​पतनको डिलमा प्रचण्ड

विशाल छेत्री । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो असफल कार्यकालको उत्तराद्र्धमा पुगेका छन् । र, आफ्नो सत्ता जोगाउन अहिले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई नेकपा एमालेका विरुद्ध प्रयोग गर्दै छन् भने मोर्चाविरुद्ध एमालेलाई । एमालेलाई देखाएर मोर्चालाई तर्काउने, मोर्चालाई देखाएर एमालेलाई थकाउन खोज्दैन । मोर्चासामु गएर एमालेले संशोधन गर्न मान्दैन, एमाले मधेसविरोधी भन्दै प्रचण्ड साखुल्ले बन्न पुग्छन् । अनि एमालेसँग चुनाव घोषणा गर्छु, सहयोग गर्नुप¥यो, विरोध धेरै गर्नुभएन भन्दै हारगुहार गर्छन् । मोर्चालाई गलाउन उनी प्रमुख तीन दलका नेताहरू उभिएर तस्बिर खिचाउँछन् र स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने सहमति भएको हल्ला फिँजाउँछन् । मोर्चाका नेताहरुसँग गएर उनी एमाले स्थानीय निकायको कुरा मात्रै गर्छ, यसले त तपाईँहरुलाई सखाप बनाउँछ भन्दै कान फुक्छन् ।
प्रचण्डको यो दोहोरो भूमिका नयाँ होइन । आफ्नै पार्टीमा कहिले मोहन वैद्यविरुद्ध बाबुराम भट्टराईलाई प्रयोग गरे त कहिले बाबुराम भट्टराईलाई तह लगाउन गोरखाकै नारायणकाजी श्रेष्ठलाई पार्टीभित्र हुल्नेसम्मका काम उनले गरे । चीनविरुद्ध भारत र भारतविरुद्ध चीनको प्रयोग सबैभन्दा गैरकूटनीतिक तवरले गर्ने नेपाली नेताहरूमा पनि यिनै प्रचण्ड पर्छन् । भर्खर शान्ति प्रक्रियामा प्रवेश गर्दा प्रचण्डले एमाले र गिरिजाप्रसाद कोइरालाको स्वार्थ मिलेको थियो । उनीहरुको स्वार्थ मिल्नुको कारण थियो, एमालेप्रतिको भय । एमालेको व्यापक जनसंगठनप्रति अतासिएका शक्तिहरू थिए, कांग्रेस र माओवादी । त्यसकारण उनीहरुको मतो मिलेको थियो । त्यही कारण गिरिजाले एमालेको सेखी झार्न जननिर्वाचित शक्ति एमालेलाई ‘माइनस’ गरेर माओवादीलाई मनोनीत अन्तरिम विधायिकामा बढी सिट दिए । प्रचण्डले पनि गिरिजाप्रसादको सत्तान्ध राजनीतिको कमजोरी बुझेर राष्ट्रपतिको उधारो सपना देखाइरहे ।
केही पछि उनले रणनीति बदले । आफूलाई अप्ठेरो पर्दा तत्कालीन एमाले महासचिव माधव नेपालको सहारा लिने । माधव नेपाल नभई वार्तामै बस्दिनँ भन्ने, अनि गिरिजाप्रसादलाई ‘साइज’मा ल्याइसकेपछि एमालेमाथि आक्रमण सुरु गर्ने । शान्ति प्रक्रियामा आइसकेपछि एमालेका कार्यकर्तालाई खोजीखोजी शिकार गर्न माओवादीका लडाकु शिविरबाट छापामारहरुको जुलुस हतियारसहित बाहिर निस्केको थियो ।
