​पार्टी एकताको आशा

बिन्दिया प्रधान । कहिलेकाहीँ अत्यास लाग्छ सम्झँदै दिनहरुलाई । बितेका दिनहरु बितिगए । बिगत जे जस्तो भए पनि आउने दिनहरु अवश्यै नेपाल र नेपालीहरुका लागि सुखद् भविष्य बोकेरै आउँला भनी सधैँभरी सबैले आशा गरिनै रहे । आशा र निरासा, लामो पर्खाइ । नटुंगिने हाम्रो प्रतिक्षाको यात्रा । 
थाहा छैन अझ कति हण्डर र दुःख लेखिएको छ नेपाल र नेपालीहरुको भाग्यमा ? अहिलेका अनेकौं चर्चा र अड्कलबाजी पढेर सुनेर सर्वसाधारण जनताका मानमा उठ्ने गरेको प्रश्न हो यो । विगतदेखि नै तन्त्रहरुको र प्रभुहरुको विकासका, आधारभूत आवश्यक्ता परिपूर्तिका, प्रजातन्त्रका, गरिबी निवारणका बिभिन्न अलापसँगै दिनहरु क्रमशः बित्दै गए । माथिको जुन, तारा, घाम उस्तै छन् । तल हाम्रो धर्तीमा भने विभिन्न कलाकारहरुले मञ्चन गर्ने नौटंकीका राग अलापहरु फेरिदै गएका छन् । पालैपालो स्वागत, बधाई, राज्यद्वारा प्रदान गरिने सुख सुविधाका चाङहरु, त्यो भन्दा बढ्ता चाकरीका ठूला पोकाहरु चढाउँदै अवसर भजाउँदै जता हावा चल्यो सर्रर्रर्रर्र...........उतै उड्दै । प्रवेशद्वारहरुमा पहुँच खोज्दै प्रतिक्षारतहरुको भीडमा हामी अल्मलिरह्यौँ । यो हो हाम्रो नियति । 
अहिले लोकतान्त्रिक पद्धतिमा छौँ हामी । त्यो खालको पालैपालो दोहोरिरहने दृश्य, वाक्कलाग्दो मञ्चन अब नहेर्नु परे हुन्थ्यो । हो हेर्न मन छैन पटक्कै त्यस्तो ।
हामीले इतिहास पढेर थाहा पायौँ लिच्छवीकालीन राजाहरु अंशुबर्मा, मानदेब अनि बाइसे चौबिसे राजाहरु । पृथ्वीनारायण शाहको उदय, उनले ती बाइसे चौबिसे राज्यसँग युद्ध गरी विजयी भएको, साना थुप्रै त्यस्ता राज्यहरु एकीकरण गरी एक बृहत्तर नेपाल निर्माण गरेको इतिहास । पृथ्वीनारायण शाहको वंश राजा वीरेन्द्र हुँदै उनको परिवारको हत्याकाण्डमा टुंगिएको यथार्थता । शाहकालभित्रै राणा प्रधानमन्त्रीहरुले सत्ता कब्जा गर्ने, राजालाई शक्तिविहीन नाम मात्रको बनाई आफूले शासन गरेको पनि पढ्यौँ । राजा र प्रजा मिलेर १०४ वर्षे राणा शासनको २००७ सालमा अन्त्य भएकोले फागुन ७ गतेलाई हामी अहिले प्रजातन्त्र दिवस मनाउँदै आएका छौ । 
