भेटघाट गर्न नपाए पनि आफ्नै जिल्लाबासी तथा समुदायको सिर्जना प्रकाशन हुनु खुशीको कुरा भएको बताए । 
कार्यक्रमका संयोजक देवेन्द्र सुर्केलीले मलेसियामा सन् १९४७ देखि ‘पर्वते’ नेपाली पत्रिकाको प्रकाशन भएर नेपाली साहित्यको प्रादुर्भाव भएको बताउँदै करिब ६० वटा भन्दा बढी कृति आए पनि उचित चर्चा भने हुन नसकेको बताए । 

Related News