त्यतिखेर गिरिजाप्रसादलाई एमालेविरुद्ध प्रयोग गर्न गिरिजाप्रसादको एमालेविरोधी कुण्ठालाई प्रचण्डले मजैले हतियार बनाए । वास्तवमा १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा कांग्रेसको ठूलो युवा पंक्ति पलायन भइसकेको थियो । केन्द्रीय नेतृत्वमा रहेको विभाजन र माओवादीको अतिवादसँग लड्न सक्ने तागत हराइसकेपछि कांग्रेस पार्टी केवल गिरिजाप्रसाद कोइरालाको कोटरीमा सीमित हुन पुगेको थियो । २०४८ सालपछि खुमबहादुर खड्का, जयप्रकाश गुप्ता, चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी, विजयकुमार गच्छदारजस्ता भ्रष्टहरूको मण्डली तयार गरी राज्यस्रोतको दोहन गर्ने र एकछत्र राज गर्ने गिरिजाप्रसाद कोइरालाको मनसुवा पूरा हुन सकेन । लाउडा र धमिजा काण्डदेखि ठूल्ठूला भ्रष्टाचारको भण्डाफोर एमालेले गरिरह्यो ।
त्यस्तै हत्या, हिंसाजस्तो आपराधिक बाटोबाट सत्ता कब्जा गर्ने मनसुवा बोकेर हिँडेको माओवादीलाई चिनियाँ ब्रान्डको भारतीय ‘माल’ भनेर बुझ्न बाँकी नेपाली समुदाय अत्यन्त सीमित थियो । त्यो पनि त्यस दिन उदांगियो, जुन दिन पहिलोपल्ट बालुवाटारमा सार्वजनिक हुँदा प्रचण्डले नेपाली सेनाको सार्वजनिक छवि र ऐतिहासिक विरासतमाथि आक्रमण गरे । दाल, भात, डुकुको खोजीमा नेपाली सेनामा जागिर खान पुगेका निर्दोष युवाहरुलाई बलात्कारी करार गरे । तिनले एमालेमाथि निशाना ताक्नु अनौठो थिएन ।
एमालेभित्र पनि गुट उपगुटको विवाद थियो । उसका कमजोरी तमाम थिए । खासगरी तत्कालीन एमाले नेतृत्वको ढुल्मुलेपनले यो राष्ट्रिय शक्ति र संगठन भएको दल पहिचानको खडेरीमा थियो । केपी ओली नेतृत्वमा आइसकेपछि एमाले संविधानका अन्तरवस्तु, संविधान निर्माण प्रक्रिया र संविधानको कार्यान्वयनमा स्पष्ट अडानसहित प्रस्तुत भयो । उनकै पहलकदमीमा १६ बुँदे सहमति सम्भव भयो र संविधान जारी हुँदाका दिनसम्म त्यो सहमति कायम रह्यो । राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र दीगो स्थिरताका निम्ति त्यो घटना अहम् थियो । त्यहीकारण प्रचण्ड र सुशील कोइराला घिसारिएर भए पनि संविधान जारी गर्ने दिनसम्म १६ बुँदे सहमतिमा टिके । नेपालीले आफ्नै वर्कतले संविधान जारी गरेको देखि नसहेका शक्तिहरू तीन दलीय एकता भाँड्न सक्रिए थिए । त्यसका निम्ति ‘सफ्ट तार्गेट’ थिए, सुशील कोइराला । उनलाई प्रधानमन्त्रीमा निरन्तरताको लोभ देखाएर तीन दलीय सहमतिविरुद्ध उभ्याइयो । ओली–प्रचण्ड गठबन्धनलाई भारतविरोधी र मधेसविरोधी खेमाका रुपमा हल्ला पिटाइयो । प्रचण्डले ओलीको साथ छोडेकै दिनबाट नेपालमा मधेस र भारतमैत्री सरकार आएकोमा दिल्लीमै दिवाली मनाइयो । दिल्लीलाई देखाउनकै लागि प्रचण्डले एउटा संशोधनको लिफा संसद सचिवालयमा पठाउनुपर्ने थियो, पठाइदिए । प्रभु खुसी भए । आफ्ना केही चेलाचपेटालाई दूतावासमा बोलाएर लालमोहन खुवाए । संशोधनको पक्षमा उभिन निर्देशन पनि दिए ।