प्रजातन्त्रको उदय, त्रिभुवनको छोटो शासनकाल, शक्तिशाली राजा महेन्द्रले लादेको निर्दलीय पञ्चायती व्यवस्था, राजा वीरेन्द्रले उनकै पञ्चायलाई मलजल गरेको दिनहरु । ती दिनमा सञ्चार, पत्रपत्रिकाजस्ता लेख्न बोल्ने अधिकारबाट जनता बञ्चित भएको सत्यता । नियन्त्रित राजनैतिक आर्थिक प्रणालीभित्र जनताका आक्रोश भुसको आगो भई जनआन्दोलनमा बदलिएको राप र तापले । ०४६ मा जनताको जीत पछि ०४७ मा नँया संविधानको निर्माण भयो । राजा वीरेन्द्रले संबैधानिक राजतन्त्र अन्तर्गत शक्तिबिहीन भई बस्न आत्मसमर्पण गरे । प्रधानमन्त्री शक्तिशाली भए । तर दरबार हत्याकाण्ड र बीरेन्द्रको मृत्युपछि उनका एकमात्र जीबित भाई ज्ञानेन्द्र शाहको सक्रिय सत्ता सञ्चालनको महत्वाकांक्षाले जनताको अधिकार फेरि खोसियो । २०६२ को राजतन्त्रविरुद्धको आन्दोलनले नेपालमा गणतन्त्रको स्थापना भयो र नयाँ संविधान निर्माण गर्न संविधानसभाको गठन र इतिहासमा पहिलो पटक राजाको सट्टा जनताका छोरा राष्ट्रपति भए ।
तर नेपालमा लामो संक्रमणकाल टुंगिएन । धेरै वादबिबाद, बाधा अड्चनहरुले नयाँ संविधान बन्न नदिने कुचक्र चलिरह्यो । कालो बादलहरु मडारिइरहे । अन्ततः ०७२ सालमा नयाँ संविधान ल्याउन देशका तीन प्रमुख दल सफल भए । तर हामीलाई थाहा छ संविधान जारीलगत्तै हालको ‘असल सम्बन्ध गाँस्न आतुर’ छिमेकी मित्रले नै भूकम्पले जर्जर एउटा सानो र गरिब देश नेपालमाथि अघोषित तर क्रुर र निर्दयी नाकाबन्दी नै लगायो । विश्वभरि नै यसको आलोचना भइरह्यो तापनि जनताका कति चुल्होहरु बल्न सकेनन् । यस्तोमा पनि राष्ट्रिय स्वाभिमान नडग्दा भने अस्थिरता चाहनेहरु बिफल पनि भए । निर्वाचन नै होला नहोला भन्ने अन्यौलका बीच जनताको अपार हौसलासहित स्थानीय निकायको निर्वाचन सम्पन्न भयो । २० औं वर्षपछि बल्ल स्थानीय निकायले आफ्ना जनप्रतिनिधि पाए । क्रमैसँग प्रदेशसभा, प्रतिनिधिसभाको निर्वाचन सफलताका साथ सम्पन्न भई समानुपातिक प्रक्रिया अनुरुपको सांसदहरुको छनौट भइसकेको छ । राष्ट्रियसभाको निर्वाचन पनि सकिएको छ । नयाँ संविधानले दिएको संघीय संरचनामा समावेशी लोकतान्त्रिक समाजवाद अहिले नेपालको सत्ता सञ्चालनको मुख्य पथमार्ग भएको छ । अब आम जनताको एउटै आशा भनेको स्थिर सरकार, भ्रष्टाचाररहित कर्मचारीतन्त्र र देशको आर्थिक समृद्धि नै हो ।
यही आशा बोकेर हिंडेका सर्वसाधारण जनता अहिले डराइरहेका छन् जसरी एउटा सर्वसाधारण जनता हुनुको नाताले म आफू डराइरहेकी छु । डर किन लाग्छ ? देश किन दुख्छ मनभरी यसरी ?