प्रचण्डले जातिविरुद्ध जाति उचाले । भूगोलविरुद्ध भूगोल उचाले । पार्टीभित्र नेताविरुद्ध नेतालाई प्रयोग गरे । पार्टीबाहिर कसैका राष्ट्रपतिको लोभलाई दोहनको माध्यम बनाए । अन्ततः आफू भित्ते राष्ट्रपतिमा सीमित भए । जनताबाट बढारिँदै, कार्यकर्ताबाट टाढिँदै र विश्वासपात्रहरुबाट खेदिँदै गएका प्रचण्डसँग अब आफ्नो राजनीतिक उद्यम सञ्चालन गर्न केवल अस्थिरता र अन्तरविरोधहरू मात्र बाँकी छन् । प्रदेश नं. ५ को लफडा लम्बियोस् भन्ने उनको पहिलो चाहना हो । त्यो थोरबहुत पूरा भएको छ । एमालेविरुद्ध मधेसलाई र मधेसविरुद्ध एमालेलाई सक्दो धेरै उचाल्न र प्रयोग गर्न उनी अहिले न्वारानदेखिको बल लगाइरहेका छन् । संविधान संशोधनको प्रस्तावले मात्रै दक्षिणी शक्ति सन्तुष्ट भइसकेको अवस्थामा मुलुकमा अस्थिरताको खेती गर्न तत्काल मधेसी मोर्चाबाट सम्भव छैन । त्यसैले प्रचण्ड जानीबुझी एमाले कार्यकर्तालाई जिस्काउन र एमालेमाथिको हमला बढाउन लागिपरेका छन् । केही गुण्डाहरू दक्षिणी सीमातिरबाट आउँछन् । एमाले कार्यकर्तामाथि गोली र खुकुरी दाग्छन्, अनि दक्षिणतिरै भाग्छन् । आदेश दिनेहरु दक्षिणमै आश्रय लिएर बस्छन् । यता आफूमाथि आक्रमण गर्ने धम्की दिने अपराधीको सबै विवरण प्रहरीलाई बुझाएका, नियमित प्रहरीको सहयोग खोजिरहेका एमाले कार्यकर्ता प्रहरीकै निगरानीबीच मारिन्छन् प्रचण्डराजमा ।
प्रचण्डलाई राम्ररी थाहा छ, हालको राजनीतिक प्रक्रियालाई ‘डिरेल’ गर्नका लागि देशव्यापी उचाल्न सकिने शक्ति प्रमुख प्रतिपक्षी दल एमाले मात्र हो । एमालेको ठाउँमा कांग्रेस भए त्यही प्रयोग हुन्थ्यो । बुटवलदेखि कोहलपुरसम्म जेजस्ता घटनाहरु भइरहेका छन्, एमालेलाई जिस्काउने, धैर्यतालाई टुटाउने र अस्थिरताको नयाँ शृंखलाको सुरुवात गर्ने प्रचण्डको नयाँ रणनीति हो । हरेक सत्तापक्षले कुनै पनि समस्यालाई समाधान गर्नु छैन र झन् बढाउनु छ भने प्रतिपक्षीलाई चिढ्याए पुग्छ । अहिले प्रचण्डलाई संविधान संशोधन गर्नु छैन । मधेसको असन्तुष्टि सम्बोधन गर्नु छैन । कुनै पनि तहको निर्वाचन संवैधानिक सीमाभित्र गर्नु छैन । प्रकारान्तरले यो संविधानलाई विफल बनाउने कसैको उद्देश्य पूरा गरिदिनुपर्ने भूमिकामा उनी छन् । त्यसकारण उनी जतिसक्दो धेरै प्रतिपक्षीलाई चिढ्याउनुपर्ने भूमिकामा छन् । तर, प्रचण्डले याद राखून्, प्रतिपक्षको आवाज जनताको आवाज हो । जनतालाई धेरै जिस्काउने र चिढ्याउने काम खतरनाक हुन्छ । जनतासँग जोरी खोज्ने शक्तिहरुको हालत के हुन्छ भन्नेबारे उनलाई इतिहास सम्झाउनुपर्ला र ?

Related News