डर यस कारणले कि एकातिर नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुकमा निर्माण पुनर्निर्माण, अन्य थुप्रै ठूला आयोजनाहरुको लगानीका लागि बजेट अभावको बेलामा संघीयताको यत्रो ठूलो खर्च ब्यहोर्न सक्छ कि सक्दैन । प्रदेशपिच्छे सभाघर, तीन सय ३६ गाडी आवश्यक, मन्त्री, सभामुख, सांसदहरु तथा कर्मचारीको तलब भत्ता, सुरक्षा खर्चलगायतका यावत बढ्दो साधारण खर्चको भारी थेग्न सक्ला मुलुकले ? चिन्ता यो पनि हो । अझ प्रदेश केन्द्र वा राजधानी, मुख्यमन्त्री अनि सभामुख, स्थानीय भाषा, मातृभाषाकै निहुँमा पाइला–पाइलामा यत्रो बिबादहरु, प्रदेश नै टुक्र्याउने धम्की, लडाइँ झगडा आन्दोलन र बन्दका श्रृंखलाहरु । के केन्द्रीयतानै ठिक थियो त ? भौगोलिक रुपले विशाल चीन, भारतजस्ता देशहरुमा केन्द्रले मात्र ब्यवस्थापन गर्न कठिन हँुदा अलग–अलग प्रदेश, राज्यहरु आवश्यक हुन्छ तर हाम्रो भूगोल कत्रो छ र प्रदेशहरुमा बाँडिइरहनलाई ? नेपाल जस्तो सानो देशको लागि संघीय संरचना के आवश्यक नै थियो त ? कलहको बीउ रोप्दैै हिंडिरहेका उग्र भीडहरुलाई हेर्दा मनभरि विभिन्न यस्तै प्रश्नहरु उठिरहन्छन् । 
एकातिर, यस्ता बिबादहरु सुल्झाएर खर्चिलो संघीय संरचनामा आइपर्ने चुनौतीहरुको सामना गर्दै विजयी मुख्यमन्त्रीहरुले ‘शून्य भ्रष्टाचार’लाई एकमात्र तथा अनिवार्य पूर्वशर्त र मूलमन्त्र मान्दै जनतामा भिजेर लोकप्रिय भई आफ्नो प्रदेशको आर्थिक समृद्धिमा जोडतोडले काम गरी सफलताका साथ आफ्नो कार्यकाल पूरा गरुन् भन्ने कामना सबै नेपालीहरुको हो । अर्कोतिर, नेपाल सुदृढ बन्यो भने आफ्नो अनेकौं स्वार्थहरु पूरा नहोला भनी चिन्तित हुनेहरुले चिन्ता गर्न अझ नछाडेको बारेमा गत हप्ताभरि नै चर्चा चलिरह्यो । टुटफुट र फुटाउ जुटाउको लामो श्रृंखला अब त सकिन्छ भनी ढुक्क हुने दिन आयो भनिएकोमा अब फेरि अनेकौ आशंकाहरु र अड्कलहरुले राजनैतिक परिवेश तातिएको छ । 
तन्त्रहरुको र प्रभुहरुको अनेकौ चक्र र लीलाहरु पार गरेर आजित भइसकेका हामी बल्ल राजनैतिक स्थिरताको सुनिश्चितता भई संविधान कार्यान्वयनको क्रम शुरु भएसँगै फेरि यो भद्रगोलले निरास हुन बाध्य छौं । यो आन्तरिक कलहको उपाय त सम्भव हुन्थ्यो नै होला । तर पुष्पक बिमानबाट हर्रर्रर्र....उडेर आकस्मिक रुपमा आउने छिमेकी पाहुनारुपी विशिष्ठ देवताहरुले खुसी हुँदा या रिसाउँदा दिने बरदान या श्रापले हाम्रो देश र अर्थतन्त्र नै डग्मगाउने बिगतलाई हेर्दा हामी डराउँछौ । हो हामी डराएका छौँ अहिले । दुई ठूला पार्टीको गठबन्धन टुटाएमा श्राप नभई ठूलै बरदान दिने शर्त राखेर गए भन्ने अड्कल धेरैले गरेका छन । नेतृत्वले अडिग र स्वतन्त्र भई निर्णय लिने नै छ भनी अझ पनि जनताले आश गर्न छाडेका छैनन् । जे होस, अहिलेको यो जटिल परिस्थितिले नै नेतृत्वको सही पहिचान हामीलाई दिने नै छ । 

Related News